Jul 24, 2025
आइओइ महासचिव सान्तोस र महासंघका अध्यक्ष पदाधिकारीबीच भेटवार्ता - औद्योगिक सम्बन्ध सुधारमा महासंघको भूमिकाको प्रशंसा (२०८२/०४/०८)

नेपाल भ्रमणमा रहनु भएका रोजगारदाताहरुको अन्तर्राष्ट्रिय संगठन (आइओई) का महासचिव रोबर्टो सुवारेज सान्तोसले औद्योगिक सम्बन्ध सुधारमा नेपाल उद्योग वाणिज्य  महासंघले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नु भएको छ ।

विहिवार महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र पदाधिकारीसंगको भेटमा उहाँले उक्त धारणा राख्नु भएको हो ।

महासंघका अध्यक्ष ढकालको निमन्त्रणमा आउनु भएका सान्तोसले हालै सहमतिमा भएको न्यूनतम ज्याला निर्धारण, सामाजिक सुरक्षा र औपचारिकीकरणमा  महासंघको भूमिका अनुकरणीय भएको बताउनु भएको हो । साथै उहाँले सरकार र ट्रेड यूनियनहरुको रचनात्मक भूमिका रहेको पनि बताउनु भयो । 

तीन दिने नेपाल भ्रमणमा रहनु हुने महासचिव सान्तोस २०८२ साउन ८ देखि १० गते (२४–२६ जुलाई २०२५) सम्मको नेपालको भ्रमणमा रहनु हुनेछ । यसै वर्ष जेनेभामा सम्पन्न अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा अध्यक्ष ढकाल र महासचिव सान्तोसबीच भएको भेटवार्ताका क्रममा अध्यक्ष ढकालले महासचिव सान्तोसलाई नेपाल भ्रमणको निम्तो दिनु भएको थियो ।  

महासंघमा भएको भेटवार्ताका क्रममा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालको २०२६ मा हुने अतिकम विकसित मुलुकबाट स्तरोन्नती र यसले नेपालको अन्तर्राष्ट्रिय व्यापारमा पार्ने प्रभावमा आइओईको सहजिकरणका विषयमा चर्चा गर्नु भएको थियो । 

साथै उहाँले निजी क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि लगायतमा आइओईको सहयोग आवश्यक रहेको बताउनु भयो । “नेपालको २०२६ मा हुने एलडीसी स्तरोन्नती हुँदा हामीसंग अवसर र चुनौती दुवै छन् । यसबाट अगाडि बढ्न आइओईको अनुभव आदानप्रदान, विश्व समुदायमा नेपालको पक्षमा पैरवी र सहकार्यका लागि हामी आइओईको सहयोगको अपेक्षा गर्दछौं । ”अध्यक्ष ढकालले भन्नुभयो ।

नेपालमा लगानीको वातावरण सिर्जना गर्न, सरकार रोजगारदाता र श्रमिक संगठन बीच सुमधुर सम्बन्ध कायम राख्दै औद्योगिक वातावरण निर्माण गर्न महासंघले संधै उल्लेखनीय काम गर्दै आएको अध्यक्ष ढकालले बताउनु भयो ।  

सो अवसरमा उहाँले स्तरोन्नति पछिको अवस्थामा अन्तर्राष्ट्रिय क्षेत्रमा आवश्यक सहजिकरणका लागि आइओई संधै सकारात्मक रहेको बताउनु भयो । नयाँ अवसरहरुमा नेपालका उद्यमीहरुलाई जोड्न पनि सहजिकरन गर्ने बताउनु भयो ।

Meeting with IOE Secretary General

सो अवसरमा महासंघका उपाध्यक्ष हेमराज ढकाल, महासंघका उपाध्यक्ष तथा रोजगादाता परिषदका सभापति ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष भरतराज आचार्य, महासंघका केन्द्रीय सदस्य तथा परिषद्का उपसभापति बाबुकाजी कार्की र अरनिको राजभण्डारी लगायतले नेपालमा रोजगारदाता र श्रमिक बीच असल सम्बन्ध निर्माण तथा औद्योगिक वातावरणका बिषयमा आआफ्नो धारणा राख्नु भएको थियो । 

१९२० मा स्थापना भई जेनेभामा मुख्यालय रहेको अन्तर्राष्ट्रिय रोजगारदाताहरुको संगठन (आइओई)  विश्वकै सबैभन्दा ठूलो निजी क्षेत्रको सञ्जाल हो । जसले १४० भन्दा बढी देशहरूमा रहेका १५० भन्दा धेरै रोजगारदाताहरुको संगठनहरूलाई प्रतिनिधित्व गर्छ । नेपालमा महासंघ आइओइको सदस्य हो ।


 

Copyright © 2005 - 2025. FNCCI. All Rights Reserved.

Powered by