Aug 14, 2024
व्यवसायिक क्षेत्रमा हुने आगलागीको कारण, बीमा तथा बिपद व्यवस्थापनमा सरोकारवालाहरुको भूमिका बिषय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले व्यवसायिक क्षेत्रमा हुने आगलागिको कारण तथा विपद् पश्चातको व्यवस्थापनमा सरोकारवालाको भूमिकाको विषयमा २०८१ श्रावण २८ गते सोमबार संघको सभाहलमा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । 

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले पछिल्लो समयमा आगलागिका घटनाहरु बढ्दै गएको र आगलागिबाट हुने क्षतीमा बीमा कम्पनीहरुबाट हुने दावी भुक्तानीमा ढिलासुस्तीका कारण व्यवस्या पुर्नसञ्चालनमा समस्या भईरहेको कारणले यस प्रकारको कार्यक्रमको आयोजना गरिएको बताउनु भएको थियो । उहाँले आगलागीका घटनाबाट हुने क्षतिलाई कम गर्न बिद्युतिकरण तथा मर्मत सम्बन्धमा, क्षतिपछिको पुनस्र्थापनाका लागि बीमा, विपद् व्यवस्थापन कोषको उपयोगको सहज पहुँच र प्रक्रिया के के हुन? अग्नि पीडितहरूलाई कसरी तत्काल उद्योग तथा व्यवसाय सञ्चालन गर्ने वातावरण निर्माण गर्न सकिन्छ ? विपद्पछिको कर तथा राजस्वको फस्र्यौट कसरी हुन्छ? भन्ने जस्ता अनगिन्ती प्रश्नहरूको जवाफ खोज्नका लागि कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।

कार्यक्रममा नेको इन्स्योरेन्सका सहायक सिईओ रमेशबहादुर थापाले बीमाको अवधारणा, बीमा पोलिसी, बीमा गर्दाखेरी थाहा पाउनुपर्ने कुराहरु, डकुमेन्टेसनमा ध्यान दिनुपर्ने बिषयहरु, सम्पत्ति बीमा गर्दा आफ्नो सम्पत्ति बराबरको मुल्यको बीमा र बिपद् पश्चात बीमा दाबीका प्रक्रियाका बारेमा प्रशक्षिण प्रदान गर्नुभएको थियो ।

नेपाल विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रका इलेक्ट्रिकल इञ्जिनियर विनोद शर्माले विद्युतबाट आगलागि हुनुको कारण, रोकथाम तथा आगलागी भईसकेपछि अपनाउनुपर्ने सुरक्षा उपायको बारेमा जानकारी गराउनु भएको थियो भने बुटवल उपमहानगरपालिका विपद् व्यवस्थापन शाखाका प्रमुख इञ्जिनियर योगेन्द्र चापागाईले विपद् व्यवस्थापनको लागि नगरपालिकाले गरेको पूर्वतयारीको बारेमा जानकारी गराउनु भएको थियो । उद्योग तथा व्यवसायिक प्रतिष्ठानहरुमा आगलागि हुनुको प्रमुख कारण विद्युतमा सर्टसर्किट, ओभर कोडिङ लगायतका कारण रहेको बताउँदै उहाँले आफ्नो पसल बन्द गरेर घर जाँदा आवश्यक नभएको ठाउँमा विद्युतको स्वीच बन्द गरेर जान पनि सुझाव दिनुभयो । त्यस्तै उद्योग तथा व्यवसायिक प्रतिष्ठानमा फायर अलाम (आगलागि भएको जानकारी गराउने घण्टी) राख्न उहाँको सुझाव छ ।

कार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अर्यालले नेपालमा विपद् पूर्वतयारीको अवस्था ज्यादै कमजोर रहेको बताउनु भयो । नेपालमा विपद्जन्य घटनामा प्रति १० लाखमा २५ जनाको मृत्यु हुने गरेको छ । नेपालमा विपद्जन्य पूर्वतयारी कमजोर हुँदा विपद्जन्य घटनामा धेरैले ज्यान गुमाउनु परेको हो । साथै निजी क्षेत्रमा आगलागीको मुख्य कारणहरुमा सुरक्षा र पुर्वतयारीमा लगानीको अभाव मुख्य रहेको छ । 
संघका साना व्यवसायीहरुलाई लक्षित कार्यक्रमका करिब १२५ व्यवसायिहरुको सहभागीता रहेको उक्त कार्यक्रममा नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालय बुटवलका प्रमुख पूर्ण थापा, आन्तरिक राजश्व कार्यालय बुटवलका कर अधिकृत षडानन्द खरेल, बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष निर्मलप्रसाद लाकौल, वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, महासचिव मुक्तिप्रसाद अधिकारी लगायतले भनाई राख्नुभएको थियो ।

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by