Mar 03, 2024
स्थापना दिवसमा पूर्वअध्यक्ष सैंजूलाई सम्मान, विद्यार्थीलाई झोला

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको स्थापना दिवसमा पूर्वअध्यक्ष अर्जुनमान सैजूलाई सम्मान गरिएको छ । यस क्षेत्रकै सबैभदा पुरानो निजी क्षेत्रको छाता संस्था बुटवल उद्योग वाणिज्य संघको ७१ औं स्थापना दिवसको अवसरमा बिहिबार साँझ संघमा आयोजना गरिएको कार्यक्रममा पूर्वअध्यक्ष सैजूलाई सम्मान गरिएको हो । 

कार्यक्रममा संघका पूर्वअध्यक्ष सैंजूलाई नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा र संघका अध्यक्ष हरिप्रसाद अर्यालले माला तथा दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गर्नुभएको हो । संघले प्रत्येक स्थापना दिवसमा पूर्वअध्यक्षहरुमध्येबाट एक जनालाई सम्मान गर्दै आएको छ । 

बुटवल उद्योग वाणिज्य संघ बि.सं. २००९ सालमा तदर्थ समिति हुँदै बि.सं.२०१० सालमा औपचारिक रुपमा दर्ता भएको थियो । त्यसयता यो संघले व्यवसायिक हकहित, उनीहरुको समस्या समाधानमा पहल र पैरवी गर्नुको साथै यस क्षेत्रको सामाजिक विकासमा लगानीसहितको नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । 

७१ वर्षको लामो इतिहास बनाएको संघको संस्थागत विकास, यस क्षेत्रको व्यवसायिक तथा उद्यमशिलता विकासमा उल्लेखनीय योगदान पुर्याएको भन्दै संघको स्थापना दिवसमा सम्मान गरिएको संघका अध्यक्ष हरिप्रसाद अर्यालले जानकारी गराउनु भयो । २०५७ देखि ०५९ सम्म संघको अध्यक्ष हुनुभएका सैजूले आफू अध्यक्ष हुँदा अहिले संघको भवन रहेको बुटवल ६ सुन्दरनगरको जग्गा प्राप्त गर्नुभएको थियो । उहाँ संघमा कार्यसमिति सदस्य उद्योग उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष, हुँदै अध्यक्ष हुनु भएको थियो । त्यस विचमा पनि व्यवसायिक समस्या समाधान तथा संघको संस्थागत विकासमा उहाँको सक्रिय भूमिका रहेको थियो । 

संघको स्थापना दिवसकै अवसरमा बुटवल उपमहानगरपालिका वडा नं. ६ मै रहेको तिलोत्तमा माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई झोला प्रदान गरिएको छ । संघले बुटवल ब्वाईजको सहयोगमा ७८ थान झोला विद्यालयलाई प्रदान गरेको हो । कार्यक्रममा संघका अध्यक्ष हरिप्रसाद अर्याल र नेपाल उद्योग वाणिज्य महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ताराप्रसाद ज्ञवालीलाई हस्तान्तरण गर्नुभएको हो । 

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष शर्माले बुटवल उद्योग वाणिज्य संघको गतिबिधिले जनप्रतिनीधि तथा कर्मचारी प्रशासनलाई पनि थप क्रियाशिल बनाएको बताउनु भयो । उहाँले यस क्षेत्रको आर्थिक तथा सामाजिक विकास संघको ठूलो योगदान रहेको बताउँदै अग्रजले गरेको योगदानलाई सम्झेर सम्मान गरेकोमा संघलाई धन्यवाद प्रदान गर्नुभयो भने सम्मानित पूर्वअध्यक्ष सैंजूलाई बधाई ज्ञापन गर्नुभयो । 

सम्मानग्रहण पछि पूर्वअध्यक्ष सैजूले आफूलाई सम्मान गरेकामा संघप्रति आभार व्यक्त गर्दै नेतृत्वमा आउने व्यक्तिले समस्याको पहिचान र त्यसको व्यवस्थापनको पनि नेतृत्व गर्ने ल्याकत राख्नुपर्ने बताउनु भयो । उहाँले संघले अगाडि सारेका कार्यक्रममा आफूपनि सधै संगै रहने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । 

कार्यक्रममा देवदह उद्योग वाणिज्य संघका अध्यक्ष हरि भण्डारी, बुटवल उपमहानगरपालिका वडा नं. ६ का अध्यक्ष लोकनाथ न्यौपाने, संघका पूर्व उपाध्यक्ष कृष्णकुमार श्रेष्ठ, तिलोत्तमा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ताराप्रसाद ज्ञवाली, संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, महासचिव मुक्तिप्रसाद अधिकारी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by