Nov 09, 2023
एफएनसीसीआईमा ग्रीनग्रोथ एडभाइजरी सर्भिस हरित अर्थतन्त्रलाई प्रवद्र्धन गर्न सहयोग गर्ने (२०८०/०७/२३) 

हरित अर्थतन्त्रको प्रवद्र्धनमा काम गर्न नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा ग्रीनग्रोथ एडभाइजरी सर्भिस (Green Growth Advisory Service) स्थापना भएको छ । 

राष्ट्रिय सभामा दिगो विकास एवं सुुशासन समितिका सभापति माननीय प्रकाश पन्थ, महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र अन्तर्राष्ट्रिय श्रम संगठनका देशिय निर्देशक नुमान ओजकान (Mr. Numan Özcan, Country Director ILO) ले संयुक्त रुपमा आज महासंघ सचिवालयमा शुुभारम्भ गर्नुभयो ।

ग्रीनग्रोथ एडभाइजरी सर्भिस अन्तराष्ट्रिय श्रम संगठनको प्राविधिक सहयोगमा स्थापना भएको हो । 



सर्भिस मार्फत महासंघले आर्थिक वृद्धिलाई बढावा दिंदै वातावरणीय रूपमा दिगो अभ्यासहरू अपनाउन सक्रिय रूपमा वकालत गर्नेछ । 

एडभाइजरीमार्फत औद्योगिक करिडोर, औद्योगिक क्षेत्र र ग्रामहरुमा विशेष जोड दिएर रोजगारमूलक सीप विकास, हरित रोजगारी र न्यायोचित परिवर्तन (Just Transition) मा केन्द्रित हुंदै केन्द्र, प्रदेश र स्थानीयस्तरमा सचेतना अभियानहरू आयोजना गरिने छ । 

हरित अर्थतन्त्रलाई प्रवद्र्धन गर्न रणनीति र कार्य योजनाहरूको विकासमा सहयोग गर्ने कार्यमा पनि एडभाइजरीले पहल गर्नेछ । 

हरित बृद्धिको महत्व र केन्द्रीय, प्रदेश र स्थानीय स्तरमा वकालत र प्रगति मापन गर्न मेट्रिक्स र सूचकहरू स्थापना गरी हरित वृद्धिको कार्यान्वयन सुनिश्चित गर्न नियामक मार्गदर्शन पनि गर्ने छ ।

हरित वृद्धिसंग सम्बन्धित ज्ञान, प्रविधि र उत्कृष्ट अभ्यासहरू आदानप्रदान गर्न एवं सरोकारवाला निकायहरुसंगको सहकार्यमा पनि एडभाइजरीले काम गर्नेछ ।  

यसको प्रभावकारी संचालनका लागि महासंघ, नेपाल सरकार, विश्व विद्यालय, ट्रेड यूनियन, आइएलओ र यस क्षेत्रका विज्ञहरु रहेको एक एडभाइजरी सर्भिस गठन गरिएको् छ । 

एडभाइजरी शुभारम्भ कार्यक्रमलाई संवोधन गर्नुहुंदै माननीय पन्थीले महासंघले नेपाली उद्योग व्यवसायलाई हरित वृद्धि (Green Growth) को अवधारणातर्फ लैजान थालनी गरेको प्रयासको सराहना गर्नुभयो । प्रारम्भमा यस्ता कार्यको थालनी गर्नुनै निकै स्वागतयोग्य भएको भन्दै महासंघको यो प्रयासलाई विस्तारै अगाडी बढाउन सरकारको पनि सहयोग आवश्यक रहेको बताउनु भयो । 

महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाली व्यवसाय र उद्योगहरूमा हरित वृद्धि अभ्यासहरू अंगाल्दा वातावरण र समाजलाई मात्र फाइदा नपुगी आर्थिक वृद्धि, बजार प्रतिस्पर्धा र दीर्घकालीन दिगोपनका लागि अवसरहरू पनि सृजना हुने दावी गर्नुभयो । महासंघले यसलाई अभियानको रुपमा अगाडी बढाउने प्रतिवद्धता जनाउनुु भयो । निजी क्षेत्रलाई यसतर्फ अभिप्रेरित गर्न आइएलओको सहयोगको प्रशंसा पनि गर्नुभयो । 

आइएलओका देशिय निर्देशक नुमानले महासंघसंग सहकार्य गर्न पाएकोमा खुशी प्रकट गर्नुभयो । नेपाली व्यवसाय र उद्योग क्षेत्रमा हरित वृद्धि अवधारणाको नेतृत्व र कार्यान्वयन गर्न र यसलाई देशभर प्रवद्र्धन गर्ने कार्यमा महासंघलाई आइएलओको सहयोग रहने बताउनु भयो । उहांले महासघसंग सहकार्य गर्न पाएकोमा खुशी पनि व्यक्त गर्नुभयो । 

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपाली निजी क्षेत्रको क्षमता विकास, जनशक्ति विकास, असल श्रम सम्बन्ध विकासमा आइएलओको सहयोग सराहनीय रहेको बताउनु भयो । 

सभापतिको आशनबाट महासंघका वस्तुुगत परिषद्का सभापति हेमराज ढकालले वस्तुुगत संघहरूको कार्य सञ्चालन विधि (Standard Operating Procedures-SOP), कार्यस्थलमा आधारित सीप सिकाई निर्देशिका (Work-Based Learning Guidelines), हरित बृिद्ध प्रतिवेदन (Green Growth Report) तयार गर्न आइएलओले गरेको सहयोगको प्रशंसा गर्नुभयो । साथै उहांले महासंघका सदस्य वस्तुगत संघहरूको क्षमता अभिवृद्धि गर्न यस्ता दस्तावेजहरुले सहयोग गर्ने विश्वास पनि व्यक्त गर्नुभयो । उहांले एडभाइजरीबाट निजी क्षेत्रलाई लाभान्वित गराउने अभियानमा महासंघले नेतृत्व लिने प्रतिवद्धता पनि जनाउनु भयो । 

कार्यक्रममा महासंघका पदाधिकारीहरु, सरकारी अधिकारीहरु, आइएलओका अधिकारीहरु, प्राज्ञिकहरु, उद्यमी व्यवसायीहरुको उपस्थिति थियो ।  

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by