Apr 20, 2023
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनमा संसोधन — निजी क्षेत्रलाई अख्तियारको दायरामा राख्न नमिल्ने (२०८०/०१/०६)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्र भित्र निजी क्षेत्र पर्न नहुनेमा जोड दिनुभएको छ । विहीबार नेपाली कांग्रेस संसदीय दलमा आयोजित अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ढकालले निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउँदा लगानी निरुत्साहित हुने वताउनुभयो ।
 
अध्यक्ष ढकालले राष्ट्रिय सभाबाट प्रतिनिधि सभामा आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संसोधन विधेयकमा भएको बैंक वित्तिय संस्था, पब्लिक कम्पनी, अस्पताल आदिलाई अख्तियारको दायरा ल्याउने व्यवस्था हटाउन माग गर्नुभएको हो । 

सोही कार्यक्रममा पूर्व सांसद एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले संविधानको धारा २३९ अनुसार अख्तियार प्राप्त व्यक्तिमात्रै अख्तियारको दायरामा आउने हुँदा निजी क्षेत्रमा अख्तियार प्रवेश गर्न नसक्ने बताउनु भयो । यो व्यवस्था संसोधन नभए निजी क्षेत्र निरुत्साहित हुने र लगानीको वातावरण विग्रिने उहाँले बताउनु भयो । 

नेपाली कांग्रेसका नेता एवं पूर्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद वढुले निजी क्षेत्रलाई अख्तियारले हेर्न नमिल्ने तर नियामक निकायलाई भने बलियो बनाउन सकिने वताउनु भयो । उहाँले यो व्यवस्था संसोधनका लागि पार्टीले पहल गर्नुपर्ने वताउनु भयो ।
 
नेपाली कांग्रेसका सांसदहरु हृदयराम थानी, वीर वहादुर बलायर, दिपक गिरी, सुनिल शर्मा लगायतले पनि निजी क्षेत्र अख्तियारको दायरामा नपर्ने हुँदा संशोधन आवश्यक रहेको धारणा राख्नुभएको थियो । उहाँहरुले नेपाली कांग्रेस निजी क्षेत्रको प्रवर्द्धन गर्नुपर्ने नीतिमा विश्वास राख्ने पार्टी भएकोले यसको संसोधन आवश्यक रहेको बताउनु भयो । 

कार्यक्रमका संयोजक एवं नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले यसबारेको संशोधन व्यक्तिगत वा सामुहिक रुपमा हाल्न सकिने बताउनु भयो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by