Sep 25, 2023
बुटवल उद्योग वाणिज्य संघमा कोशेली घर सञ्चालन

बुटवल उद्योग वाणिज्य संघमा कोशेली घर सञ्चालन गरिएको छ । स्थानीय महिला उद्यमीहरुले उत्पादन हस्तकलाका सामानहरु सुपथ मुल्यमा विक्रि वितरण गर्नेगरी कोशेली घर सञ्चालनमा ल्याईएको हो ।


संघमा सोमबार आयोजना गरिएको कोशेली घर तथा मोटिभेसन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्य तथा बुटवल उवासंघका अध्यक्ष उज्ज्वल प्रसाद कसजू, प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले संयुक्त उद्घाटन गर्नुभएको हो । त्यस अवसरमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष वैद्यले कोशेली घर स्थापनाले यस क्षेत्रको महिला उद्यमशिलतामा बृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले अझै पनि मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार तयार हुँदैन भने उद्योगी व्यवसायी सडकमा आउनुको विकल्प नभएको बताउनु भयो । उहाँले उद्योग व्यवसायमा संकटकालको स्थिती रहेको बताउँदै साना ठूला सबै उद्योगी व्यवसायीलाई आन्दोलनमा जानुपर्ने अवस्था आउन सक्ने बताउनु भयो । ‘करको दायरा मात्रै होईन दर पनि बृद्धि भएको छ, बैंक व्याज उच्च छ, व्यापार व्यवसायमा मन्दी आएको छ ।’

कार्यक्रममा स्वागत गर्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल प्रसाद कसजूले मुलुकको आर्थिक अवस्थाको कारण उद्योगी व्यवसायी मारमा परेको, व्यापार व्यवसायमा आएको मन्दीले कतिपय व्यापारी तथा उद्योगी पलायन भईसकेको र कतिपय पलायन हुने स्थितीमा रहेको भन्दै यसमा गम्भिर बन्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले महिला उद्यमीको उद्यमशिलता विकास तथा उत्पादित बस्तुको बजारको पहुँच बढाउनको लागि कोशेली घर सञ्चालनमा ल्याएको बताउनु भयो ।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा, महासंघकी कार्यकारिणी समिति सदस्य तथा महिला समितिकी सभापति कमला श्रेष्ठ, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद अर्याल, संघका वरिष्ठ उपाध्यक्ष दिनेश प्रसाद श्रेष्ठ लगायतले आफ्नो मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व कार्यकारिणी सदस्य तथा मोटिभेशनल स्पिकर रञ्जित राज आचार्यले व्यवसायिक प्रवर्द्धन सम्बन्धी प्रस्तुति दिनुभएको थियो ।

बुटवल उद्योग वाणिज्य संघले कोशेली घरको व्यबस्थापन गरेको छ भने यसको संचालन स्थानीय उद्यमी निर्जला थापाले गर्नु हुने कोशेली घरका संयोजक तथा बुटवल उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य जमुना पौडेलले जानकारी गराउनु भयो ।
 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by