May 31, 2025
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नयाँ आर्थिक वर्षको बजेटबाट नतिजा ल्याउनको लागि र बजेट र मौद्रिक नीतिबीच तालमेल आवश्यक रहेको बताउनु भएको छ ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले शनिबार काठमाडौंमा आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा बोल्दै उहाँले सो धारणा राख्नु भएको हो ।
बजेटमा निजी क्षेत्रले दिएका धेरै सुझावहरुलाई समावेश गरिएको भएपनि कतिपय विषयहरु अझै छुटेको उहाँको धारणा थियो । “बजेट तुलनात्मक रुपमा राम्रो आएको छ । निजी क्षेत्रलाई अर्थतन्त्रको प्रमुख ड्राइभिङ फोर्सका रुपमा लिइएको छ । यसलाई हामीले सकारात्मक नै मानेका छौं । तर निजी क्षेत्रले प्राथमिकताका साथ उठाएका केही विषय छुटेका छन् । छुटका कुराहरुलाई सकेसम्म पुनरावलोकन गर्न म अर्थमन्त्रीज्यूलाई आग्रह गर्दछु ।” अध्यक्ष ढकालले भन्नुभयो ।
उहाँले सरकारलाई बजेटको सही कार्यान्वयनमा ध्यान दिनु आग्रह गर्दै सरकारको राम्रो निर्णयमा निजी क्षेत्र सधैं साथमा रहेको बताउनु भयो ।
खनिजजन्य र नदिजन्य पदार्थको उत्खन, पर्यटन क्षेत्रलाई प्राथमिकता दिइनु सकारात्मक भएपनि टिडिएस र करले गर्दा पर्यटकको लागत बढ्ने हुदाँ यसमा सहजिकरण आवश्यक रहेको बताउनु भयो ।
कृषि पर्यटन, उद्योग,सूचना प्रविधि वैकल्पिक उर्जा र विशेष आर्थिक क्षेत्रमा दिइएको सहुलियत र औद्योगिक क्षेत्रबाट ३० प्रतिशत निर्यात गर्दा पनि सुविधा दिने बिषयले उत्पादनमूलक क्षेत्रमा सकारात्मक प्रभाव पर्ने अध्यक्ष ढकालले बताउनु भयो ।
विदेशी लगानी सहजीकरणका लागि लगानी बोर्डलाई अधिकारसम्पन्न बनाइनु राम्रो भएको तर लगानी सहजीकरणका लागि एकिकृत कानुन, एकद्धार निकाय र प्रभावकारी संयन्त्र आवश्यक रहनेमा उहाँले जोड दिनुभयो ।
नीति तथा कार्यक्रमको सही कार्यान्वयन गर्न सके बजेटमा उहाँले बजेटमा उल्लेख गरिएको आगामी आर्थिक वर्षको ६ प्रतिशतको आर्थिक बृद्धि सम्भव रहेको समेत बताउनु भयो यी सबै विषयको कार्यान्वयनमा सुशासनको प्रत्याभूती पहिलो प्राथमिकतामा रहनु पर्नेमा अध्यक्ष ढकालको जोड थियो ।