Nov 04, 2023
एशिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघको ३७ औं सम्मेलन सोमवारदेखि काठमाडौंमा (२०८०/०७/१८)
 
एशिया प्रशान्त क्षेत्रको वृहत्तर विकासमा सम्मेलन कोशेढुंगा हुने विश्वास

स्वदेशी विदेशी गरी २ सयभन्दा बढीको सहभागिता रहने

एशिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ (Confederation of Asia –Pacific Chambers of Commerce and Industry - CACCI) को ३७ औं सम्मेलन सोमवारदेखि काठमाडौंमा आयोजना हुने भएको छ । 

परिसंघ, एशिया प्रशान्त क्षेत्रभित्रका २६ देशका २८ वटा राष्ट्रियस्तरका उद्योग वाणिज्य महासंघ - संघहरुको छाता संस्था हो । सम्मेलन कार्तिक २० र २१ गते २ दिन चल्ने छ । सम्मेलनको मुख्य थिम “चेम्वर्स अफ कमर्स हेल्पिङ विजनेश गेट सेट फर द फयूचर” रहेको छ । 

नेपाल उद्योग वाणिज्य महासंघको आतिथ्यतामा आयोजना हुने सम्मेलनको सोमवार विहान सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले होटल हायातमा समुदघाटन सहित संवोधन गर्नुहुने छ ।  

विश्व आर्थिक मन्चमा राम्रो पहिचान बनाउन सफल यस संस्थाको यसअघि २६ औं सम्मेलन महासंघको आयोजनामा काठमाडौंमा सम्पन्न भएको थियो ।

समुद्घाटन कार्यक्रमलाई पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुख्य वक्ताको रुपमा संवोधन गर्नु हुने छ भने अर्थमन्त्री डा. प्रकाशरण महत, महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, महासघका पूर्व अध्यक्ष एवं क्यासीका उपाध्यक्ष प्रदीपकुमार श्रेष्ठ, क्यासीका अध्यक्ष पिटर म्याकमुलिन एम (Peter McMullin AM Presidnt, CACCI) र महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले संवोधन गर्नुहुनेछ । 

परिसंघले एशिया प्यासिफिक क्षेत्रका देशहरुमा उद्योग, व्यवसाय, लगानी प्रविधिको विस्तार मार्फत यस क्षेत्रका जनताको जीवनस्तर सुधार र आपसी लाभका क्षेत्रमा काम गरिरहेको छ ।

यस सम्मेलनमा एसिया प्यासिफिक क्षेत्रबाट सदस्य राष्ट्रका ६० भन्दा बढी व्यसायिक नेताहरु र नेपालका प्रतिष्ठित उद्यमी व्यवसायीहरु, सरकारी प्रतिनिधिहरु समेत गरी करिव २ सय भन्दा बढीको सहभागिता रहने छ । 

सम्मेलनबाट नेपालमा एशिया प्रशान्त क्षेत्रबाट लगानी, प्रविधि, पर्यटन आकर्षण हुने अपेक्षा गरिएको छ । सम्मेलनमा एशिया प्रशान्त क्षेत्रका देशहरु बीच आपसी सहकार्यका माध्यमबाट दीगो विकास, उद्यमशीलता, व्यापार प्रवद्र्धनमा मुख्य जोड दिइने छ । 

सम्मेलनमा स्वच्छ र नवीकरणीय ऊर्जा, क्षेत्रीय आर्थिक वृद्धि, खाद्य र कृषि, युवा उद्यमशिलता तथा सूचना प्रविधि, पर्यटन, लघु, घरेलु तथा साना उद्यम, जल, ऊर्जा र वातावरण, क्षेत्रीय व्यापार व्यवसाय संजाल विस्तार, एसिया-प्रशान्त क्षेत्रमा विकासका अवसर र चुनौती लगायतका महत्वपर्ण विषयहरुमा दुुई दिनसम्म एशिया प्रशान्त क्षेत्रका निजी क्षेत्र, विकास साझेदार, दातृ निकाय तथा सरकारी प्रतिनिधिहरु र नीति निर्माताहरुले बिचार विर्मश गर्ने छन् । 

नेपाल र एशिया प्रशान्त क्षेत्रका राष्ट्रहरु बीच बलियो सम्बन्ध विस्तारमा यो सम्मेलन कोशेढुुंगा हुने विश्वास महासंघको छ ।  

निजी क्षेत्रको प्रतिनिधिमुलुक संस्था नेपाल उद्योग वाणिज्य महासंघ यस संस्थाको संस्थापक सदस्य रही आएको छ ।

सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै कार्तिक २१ गते समापन गरिने छ । 

सन् १९६६ मा स्थापना भएको क्यासी एसिया-प्रशान्त क्षेत्रभित्रका व्यवसायिक संस्थाहरूलाई एकताबद्ध गर्दै यसका सदस्य राष्ट्रहरू बीच आर्थिक सहयोग, व्यापार र लगानी प्रवद्र्धनमा एक सक्रिय साझा मञ्चकोे रूपमा कार्य गर्दै आएको छ । 

यसको बलियो संजाल र सशक्त पहलहरू मार्फत उद्यमशीलता, दिगो विकास र सीमापार व्यापार सहजीकरणलाई समर्थन गर्ने नीतिहरूको पैरवीमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । 

संस्थाले नियमित सम्मेलनहरू, सेमिनारहरू र व्यापार फोरमहरू आयोजना गरी सदस्यहरूलाई छलफलमा संलग्न हुन, विचार आदानप्रदान गर्न, र साझेदारी र लगानीका अवसरहरूको अनुसन्धान गर्न साझा प्लेटफर्म समेत प्रदान गर्दै आएको छ ।

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by