Aug 05, 2025
उधारो उठाउने सम्बन्धी कानूनी व्यवस्था आवश्यक : अध्यक्ष ढकाल (२०८२/०४/२)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले उधारो उठाउने सम्बन्धी कानूनी व्यवस्था आवश्यक रहेको बताउनु भएको छ । 

जीतपुर सिमरा उद्योग वाणिज्य संघको ८ औं स्थापना दिवस तथा नवनिर्मित सभाहलको उद्‍घाटन गर्दै उहाँले उधारो उठाउने सम्बन्धी कार्यान्वयन योग्य कानूनी व्यवस्था आवश्यक रहेकोमा जोड दिनु भयो । उहाँले यस विषयमा महासंघले सरकार नियामक नियकासंग पैरवी गरिरहेको समेत बताउनु भयो । 

महासंघले देशको आर्थिक विकासमा नेतृत्वदायी भूमिका खेल्दै आएको उल्लेख गर्दै अध्यक्ष ढकालले महासंघको पहल र पैरवीले सरकारले विभिन्न ३० वटा कानूनहरु संशोधन गरेको र यसबाट लगानी मैत्री वातावरण सिर्जना भएको बताउनु भयो । उहाँले निजी क्षेत्रको सुदृढीकरणमार्फत देशको समग्र आर्थिक विकास सम्भव हुने धारणा व्यक्त गर्नुभयो । 

यस्तै उहाँले महासंघले रोजगारदाता र श्रमिकसंगको सम्बन्ध सुमधुर बनाउन तथा न्यूनतम ज्याला तय गर्ने वियषमा पनि रचनात्मक ढंगले काम गरेको धारणा राख्नु भयो ।   

अध्यक्ष ढकालले जीतपुर सिमरा उद्योग वाणिज्य संघले नीतिगत सुधारका लागि सुझाव प्रस्तुत गर्न, व्यवसायीहरूको समस्या समाधान गर्न र स्थानीय स्तरमा उद्यमशीलता प्रवर्द्धन गर्न सक्रिय रहनुपर्नेमा जोड दिनुभयो । 

उहाँले जीतपुर सिमरालाई तराईको औद्योगिक केन्द्रको रूपमा उल्लेख गर्दै यस क्षेत्रको भौगोलिक अवस्थिति, सिमरा विमानस्थल तथा महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ जस्ता पूर्वाधारले व्यापार र उद्योगको अभूतपूर्व सम्भावना बोकेको बताउनुभयो । 

संघले साना तथा मझौला उद्यमहरूको प्रवर्द्धन, रोजगारी सिर्जना, कर तथा प्रशासनिक झन्झटको समाधान र पूर्वाधार सुधारका विषयमा खेलेको भूमिकाको प्रशंसा गर्दै आउने दिनमा थप रचनातमक कार्य हुने अपेक्षा गरेको बताउनु भयो । 

महासंघले सरकारसँग सहकार्य गर्दै नीति सुधार, लगानीमैत्री वातावरण र अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनमा काम गरिरहेको उल्लेख गर्दै उहाँले देशको आर्थिक पुनरुत्थानका लागि निजी–सरकारी साझेदारी अपरिहार्य भएको धारणा राख्नुभयो ।

 

Copyright © 2005 - 2025. FNCCI. All Rights Reserved.

Powered by