Feb 15, 2024
उद्यमी व्यवसायीहरु बीच स्टार्टअप उद्यम कर्जा संचालन कार्यविधि माथि छलफल (२०८०/११/०३)

उद्यमी व्यवसायीहरु बीच स्टार्टअप उद्यम कर्जा संचालन कार्यविधिका विषयमा काठमाडौंमा वृहद छलफल भएको छ । स्टार्टअप कार्यविधि २०८० सरकारले पारित गरेसंगै अहिले औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा प्रस्ताव आव्हान समेत गरेको छ । 

सोही कार्य विधि र कर्जाका विषयमा वृहद जानकारी गराउने उद्देश्यले वुधवार नेपाल उद्योग वाणिज्य महासंघको स्टार्टअप एण्ड ईन्नोभेशन फोरमले महासंघ सचिवालयमा आयोजना गरेको छलफल कार्यक्रममा सरकार तथा निजी क्षेत्रका पदाधिकारीहरुले स्टार्टअप कर्जाका विषयमा आएका सबै जिज्ञासाहरुलाई स्पष्ट पार्नु भएको थियो । 

प्रत्यक्ष र भर्चुअल दुवै माध्यमबाट संचालन गरिएको कायक्रमकमा महासंघका कार्यकारीणी सदस्य, स्टार्टअप, नवउद्यमी, साना तथा लघु उद्यमी, आदि गरी करिव १ सय जनाको सहभागिता रहेको थियो ।
 
महासंघको स्टार्टअप एण्ड ईन्नोभेशन फोरमले स्टार्टअपका विषयमा निरन्तर काम गरिरहेको छ । फोरमले, स्टार्टअपमा लागेका र नयां व्यवसाय थालनी गर्ने योजना बनाएकाहरुबाट निरन्तर यस विषयमा छलफल गर्न आग्रह र जिज्ञासा आएपछि कार्यक्रमको आयोजना गरिएको हो । 

छलफल कार्यक्रममा स्टार्टअप परियोजना कर्जाका विषयमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश कुमार गुप्ताले सहभागीहरुलाई स्पष्ट पार्नु भएको थियो ।

सहुलियत कर्जा लिएका स्टार्टअप, नवउद्यमी, लघु तथा साना उद्योगीहरुले पुन प्रस्ताव पेश गर्न पाउने वा नपाउने, आमा बुवाको नाममा दर्ता भएको तर छोराछोरीले संचालन गरेको हकमा के हुने, शैक्षिक संस्था, होस्टेल र सबसिडरी उद्यम यसको दायरामा पर्ने नपर्ने, प्यान भ्याटमा दर्ता हुन पर्ने नपर्ने लगायतका जिज्ञासाको कार्यकारि निर्देशकले स्पष्ट पार्नु भएको थियो । 

कार्यक्रममा महासंघका उपाध्यक्ष सुरकृष्ण वैधले प्रदेश, जिल्ला र स्थानीयस्तरसम्म यस्ता छलफल चलाउनु पर्नेमा जोड दिनु भयो । स्थानीयतहसम्म यस्ता विषयमा सुचित गराउन सकियो भने स्टार्टअप नव उद्यम विस्तार हुन सहयोग पुग्ने र सरकारले आव्हान गरेको स्टार्टअप उद्यम कर्जा आव्हानमा आम सहभागिता बढ्ने विश्वास व्यक्त गर्नुभयो ।  महासंघले प्राज्ञिक संस्था त्रिभुवन विश्वबिद्यालयसंग मिलेर पनि स्टार्टअपका विषयमा सहकार्य गर्न नीतिगत निर्णय गरिसकेको सो अवसरमा जानकारी गराउनुभयो । 

महासंघका उपाध्यक्ष ज्योत्सना श्रेष्ठले स्टार्टअप फोरमको निरन्तर प्रयासका कारण स्टार्टअप उद्यम कर्जा परियोजनाले सार्थकता पाउनेमा महासंघ विश्वस्त रहेको बताउनु भयो । 

महासंघ स्टार्टअप एण्ड ईन्नोभेशन फोरमका सभापती जुना माथेमाले महासंघले स्टार्टअप नेशनल सन्जाल बनाएको र त्यसबाट पनि सदस्यहरुबाट आएका जिज्ञासाहरुको समाधान गर्ने काम भैरहेको जानकारी गराउंदै यो कार्यक्रम, परियोजना कर्जा लिई स्टार्टअपलाई अगाडि बढाउन चाहानु भएका सवै यूवा उद्यमीहरुका लाभदायी भएको विश्वास प्रकट गर्नुभयो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by