Jul 22, 2025
६ साउन , भरतपुर
चितवन उद्योग वाणिज्य संघको सभाहलमा आज समसामयिक व्यवसायिक विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम चितवन उद्योग वाणिज्य संघको आयोजना सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न क्षेत्रका व्यवसायीहरुले आफ्ना समस्या समाधानार्थ पूर्व स्वास्थ्य मन्त्री एवम् प्रतिनिधि सभा सदस्य माननीय गगनकुमार थापा सामु प्रस्तुत गरेका थिए ।
कार्यक्रमा स्वागत गर्दै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले सरकारले आर्थिक नीति व्यवसायी मैत्री बनाउदै देशलाई अव आर्थिक क्रान्तीको बाटोमा हिडाउनु पर्ने बताउनु भयो । अध्यक्ष श्रेष्ठले राज्यद्धारा अंगिकार गरिने नीतिका कारण आज श्रम पलायनले भयानक अवस्था सृजना गरेको बताउँदै अर्थतन्त्र पूर्ण रुपमा विप्रेशणमा आश्रित रहेको र सार्वजनिक ऋण प्रत्येक वर्ष उकालो लागेको बताउनुभयो । उहाँले चितवनमा पनि उद्यम व्यवसाय तथा उद्योगहरु दिनानुदिन बन्द हुँदै गैरहेका र सञ्चालित उद्योगहरु पनि करिब ४० प्रतिशतको क्षमतामा मात्र संचालन भएको बताउँदै यस्तोे अवस्थामा राज्यले निजी क्षेत्रसँंग सहकार्य गर्दै उद्यमी व्यवसायीहरुको मनोबल उकास्न जरुरी रहेको बताउनुभयो । आ.व ०८२/०८३ को बजेट तथा मौद्रिक नीतिमा आएका कार्यक्रमहरु निजी क्षेत्र र व्यवसाय मैत्री भएकोले कार्यान्वयनमा ल्याउनको लागि प्रमुख अतिथिलाई अनुरोध गर्दै उहाँले बजेट तथा मौद्रिक नीति पूर्ण रुपमा कार्यान्वयनमा आएमा विप्रेशणमा आश्रित अर्थतन्त्रमा समेत सुधार आउने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व स्वास्थ्य मन्त्री एवम् प्रतिनिधि सभा सदस्य माननीय गगन कुमार थापाले देशमा धेरै सम्भावनाहरु भएको र धेरै उद्योगी व्यवसायीहरुको समस्या समधान भएको बताउनुभयो । कार्यक्रममा थापाले देशको विकासमा उद्यमी व्यवसायीको भूमिका महत्वपुर्ण रहने हुनाले अवको निकास भनेको आर्थिक समृद्धि रहेको बताउँदै उहाँले उद्योगी व्यवसायीहरुको समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा पूर्व मन्त्री उमेश श्रेष्ठले हरेक जिल्लाको अध्ययन गरेर उपयुक्तता छनोट गरी उत्पादनमा जोड्यो भने आर्थिक हिसामा देश सफल हुने बताउनुभयो । उहाँले नेपालीले वार्षिक ४ अर्वको कृषि वस्तु आयात गर्छौ त्यसलाई नेपालमानै उत्पादन गर्न सकेका देश समृद्धीको बाटोमा जाने बताउनुभयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस चितवनका अध्यक्ष राजेश्वर खनालले व्यवसायिक नीति नियम लगायत व्यवसायिक विषयका क्रियाकलापहरुमा निजी क्षेत्रसँग सरकार सहकार्य गरेर जानुपर्ने धारण व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै चितवन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले यस अन्तरक्रिया कार्यक्रमले उद्योगी व्यवसायीहरुको पिडालाई सम्बोधन हुनेछ भन्ने विश्वास लिएको बताउनुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य माया श्रेष्ठ, भरतपुर महानगर वडा नं २ का वडा अध्यक्ष, चितवन उद्योग वाणिज्य संघका पूर्व अध्यक्षज्यूहरु, पदाधिकारी, कार्यसमिति , चितवन उद्योग संघका अध्यक्ष, पदाधिकारी, कार्यसमिति, चितवन चेम्बर अफ कमर्श अध्यक्ष पदाधिकारी, कार्यसमिति , गैडाकोट उद्योग वाणिज्य संघका अध्यक्ष, चितवन उद्योग वाणिज्य संघमा आवद्ध वस्तुगत संघका अध्यक्ष एवम् पदाधिकारी लगाएत उद्योगी व्यवसायी गरी १५० जनाको उपस्थिति रहेको थियो ।
चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम संघका कार्यकारी निर्देशक निलबहादुर के.सीले सञ्चालन गर्नुभएको थियो ।