Apr 16, 2023
श्री ढकालबाट महासंघको अध्यक्षको पद बहाली – पद बहाली पश्चात सचिवालयका कर्मचारीहरुलाई अध्यक्ष ढकालद्वारा संवोधन

नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारण सभाबाट महासंघको अध्यक्षको पदभार सम्हाल्नु भएका अध्यक्ष चन्द्र प्रसाद ढकालले आज विहान महासंघ सचिवालयमा अध्यक्षको पदबहाली गर्नुभयो ।

पद बहाली गर्दै अध्यक्ष ढकालले महासंघ सचिवालयमा मेलमिलाप केन्द्र संचालन गर्ने सम्बन्धी निर्णयमा हस्ताक्षर गर्नुभयो । 



पद वहाली पश्चात अध्यक्ष ढकालले वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, लगानीको वातावरण बनाउने, राज्य र निजी क्षेत्र बीचको साझेदारी सुदृढ गर्ने, दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने, व्यवसायीहरुको मनोवल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने आफ्ना प्रमुख प्राथमिकता रहेकाले सोही अनुसार आफू र टिमले काम गर्ने बताउनु भयो ।

सानो व्यवसायबाट व्यवसायमा हाम फालेको मानिस आज सिंगो निजी क्षेत्रको नेतृत्वदायी पदमा पुग्दा आफूलाई गर्व लागेको भन्दै यसले महासंघ साना ठूला सवैको साझा संस्था भएको प्रमाणित गरेको बताउनु भयो ।     



पद वहाली पश्चात अध्यक्ष ढकालले सचिवालयका कर्मचारीहरुलाई संवोधन गर्नुभयो ।

महासंघ सचिवालय र महासंघ अन्तरगतका परियोजनाका कर्मचारीहरूको उपस्थिति रहेको सो कार्यक्रममा अध्यक्ष ढकालले आफ्नो कार्यकाललाई सफल पार्न सचिवालयका कर्मचारीहरूको महत्वपूर्ण भूमिका हुने हुंदा सचिवालयबाट सोही अनुसारको सहयोगको अपेक्षा आफुले गरेको बताउनु भयो ।  


निर्वाचित टिम र सचिवालय एकै स्वर र लक्ष्यकासाथ हिड्न सकेमात्र महासंघले उचाई लिने हुंदा सिंगो कर्मचारी परिवारलाई इमान्दारिता र प्रतिवद्धताका साथ सहयोग गर्न आग्रह गर्नुभयो । 

कर्मचारीहरूको वृत्ति विकास, सचिवालयको प्रभावकारी संचालन, सेवा सुविधा लगायतमा पनि आफूले ध्यान दिई समग्रमा महासंघ सचिवालयलाई एक प्रोफेशनल अर्गनाइजेशकारूपमा संचालन गर्ने उहांले स्पष्ट पार्नुभयो ।

निर्देशनको क्रममा अध्यक्ष ढकालले भन्नु भयो–मैले यस अघि पनि तपाईहरूबाट निरन्तर सहयोग पाउंदै आएको र अध्यक्षको कार्यकालमा पनि सोही अनुसारले पाउने अपेक्षा गरेको छु । मेरो सफलता तपाईहरूको पनि सफलता भएकाले तपाईहरूबाट पूर्ण सहयोग प्राप्त हुने विश्वास लिएको छु । 

कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले आफ्नो कार्यकालमा सचिवालयबाट पाएको सहयोगका लागि हार्दिक धन्यवाद दिनुभयो । साथै उहांले अध्यक्ष ढकाललाई आफ्नो पूर्ण सहयोग रहने विश्वास दिलाउंदै उद्योग व्यवसाय क्षेत्रमा उहांको लामो अनुभवले महासंघलाई नयां उचाईमा लैजाने विश्वास व्यक्त गर्नुभयो ।



त्यसअघि अध्यक्ष ढकाल महासंघ सचिवालयमा आउनुहुंदा महासंघ सचिवालय प्रमुख महानिर्देशक गोकर्णराज अवस्थीको नेतृत्वमा कर्मचारीहरुले स्वागत गरेका थिए । 



आजै मुख्य निर्वाचन अधिकृत लीलामणी पौडेलले निर्वाचित पदाधिकारी एवं कार्यकारिणी समिति सदस्यहरुलाई प्रमाणपत्र वितरण सहित बधाई दिनु भयो । तत्पश्चात अध्यक्ष ढकालले नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, कार्यकारिणी समिति सदस्यहरुलाई सपथग्रहण गराउनु भयो । 





थप फोटोको लागि :

पदभार ग्रहण तथा सचिवालयलाई सम्बोधन
प्रमाणपत्र वितरण तथा सपथ ग्रहण

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by