Apr 02, 2023
एफएनसीसीआई प्रतिनिधिमण्डल र नवनियुक्त अर्थमन्त्री बीच भेटवार्ता - अध्यक्ष गोल्छाबाट अर्थतन्त्रको संकट टार्न केही महत्वपूर्ण सुझाव पेश (२०७९/१२/१९)

नवनियुक्त अर्थमन्त्री डाक्टर प्रकाशशरण महतसंग नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले आज विहान सिंहदरवारमा बधाई भेटवार्ता गरेको छ । डा. महत शुक्रवारमात्र देशको अर्थमन्त्रीमा नियुक्त हुनु भएको थियो । 

सो अवसरमा महासंघका अध्यक्ष शेखर गोल्छाले नवनियुक्त अर्थमन्त्रीलाई सिंगो निजी क्षेत्रकातर्फबाट बधाई एवं शुभकामना दिनुभयो । अध्यक्ष गोल्छाले सो अवसरमा अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा व्रिफिङ पनि गर्नु भएको थियो ।

भेटवार्तामा अध्यक्ष गोल्छाले अहिले बजारमा तरलता प्रवाह गरेर ब्याजदर घटाउनु पर्ने सुझाव दिनुभयो । यसका लागि केन्द्रीय बैंक  र सरकारले संयुक्त पहलमा तरलता प्रवाह गरेर ब्याजदर झार्नुपर्ने सुझाव उहांको थियो । 

सहकारी र लघुवित्तमा तरलता बढाउने गरि काम अघि बढाउन पनि उहांले सो अवसरमा जोड दिनुभयो ।

सरकारी खर्च निक्कै सुस्त रहेको भन्दै त्यसलाई बढाउन पनि गोल्छाले सुझाव दिनु भयो । अहिले करिब २४ प्रतिशत मात्र रहेको सरकारी खर्चलाई विस्तार गर्न उहांको आग्रह थियो । 

अहिले सरकारसंग राजस्व कम उठेको छ, चालु खर्च धान्न मुस्किल पर्न थालेको अवस्था छ । यसका लागि बाहिरी ऋण उठाएर भएपनि खर्च गर्नुपर्ने उहांको सुुझाव थियो । यसरी लिएको ऋण, विकास खर्च गर्नलाई मात्र प्रयोग गर्नुपर्नेमा उहांको जोड थियो । 

नवनियुक्त अर्थमन्त्रीसंगको भेटमा अध्यक्षले राज्यसंयन्त्र पूर्ण रुपमा प्रयोग गरेर सीमाबाट हुने अवैध आयात रोक्नुपर्ने र त्यसले राजस्व वृद्धिमा समेत सहयोग पुरयाउने सुझाउनु भयो । 

अध्यक्ष गोल्छाले विदेशबाट पैसा भित्रयाउनका लागि दाताहरुसंग पहल गर्नुपर्ने बताउदै स्थानीय दाताहरुसंग पनि सम्मेलन गर्न आग्रह गर्नुभयो । 

निजी क्षेत्रको मनोबल उकास्ने खालका संदेश प्रवाह गर्न अध्यक्षले जोड दिनु भयो । राजस्व उठाउने बहानामा निजी क्षेत्रलाई त्रसित पार्न नहुने भन्दै मनोबल उच्च बनाएर अगाडि बढ्ने वातावरण तयार पार्न सुझाव दिनु भयो । 

नवनियुक्त अर्थमन्त्री डाक्टर महतले समस्याग्रस्त अर्थतन्त्र सुधारने आफ्नो पहिलो प्राथमिकता र प्रतिवद्धता रहेकाले यसमा निजी क्षेत्रका छाता संस्थाको सुझाव र सहकार्यबाट आफू अगाडि बढ्ने विश्वास दिलाउनु भयो । 

तपाईहरुको मनोवल घट्न दिन्न तपाईहरुसंग निरन्तर संवादमा रहन्छु । मैले अर्थतन्त्रलाई सुधार गर्न गरेको प्रतिवद्धता पुरा गर्न तपाईहरुबाट पूर्ण सहयोग पाउने अपेक्षा गरेको छु, नवनियुक्त अर्थमन्त्री डा. महतले महासंघसंगको भेटवार्तामा भन्नुभयो ।

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by