May 11, 2023
वीरगंजमा दुई दिने रोजगार मेला प्रारम्भ बुटवल र काठमाडौंमा पनि रोजगार मेला आयोजना गरिने (२०८०/०१/२८)

नेपाल उद्योग वाणिज्य महासघद्वारा अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा आज वीरगंजमा रोजगार मेलाको आयोजना गरियो । रोजगार मेला वीरगंज महानगरपालिका र बीरगंज उद्योग वाणिज्य संघको सहकार्यमा आयोजना गरिएको हो । रोजगार मेला वैशाख २९ गतेसम्म चल्ने छ ।  

रोजगार मेलाको वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले उद्घाटन गर्नुभयो । कार्यक्रमलाई संवोधन गर्नुहुदै मेयरले रोजगार मेलामा रोजगारदाता र कामको खोजीमा रहेकाहरुको प्रत्यक्ष सहभागिता रहने हुंदा मेलाबाट दुवै पक्ष लाभान्वित हुने अवसर मिल्ने वताउनु भयो । 

कार्यक्रमका विशिष्ठ अतिथि एवं महासंघका उपाध्यक्ष हेमराज ढकालले शीपयुक्त जनशक्ति विकासमा महासंघले आइएलओसंग मिलेर कार्यक्रमहरु ल्याएको र यसले मुलुकभित्र शीपयुक्त जनशक्तिको मागलाई संवोधन गर्न केहीमात्रामा भएपनि सहयोग पुग्ने विश्वास प्रकट गर्नुभयो ।  

सभापति ढकालले रोजगार मेलाबाट बजारमा आवश्यक जनशक्ति पहिचान तथा रोजगारदाताहरुले खोजेको जनशक्तिका वारेमा जानकारी लिन सहज हुनुको साथै शीपयुक्त जनशक्ति विकासका लागि आगामी रणनीति वनाउन समेत सहयोग पुग्ने विश्वास प्रकट गर्नुभयो । 

कार्यक्रमलाई महासंघका उपाध्यक्ष ज्योत्सना श्रेष्ठले पनि संवोधन गर्नुभएको थियो ।

सभापतिको आशनबाट वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवालले महासंघ र आइएलकोसंग मिलेर रोजगार मेला आयोजना गर्न पाएकोमा खुशी प्रकट गर्नुभयो ।

उद्घाटन कार्यक्रममा वीरगंज उवासंघका उपाध्यक्ष माधव राजपाल, जीतपुर, वारा उद्योग वाणिज्य संघका अध्यक्षहरु, महासंघको मधेश प्रदेश च्याप्टरका अध्यक्ष अशोक टेमानी, निवर्तमान अध्यक्ष गणेश लाठ, संघका वरिष्ठ उपाध्यक्ष हरि प्रसाद गौतम लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो । 

रोजगार मेलामा १५ वटा कम्पनीहरुले भाग लिएका छन् । मेलामा सहभागी कम्पनीहरुले विभिन्न पदका लागि ७५ वटा आवेदन खुलाएका छन् । 

मेलामा प्राविधिक स्कूल, कलेज तथा जव सेन्टर गरी ५ वटाको सहभागिता छ । मेलामा वीरगंज महानगरपालिका रोजगारदाता सेवा केन्द्रको पनि सहभागिता छ ।

महासंघले आएलओको सहयोगमा जेष्ठ ९ र १० गते बुटवल र जेष्ठ १६ र १७ गते काठमाडौंमा रोजगार मेला आयोजना गर्ने कार्यक्रम छ । 


 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by