Feb 06, 2023
प्रेम प्रसादको नियति भोग्नु नपरोस् भन्दै चितवनका उद्योगी–व्यवसायी उत्रिए सडकमा

२३ माघ, भरतपुर ।

उद्योग वाणिज्य संघ–चितवनको आयोजनामा आज चितवनका उद्योगी–व्यवसायी सडक आन्दोलनमा उत्रिएका छन् । नारायणगढ स्थित लायन्स चोकमा प्लेकार्ड सहित प्रर्दशनमा उत्रिएका उद्योगी–व्यवसायीहरुले  ‘गरिखाने मर्दै छ, सरकारको राजश्व घट्दै छ’ एकल अंकको व्याजदर कायम गर, भन्दै नाराबाजी विरोध कार्यक्रम गरेको छ । उद्योग वाणिज्य संघ चितवनको आव्हानमा भएको प्रर्दशनमा संघमा आवद्ध ३६ वटा वस्तुगत संघहरुको सहभागिता रहेको थियो । 

उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठले सरकारले उद्योगी–व्यवसायीका मागहरु सुनवाई गर्न आलटाल गरेको आरोप लगाउदै अर्थतन्त्रमा देखिएका समस्या, नीजि क्षेत्रले भोगेका समस्या समाधानका उपाय सहित सरकारको ध्यानाकर्षण महासंघ स्तरबाटै भएकै थियो”, उहाँले भन्नुभयो समस्या समाधान हुने आशमा थियौँ, तर सुनवाई भएन, अब निरन्तर आन्दोलनमा उत्रिने बताउनु भयो ।

अध्यक्ष श्रेष्ठले व्यवसायी चर्को व्यादरको मारमा परेको बताउनु भयो । ७–८ प्रतिशतको व्याजदर अहिले १६–१७ प्रतिशतसम्म पुगिसक्यो, उहाँले भन्नुभयो,  व्याजदर एकल अंकमा हुनुपर्छ, मानसिक तनाव दिने काम रोकिनु पर्छ । चालु पुँजी कर्जा सम्बन्धि मार्गदर्शन व्यवसायी मैत्री नरहेको जीकिर गर्दै उहाँले अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक बीच नै तालमेल छैन, फरक फरक अर्थनीतिहरु छन, एउटै आवाज, एउटै स्वर हुनुपर्छ, अर्थतन्त्र सुधार गर्न जिम्मेवार बन्नु पर्छ भन्दै उहाँले संसद भवन अगाडी देहत्यागको प्रयास गरेका इलामका व्यवसायी प्रेमप्रसाद आचार्यको निधन प्रति दुःख समेत व्यक्त गर्नुभयो । “प्रेमप्रसादको नियति कसैले भोग्नु नपरोस्”, प्रेमप्रसादले सामाजिक सञ्जालमा लेखेका २५ बुँदे ध्यानाकर्षणका मुद्दाहरु सरकारले सुन्नुपर्छ, नीजि क्षेत्रले राखेकामागहरु पनि पुरा हुनुपर्छ ।”

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा उद्योग वाणिज्य संघ–चितवनका पूर्व अध्यक्ष सहनलाल प्रधानले व्यवसायी मैत्री नीति ल्याउन सरकारलाई दबाब दिने बताउनु भयो । “पटक–पटक वार्ता भए, छलफल भए, आश्वासन पनि पायौँ”, उहाँले भन्नु भयो “तर, समस्या जस्ताको त्यस्तै छ, भोलिको कर्जा कसरी जुटाउने भन्ने चिन्ताले सताएको छ ।” उहाँले उद्योगी–व्यवसायी निराश भएर देह त्याग गर्नु पर्ने अवस्था अन्त्यका लागि सरकारले बेलैमा सोच्नु पर्ने बताउनु भयो । कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले व्यवसायी आत्मदाह गर्ने अवस्था सम्म पुग्दा सम्मपनि सम्बन्धीत निकायको ध्यानाकार्षण नभएकोले विरोधका कार्यक्रमको आयोजन ागरिएको बताउनु भयो ।

उद्योग वाणिज्य संघ–चितवनका बरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले माग पुरा नभए ताला चाबी सरकारलाई बुझाउने चेतावनी दिनुभयो । “उद्योग–व्यवसाय नै धरासायी हुन थाल्यो, कोरोनापछि विस्तारै तंग्रिदै गएको अर्थतन्त्र फेरी बिग्रिन थाल्यो”, उहाँले, “देशमा सरकार छ भन्ने अनुभूति व्यवसायीलाई पनि हुनुपर्छ ।” संघका प्रथम उपाध्यक्ष चिरञ्जिवि सुवेदीले उद्योगी–व्यवसायीलाई निराश पारेर देशको अर्थतन्त्र मजबुत बन्न नसक्ने टिप्पणी गर्नुभयो । संघका उपाध्यक्ष राजेन्द्र ओलीले राज्यलाई कर तिरी राज्य सञ्चालनमा योगदान दिने तर राज्यको तर्फबाट दायित्व पुरा नगर्दा व्यवसायी सडकमा ओर्लनु परेको बताउनु भयो । संघका उपाध्यक्ष शिरिष पन्तले स्वदेशमै रोजगारी सृजना गर्न लागेका युवाहरु समेत विदेश पलायन हुने स्थिति आउन थालेको बताउनु भयो । संघका कार्यकारी निर्देशक निलबहादुर केसीले व्यवसायी प्रेमप्रसाद आचार्यको १३ औँ दिनको पूण्य तिथिमा आचार्य प्रति श्रदाञ्जली सभा समेत गरिएको बताउनु भयो । उद्योग वाणिज्य संघले यस पूर्व नै सम्बन्धीत निकायको ध्यानार्कषण गराउने, विज्ञप्ती प्रकाशन गर्ने, डेलीगेशन जाने, अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने, पत्रकार सम्मेलन गर्ने लगाएतका कार्य गर्दा पनि हाल सम्म कुनै सुनवाई नभएकोले आन्दोलनको कार्यक्रम आयोजना गरिएको कार्यकारी निर्देशक के.सीले बताउनु भयो । उद्योग वाणिज्य संघ–चितवनको नेतृत्व र पहलमा आजै चितवन जिल्लाका रत्ननगर उद्योग वाणिज्य संघ, खैरहनी उद्योग वाणिज्य संघ, राप्ती उद्योग वाणिज्य संघ, कालिका उद्योग वाणिज्य संघ, माडी उद्योग वाणिज्य संघ, इच्छाकामना उद्योग वाणिज्य संघ, नवलपुरको गैंडाकोट उद्योग वाणिज्य संघहरुले पनि एकै समयमा आन्दोलनको कार्यक्रमहरु गरेका थिए ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by