May 03, 2023
दोषी माथि कारवाहीको माग

मिति २०८० वैशाख १९ गते सांझ यस उद्योग वाणिज्य संघ चितवनका पूर्व कार्यसमिति सदस्य, चितवन जिल्लाका अग्रणी युवा उद्यमी, शंकर कंडेलको असामयिक तथा अप्रत्यासित निधनको खबरले उद्योग वाणिज्य संघ चितवन र सिंगो नीजि क्षेत्र स्तब्ध र मर्माहत भएको छ । दुःखको यस घडिमा स्वर्गिय आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन, बन्धुबान्धव, ईस्टमित्र र शुभेच्छुकमा उद्योग वाणिज्य संघ चितवन हार्दिक समवेदना व्यक्त गर्दछ । उहांको निधनले चितवन जिल्ला मात्र नभई राज्यले एक उर्जावान उद्यमी एवम् सामाजिक अभियन्ता मात्र गुमाएन आर्थिक क्षेत्रका एक नक्षेत्र समेत गुमाएको छ ।  

देशमा व्याप्त आर्थिक मन्दि, वित्तिय संकट र बैंक तथा वित्तिय संस्थाहरुबाट चर्को बैंक ब्याज असुली र कर्जा भुक्तानको लागि उद्यमी व्यवसायीहरुलाई दिईने मानसिक तनावका कारण कैयन् उद्यमी व्यवसायी हतोत्साहित भई विस्थापित हुन पुगेका छन् । नेपाल सरकारका विभिन्न निकायमा दर्ता गरि जस्तोसुकै विषम परिस्थितिमा पनि संयमित भई राज्यलाई कर तिर्दै राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउंदै आएको नीजि क्षेत्रलाई सरकारको तर्फबाट कुनै किसिमको सहयोग नहुनु दुर्भाग्यपूर्ण रहेको संघले महसुस गरेको छ । हिजो घटेको घटना पनि यस किसिमको जटिल परिस्थितिमा राज्य संयन्त्रको निरिहपनको दुस्परिणाम समेत भएको संघको ठम्म्याई रहेको छ । 

गत माघ महिनामा व्यवसायी प्रेम प्रसाद आचार्यको देहत्याग र तत्पश्चात नेपालका विभिन्न स्थानमा व्यवसायीहरुले आत्महत्या गरेका घटनाबाट न त सम्बन्धित निकायले सुधारका कार्य गर्यो नत सरकारले नै कुनै विशेष कार्यक्रम ल्याउन सक्यो । यदि अझै पनि सम्बन्धित पक्ष सजग भई व्यवसायीका पक्षमा कुनै ठोस कार्यक्रम नल्याउने हो भने यस किसिमका अप्रिय घटनाबाट निजी क्षेत्र झन निरुत्साहित हुने देखिन्छ । यद्यपी बर्तमान परिस्थितिमा उद्यमी व्यवसायीहरु कत्ति पनि विचलित नभई आपसी कारोवार सौहार्दपूर्ण तवरले गर्नुका साथै विद्यमान संकटको घडिमा धैर्यतापूर्वक र सुझवुझका साथ आर्थिक गतिविधी सञ्चालन गर्न सम्पूर्ण उद्यमी व्यवसायीमा संघ हार्दिक अपिल गर्दछ ।

हिजो चितवनमा घटेको घटनामा स्वर्गिय शंकर कंडेलले आत्महत्या गर्नुको कारण खुलाई आफुलाई आत्महत्या गर्नका लागि दुरुत्साहन गर्ने व्यक्तिहरुको नाम समेत किटान गरी मृत्युवरण गरेको जानकारी प्राप्त भएकोले संघ उक्त परिस्थिति सिर्जना गर्ने प्रति खेद प्रकट गर्दछ । साथै आत्महत्या पत्र (Suicide Note) मा उल्लेख गरिएका ब्यक्तिहरुको वारेमा सत्यतथ्य पत्ता लगाई वैज्ञानिक तवरले अनुसन्धान गरि दोषीलाई कानुनी दायरामा ल्याई यथासिघ्र कारवाही गर्नको लागि सम्बन्धित निकायलाई उद्योग वाणिज्य संघ–चितवन जोडदार माग गर्दछ । 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by