Mar 17, 2023
महासंघका अध्यक्ष र अमेरिकी राजदूत बीच भेटवार्ता (२०७९/१२/०२)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन (H.E. Dean R.Thompson, the United States Ambassador to Nepal) बीच आज महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भयो ।



भेटका अवसरमा दुई देश बीचको आर्थिक व्यापारिक सम्बन्ध, लगानी प्रवर्द्धन, साना तथा मझौला उद्योगको विकासमा अमेरिकी सहयोग एवं नेपालको निजी क्षेत्रको विकासमा आपसी सहयोगका विषयमा छलफल भयो । 

राजदूत थम्पसनको महासंघ सचिवालयमा स्वागत गर्नुहुंदै अध्यक्ष गोल्छाले एफएनसीसीआई नेपालमा निजी क्षेत्रको आवाजको प्रतिनिधित्व गर्ने मुख्य संस्था रहेको बताउनु भयो । एफएनसीसीआई सरकार पछि सवैभन्दा ठूलो संजाल भएको संस्था रहेको पनि उहांले स्पष्ट पार्नु भयो ।

महासंघको कृषि उद्यम केन्द्र तथा  महासंघ सचिवालय सहित सदस्य संघहरुमा आइहव सेन्टर संचालन लगायत नेपालको आर्थिक विकासमा अमेरिकी सहयोगको अध्यक्षले प्रशंसा गर्नुभयो । 

अध्यक्ष गोल्छाले स्टार्टअपलाई महासंघले निकै महत्वका साथ अगाडि बढाएकै कारण सरकारले समेत यसलाई मुख्य प्राथमिकतामा राखी नीति निर्माण एवं बजेटमार्फत भेन्चर क्यापिटल कोषको समेत व्यवस्था गरेको बताउनु भयो ।

अध्यक्ष गोल्छाले स्टार्टअप लगायत साना तथा मझौला उद्योगको विकासमा अमेरिकी सहयोग एवं सहकार्यको सम्भाव्यता समेत औल्याउनु भयो । 

सो अवसरमा राजदूत थम्पसनले महासंघसंगको भेट आफना लागि निकै महत्वका साथ लिएको बताउनु भयो । 



महासंघका अध्यक्षले राख्नुभएका सुझावलाई आफूले निकै महत्वपूर्णरुपमा लिएको र त्यसको कार्यान्वयनलाई प्राथमिकतामा राख्ने विश्वास दिलाउनु भयो । 

उहांले नेपालको विकासमा अमेरिकी सहयोग विस्तार भैरहेको बताउंदै एसएमईज क्षेत्रलाई सहयोग गर्ने कार्यक्रम रहेको पनि जानकारी गराउनु भयो । 

भेटवार्ता अघि राजदूत थम्पसन महासंघमा आइहवले आयोजना गरेको ‘टेल हर स्टोरी’ नामक लेखन प्रतियोगितामा उत्कृष्ट लेखकलाई प्रमाणपत्र प्रदान गर्ने कार्यक्रममा भाग लिनु भएको थियो । टेल हर स्टोरी नारी इतिहासलाई प्रवद्र्धन गर्ने विषयवस्तु हो र यस प्रतियोगिताको लागि १०० भन्दा बढी निबन्धहरू प्राप्त भएका थिए । 

भेटवार्तामा महासंघ सचिवालय र अमेरिकी राजदूतावासका उच्च अधिकृतहरुको उपस्थिति रहेको थियो ।       
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by