Aug 21, 2023
लागु औषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल फ्रेट फरवार्डरस एशोसिएसन (नेफा) द्वारा लागू औषध नियन्त्रण व्यूरोको सहकार्यमा आयात/निर्यातको  क्रममा  लागु  औषधको  जोखिम  नियन्त्रण  तथा कार्गो कम्पनीहरुका कर्मचारीहरु एवं यस क्षेत्रसंग प्रत्यक्ष सरोकार राख्ने निकायहरुलाई लागु औषध नियन्त्रण सम्बन्धी जानकारी मुलक "Seminar on the Awareness of Illicit Drugs Trafficking" विषयक अन्तरक्रिया कार्यक्रम भाद्र ३, २०८० (August 20, 2023) आईतवारका दिन बेष्ट भेन्यु, कालोपुल, काठमाडौंमा आयोजना गरेको थियो । कार्यक्रममा लागु औषध नियन्त्रण व्यूरो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, आयात/निर्यातसंग सम्बन्धित विभिन्न संघ/संस्थाका प्रतिनिधी, कार्गो व्यवसायी, कार्गो कम्पनीमा कार्यरत कर्मचारीहरु सहित १७२ को सहभागिता रहेको थियो ।

कार्यक्रममा संघका अध्यक्ष मनोज अधिकारीले निर्वाध रुपमा नेपाल बस्तु निर्यात गर्नका निमित्त यस अन्तरक्रिया कार्यक्रमले मद्दत गर्ने तथा यस क्षेत्रलाई अवैध लागू औषधको खतराबारे जागरुक बनाउनेमा विश्वस्त रहेको जानकारी दिंदै कार्यक्रममा उपस्थित सबैमा स्वागत गर्नु भयो । नेफा कार्यकारिणी समिति सदस्य एवं NEFFA International Relation & Capacity Enhancement Committee का सभापति मनिष मान श्रेष्ठले नेपालबाट तेस्रो मुलुक निर्यात गर्दा आवश्यक कार्य प्रकृयाहरुलाई समेटिएको कार्यपत्र प्रस्तुत गरियो ।

लागू औषध नियन्त्रण व्यूरोका प्रहरी नायव उपरीक्षक नारायण रन्जितकारले मालबस्तु/निर्यातको क्रममा लागू औषध तस्करीको तरीका तथा नियन्त्रणका उपायहरु, कानूनी प्रावधान, यसका जोखिम, कार्गो व्यबसायीहरुले अपनाउनु पर्ने सावधानी आदी बिषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो । लागू औषध नियन्त्रण व्यूरोका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाले आफ्नो मन्तव्यको क्रममा लागू औषध जोसंग फेला पर्छ पहिले उसैलाई पक्राउ गरी अनुसन्धान शुरु हुने भएको हुंदा आयात/निर्यातमा अत्यन्त सावधानी अपनाउनु पर्ने जानकारी गराइयो । अन्तरक्रियाको. समयमा सहभागीहरू एवं पत्रकारहरूबाट उठेका प्रश्नहरू एवं जिज्ञासाहरुको जवाफ दिंदै लागू औषध नियन्त्रण व्यूरोका प्रहरी उपरीक्षक चक्रराज जोशीले लागू औषध नियन्त्रण तथा अनुसन्धानमा सघाउन सबै आम नागरिकको कर्तव्य रहेकोले प्रहरीको कारवाही प्रकृयामा सहयोग गर्न सबैमा अनुरोध गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा नेफाका वरिष्ठ उपाध्यक्ष राजेन्द्र संग्रौलाले कार्यक्रम आयोजनाका लागि सहयोग पुर्याउने सबैमा धन्यवाद दिनु हुँदै लागू औषध नियन्त्रणमा संघबाट सदैव सकारात्मक सहयोग हुने प्रतिवद्धता व्यक्त गरियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by