Mar 29, 2025
विभिन्न माग राखी हुने गरेका आन्दोलन/प्रर्दशन र त्यसबाट सर्वसाधारण एवं उद्यमी व्यवसायीको पेशा व्यवसाय गर्न पाउने नैसर्गिक अधिकार हनन हुनुका साथै निजी तथा सार्वजनिक सम्पत्तिमाथि हुने गरेको आक्रमण, लुटपाट, आगजनी लगायत गतिविधिहरू प्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
२०८१ चैत्र १५ गते काठमाडौंमा भएको आन्दोलन/प्रर्दशनका क्रममा मानवीय क्षतिसंगै धनजनमा भएको आक्रमण निक्कै दुखद छ । आन्दोलन/प्रर्दशनका क्रममा ज्यान गुमाएकाहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण सहीत परिवारजनमा समवेदना व्यक्त गर्दै घाइते सबैको स्वास्थ्य लाभको कामना गर्दछौं । साथै, सर्वसाधारणको निजी जायजेथा, मिडिया हाउस, व्यवसायिक प्रतिष्ठानहरूको सम्पत्ति, कार्यालय र अन्य व्यापारिक गतिविधिहरूमा आक्रमण, आगजनी, लुटपाट लगायतका हिंसक घटनाबाट ठूलो क्षति पुगेकोमा यसको भत्सर्ना गर्दै क्षतिपुर्ति हुनुपर्ने महासंघको माग छ ।
संविधान प्रदत्त अधिकार भित्र रहेर आफ्ना माग राख्न पाइए पनि हिंसक आन्दोलन एवं प्रदर्शनका साथै लुटपाट, आगजनी, धनजनको क्षति र व्यक्तिगत सम्पत्ति माथिको आक्रमण निन्दनीय छ । कुनै पनि स्वरुपमा हुने यस प्रकारका घटना प्रति नेपाल उद्योग वाणिज्य महासंघ घोर निन्दा र भत्सर्ना गर्दछ । साथै महासंघ सार्वजनिक सुरक्षा सुनिश्चित गर्न र यस्ता घटनाहरूको पुनरावृत्ति रोक्न सम्बन्धित सबैमा आग्रह गर्दछ ।