May 23, 2024
निजी क्षेत्रको गम्भीर ध्यानाकर्षण (जेठ १०, २०८१)
संचार उद्यमी कैलाश सिरोहिया पक्राउप्रति नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सको गम्भिर ध्यानाकर्षण भएको छ । कानुन विपरीत काम गरेको प्रमाणित भएमा जोकोही पनि कारबाहीको भागिदार हुनुपर्छ भन्नेमा हामी सबै स्पष्ट छौं । तर, कुनै पनि विषयमा उजुरी परेकै भरमा पक्राउ नै गरिहाल्ने र थुन्ने जस्ता कार्यले सकारात्मक सन्देश नजाने उद्यमी व्यवसायी तथा लगानीकर्ताको मनोबल थप घट्ने तर्फ हामी ध्यानाकर्षण गराउन चाहन्छौं ।  

विगत देखि नै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सले उजुरी पर्दैमा वा आरोप लाग्दैमा थुन्ने नभई सुनुवाईको मौका दिनुपर्ने भन्दै आइरहेका छौं । उजुरीकै भरमा उद्यमी, व्यवसायी वा जो कोहीलाई थुनिहाल्ने नभएर राज्यले उनीहरुका कुरा सुनिदिनुपर्छ भन्ने हाम्रो आग्रह हो । थुनेपछि मात्रै सुन्ने प्रवृत्तिले समग्र क्षेत्रमा नकारात्मक असर पर्ने भएकाले आवश्यक परेमा अग्रिम जमानत लिने र आरोप प्रमाणित भएपछि मात्रै कानुनी कारबाहीको प्रक्रिया अघि बढाउनेतर्फ राज्य अगाडि बढ्न हामी आग्रह गर्दछौं । 

सर्वविदितै छ कि मुलुक अहिले आर्थिक संकटको अवस्थाबाट माथि उठिसकेको छैन । अर्थतन्त्रको सुधारका लागि सरकार र निजी क्षेत्रको संयुक्त प्रयासबाट भर्खरै लगानी सम्मेलन आयोजना गरी नेपालमा अनुकुल वातावरण रहेकाले लगानी गर्न स्वदेश तथा विदेशका सबै लगानीकर्ताहरुलाई आग्रह पनि गरिएको छ । यस अवस्थामा कहीँ कतैबाट पनि व्यावसायिक वातावरण खल्बलिन दिनु हुदैन भन्ने हाम्रो सुझाव रहन्छ । कुनै पनि व्यवसायीको मान मर्दन गरेर तथा उनीहरुलाई हतोत्साही गरेर लगानीको वातावरण बन्न सक्दैन  ।  अहिले देशभित्रका साना देखि ठूला व्यवसायीलाई प्रोत्साहन तथा हौसलाको आवश्यकता छ । उद्योगी व्यवसायी एवं लगानीकर्तालाई सरकारले अभिभावकत्व प्रदान गर्नु पर्दछ । देशभित्र व्यवसायिक वातावरण खल्बलाउने काम कहीँ कतैबाट पनि नहोस् भन्ने तर्फ हामी सबैको पुनः ध्यानाकर्षण गराउन चाहन्छौं ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by