Oct 06, 2024
नदिजन्य पदार्थको निकासी खोल्नुपर्छः मन्त्री कार्की

लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले नदिजन्य पदार्थ (ढुंगा गिटि) निकासी खोल्नुपर्ने धारणा राख्नुभएको छ । उहाँले मुलुकको अर्थतन्त्र सुधारको लागि पनि नदिजन्य पदार्थको निकासी खोल्नुपर्ने भनाई राख्नुभएको हो । 

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले शुक्रबार साँझ विजया दशमी, दीपावली, नेपाल संवत्, छठ लगायतका पर्वहरुको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री कार्कीले उत्खनन् गर्न नदिनेगरी माथीबाट आएको माल झिक्ने र भारत निर्यातका लागि निकासी खोल्नुपर्ने भनाई राख्नुभएको हो । 

उहाँले सबै देशले आफूसंग जे छ त्यसैको व्यापार गर्ने भन्दै नेपालमा नदिजन्य पदार्थ भएकाले त्यसको व्यापार रोक्दा मुलुकको अर्थतन्त्रमा नकारात्मक असर गरेको भनाई राख्नुभयो । ‘त्यसैपनि नेपालका नदिनालामा भएको ढुंगा गिटि ननिकाल्दा बगेर भारतमै जाने हो ।’ उहाँले भन्नुभयो–‘नदिनालाले बगाएर लैजाने ढुंगा गिटि निकालेर निर्यात गर्न सकियो भने राजश्य संकलन गरी त्यसबाट आर्थिक लाभ लिन सकिन्छ ।’

उहाँले भ्रष्टाचार नियन्त्रणका लागि सबैले सुधार सोंच बनाउनु पर्ने भनाई राख्नुभयो । मन्त्री कार्कीले मुलुकको अर्थतन्त्र सुधारका लागि नीजि क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउँदै नीजि क्षेत्रलाई परेका समस्या समाधानका लागि आफू प्रयत्नशिल रहेको पनि बताउनु भयो । 

त्यस अवसरमा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले मुलुकका ऐन, नियम तथा कानुनहरु नै उद्योगी व्यवसायीमैत्री नभएको महशुस गरिएको बताउँदै त्यसमा विशेष गरेर संघीय सरकारलाई त्यसको महशुस गराउनको लागि नीजि क्षेत्रले विशेष भूमिका खेल्न आग्रह गर्नुभयो । 

उहाँले सबै देशले आफूसंग भएको स्रोत साधनको प्रयोगबाट देशको विकास गरेको बताउँदै तर यहाँ स्थानीय स्रोत साधनको प्रयोगका लागि कानुन नै बाधक रहेको उल्लेख गर्नुभयो । उहाँले खेर गैरहेको बन पैदावार र खोलाजन्य ढुंगागिटि उपयोगको लागि कानुन बाधक रहेको भनाई राख्नुभएको हो । 

उहाँले मोतिपुर औद्योगिक क्षेत्र निर्माणको लागि विवाद नभएको जग्गामा मंसिर पछि तारवार तथा वाल लगाउने काम गर्न सकिने पनि जानकारी गराउनु भएको हो । 
कार्यक्रममा स्वागत गर्दै संघका अध्यक्ष हरिप्रसाद अर्यालले प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कार्की र बुटवल उपमहानगरपालिकाका नगरप्रमुख पाण्डेयलाई उद्योगी व्यवसायीमैत्री नीति अवलम्बन गरिदिन आग्रह गर्नुभएको थियो । 

कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्याल, नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य केशव भण्डारी, संघका पूर्वअध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठ, राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विवेक घिमिरे, रुपन्देही व्यापार संघका अध्यक्ष दीपकप्रसाद अधिकारी, पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का अध्यक्ष दधिराम खरेल, संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, महासचिव मुक्तिप्रसाद अधिकारी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । 

रुपन्देहीमा आएका कार्यालय प्रमुखहरुलाई स्वागत

त्यसै अवसरमा संघले रुपन्देहीका विभिन्न कार्यालयमा सरुवा भई आएका नयाँ कार्यालय प्रमुखहरुलाई स्वागत गरिएको छ । संघले भैरहवा भन्सार कार्यालय वेलहियाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मी, राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विवेक घिमिरे र आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख कर अधिकृत टिकाराम गैरेलाई स्वागत गरिएको हो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by