May 16, 2023
सुदुरपश्चिमको प्रशिद्ध पर्यटकीय क्षेत्र खप्तडमा लगानी गर्न सरकारको सहयोग आवश्यक रहेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले वताउनुभएको छ । खप्तडमा पर्यटन पुर्वाधार निर्माण र पर्यटन प्रवद्र्धनका लागि महासंघसंगको सहकार्यका लागि आएको सुदुरपश्चिमबाट प्रतिनिधित्व गर्ने संघीय सांसद र प्रदेशसभा सदस्यहरुको टोलीसंग अध्यक्ष ढकालले उक्त कुरा वताउनुभएको हो ।
पर्यटकीय लगायतका पुर्वाधार निर्माणका लागि वातावरणीय मुल्यांकन र जग्गा प्राप्ति निक्कै कठिन रहेको हुँदा यी बिषयमा सरकारले सहजीकरण गर्नुपर्ने अध्यक्ष ढकालको भनाइ थियो । उहाँले यसैपटकको बजेटबाट यी बिषय सहज बनाउने हो भने तत्काल लगानी गर्न सकिने पनि वताउनुभयो ।
सातै प्रदेशमा केवलकार निर्माणको नेतृत्व गर्नुभएका अध्यक्ष ढकाललाई खप्तडमा पनि केवलकार निर्माणका लागि टोलीले आग्रह गरेको थियो । यही जेठ २३, २४ र २५ खप्तडमा आयोजना हुने प्रवद्र्धन कार्यक्रममा अध्यक्ष ढकाल लगायत महासंघलाई निमन्त्रणा समेत गरिएको थियो ।
भेटका क्रममा राष्टिय सभा सदस्य गरिमा शाहले खप्तडमा भारतीय लगायत आन्तरिक पर्यटकहरुको पनि आकर्षण रहने हुँदा निजी क्षेत्रका लागि पनि अवसर रहेको वताउनुभयो । खप्तड क्षेत्र पर्यटन बिकास व्यवस्थापन समितिका शेर वहादुर खडकाले प्रस्तावित कार्यक्रमले प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
भेटमा शाह, खडका, प्रदेश सभा सदस्य दीर्घ सोडारी र दिपक सिंह ओली, नेपाली कांग्रेसका नेता गोविन्द वहादुर शाह, व्यवस्थापन समितिका सदस्य हर्कवहादुर सिंह सहभागि थिए । यसैगरि महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्य र कोषाध्यक्ष निरक केसीको समेत सहभागिता थियो ।