Jun 25, 2024
छुर्पीका लागि तयार गरिएको मापदण्डका विषयमा सरोकारवालाहरूसंग छलफल: कार्यक्रम पश्चात गुण नियन्त्रण विभाग समक्ष सुझाव पेश (२०८१/०३/११)

नेपाल उद्योग वाणिज्य महासंघले छुर्पी उत्पादनमा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय/खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तयार गरेको गुणस्तर मापदण्डका विषयमा सरोकारवालाहरुसंग असार ९ गते एक छलफलको आयोजना गरयो । 

छलफल कार्यक्रममा महासंघ, नेपाल डेरी एसोसिएसन, छुर्पी उत्पादन तथा निर्यातसंग आवद्ध उद्यमी व्यवसायीहरुको उपस्थिति थियो । सरकारले पहिलो पटक छुर्पीको मापदण्ड तयार गर्न लागेको हो । 

खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ ले तोकेका गुणस्तर मापदण्ड अनुसार आन्तरिक उत्पादनलाई गुणस्तरीय बनाउने उद्देश्यले छुर्पीका लागि नेपाल सरकारबाट तयार गरिएको मापदण्डमाथि छलफल चलाई सरोकारवालाकातर्फबाट सुझाव संकलन गर्न कार्यक्रम आयोजना गरिएको हो । 

छुर्पी उत्पादन विस्तारसंगै गुणस्तरमा पनि सुधार गर्दै जान सकियो भने निर्यातको ठूलो सम्भावना छ । छुर्पी उद्योगलाई प्रवद्र्धन गर्न सकियो भने भौगोलिक विकटताका कारण बजार नपाएका दूधको संवोधन गर्न सकिने, मिल्क होलिडे तथा विषम परिस्थितिमा कच्चा दूधलाई छुर्पी बनाई विक्री वितरण गर्न सकिने, विदेश निर्यात गरी व्यापार घाटा कम गर्न सकिने सम्भावना छ ।

नेपालले छुर्पीको पेटेन्ट राइट पनि लिन सक्ने अवस्था रहेकाले प्याटेन्ट लिन सकिएमा यस क्षेत्रले ठूलो फड्को मार्न सक्ने हुंदा सरकारलाई यसमा झक्झक्याउनु पर्नेमा कार्यक्रममा जोड दिइएको थियो । 

सिमित देशहरुमा मात्र भैरहेको छुर्पीको निर्यातलाई थप विस्तार गर्न देखापरेका कानूनी एवं प्रक्रियागत झमेलालाई हटाउन कार्यक्रममा जोड दिइएको थियो । 

नेपाल डेरी एसोसिएसनका अनुसार नेपालमा वार्षिक करिव ३६ लाख केजी छुर्पी उत्पादन हुने र यसको प्रतिकेजी लागत १३ सय रुपैया पर्छ । नेपाली छुर्पी अमेरिका, क्यानाडामा निर्यात हुदै आएको छ भने यूरोपियन देशहरुमा अझै निर्यात हुन सकेको छैन । नेपालबाट वार्षिक ३ अर्व भन्दा बढीको छुर्पी निर्यात हुदै आएको छ ।

कार्यक्रमलाई संवोधन गर्नुहुदै महासंघको वस्तुगत परिषद्का सभापति एवं उपाध्यक्ष हेमराज ढकालले आन्तरिक एवं वाह्य बजारमा गुणस्तरीय उत्पादन लैजानु पर्ने मुख्य दायित्वलाई सबैले मनन गरी काम गर्नु पर्ने र यस्ता मापदण्डले हाम्रा उद्योग व्यवसाय र उत्पादनमा समेत सहयोग पुग्ने हुदा खुलेर सुझाव राख्न आग्रह गर्नुभयो । 

कार्यक्रममा महासंघको स्थल यातायात तथा पारवहन समितिका सभापति शिव प्रसाद घिमिरे, निर्यात प्रवद्र्धन समितिका सहसभापति पशुपतिदेव पाण्डे, वस्तुगत परिषद्का सल्लाहकार सुमित केडिया, नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल, नेपाल निर्यात परिषद्का निवर्तमान अध्यक्ष रेशम पोखरेल, डेरी एसोसिएनको छुर्पी क्लस्ष्टरका संयोजक निराजन कोइराला लगायतले गुणस्तर मापदण्डको आवश्यकता र महत्वका वारेमा आआफना धारणा सहित सुझावहरु राख्नु भएको थियो । 

महासंघले सरोकारवालाहरुबाट आएको सुझाव समेतलाई समेटी खाद्य तथा गुण नियन्त्रण विभाग समक्ष संशोधित सुझाव पेश गरिसकेको छ ।

सो अवसरमा डेरी एसोसिएसनका वर्तमान तथा पूर्व पदाधिकारी, सदस्यहरु, उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो । 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by