Dec 27, 2022
नवनियुक्त अर्थमन्त्री समक्ष महासंघको औपचारिक भेटवार्ता अर्थतन्त्रमा समस्या छ तर समाधान गर्न सकिन्छ - अर्थमन्त्री पौडेल (२०७९/०९/१२)

नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलसंग नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले आज मध्यान्ह अर्थमन्त्रालयमा भेटवार्ता गरेको छ । 

सो अवसरमा महासंघका अध्यक्ष शेखर गोल्छाले नवनियुक्त अर्थमन्त्रीलाई सिंगो निजी क्षेत्रकातर्फबाट बधाई एवं शुभकामना दिनुभयो । अध्यक्ष गोल्छाले सो अवसरमा अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा व्रिफिङ पनि गर्नु भएको थियो । अध्यक्ष गोल्छाले अर्थतन्त्रको विद्यमान समस्या समाधानका लागि महासंघकोतर्फबाट सुझाव समेत पेश गर्नुभएको थियो । 

अध्यक्ष गोल्छाले उद्योग व्यवसाय संचालनमा सबैभन्दा बढी समस्याको रूपमा देखापरेको चालूपूँजी कर्जा मार्ग निर्देशन कम्तीमा दुई वर्ष स्थगन गर्न तथा तरलता व्यवस्थापन र व्याजदर स्थायित्वका लागि केन्द्रीय बैंकले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्ने सुझाव सो अवसरमा राख्नु भयो । मुलुकको अर्थतन्त्र अति संवेदनशील अवस्थामा रहेकाले नवगठित सरकारको सिंगो ध्यान अर्थतन्त्रको पुनरुत्थानमा जानुपर्नेमा पनि अध्यक्ष गोल्छाले जोड दिनु भयो । 

अर्थतन्त्रमा वहुआयामिक असर परेको, मौद्रिक नीतिको समीक्षा मार्फत पनि समस्या सम्बोधन हुन नसकेको र विशेष गरी समग्र वैकिङ समस्याको कारण उद्योगी  व्यवसायी अत्यन्त कठिन अवस्थामा पुगेकाले बाध्य भएर सडकमा आउने परिस्थिति बनेकाले त्यसको अन्त्य गर्न आग्रह गर्नुभयो । 

महासंघका अध्यक्ष गोल्छाले अर्थ मन्त्रीज्यूबाट अर्थतन्त्रको संवेदनशीलता बुझेर सोही अनुसार अर्थपूर्ण पहल हुने अपेक्षा निजी क्षेत्रले गरेको बताउनु भयो । राजस्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्था आएको, मुल्यवृद्धि सात बर्षयताकै उच्च रहेको र अर्थतन्त्रलाई चलायमान बनाउने निजी क्षेत्रनै अहिले संकुचित हुदै गएको यथार्थता सो अवसरमा राखिएको थियो । 

नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री पौडेलले आफ्नो कामको पहिलो शुरुवातनै महासंघको प्रतिनिधिमण्डलसंगको भेटबाट भएको बताउनु भयो । निजी क्षेत्रका मागप्रति सरकार कति गम्भीर छ भन्ने कुरालाई निजी क्षेत्रको छाता संगठनसंगको भेटलाई दिएको प्राथमिकताले पनि स्पष्ट पार्ने उहांले बताउनु भयो । 

सरकार निजी क्षेत्र बीचको सम्बन्ध अन्योन्याश्रित रहेको उहांले स्पष्ट पार्नुभयो । निजी क्षेत्रको मनोवल ढल्यो भने अर्थतन्त्र पनि ढल्छ, तपाईहरूको मनोवललाई उच्च बनाएर काम गर्ने आफ्नो पहिलो प्राथमिकता हुने उहांले स्पष्ट पार्नुभयो । उहांले भन्नुभयो - म तपाईहरूको प्रतिनिधि जस्तै भएर समस्या समाधानमा काम गर्ने छु । 

नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थमन्त्रालयका सचिवद्वयको समेत उपस्थितिमा आयोजित भेटघाटमा अर्थमन्त्री पौडेलले महासंघले अगाडि बढाएको अर्थतन्त्र जोगाऔं अभियानलाई सरकारको पनि समर्थन रहेको बताउनु भयो । तपाईहरू दह्रो मनोवलका साथ काम गर्नुहोस, समस्याको समाधान गर्न हामी प्रतिवद्ध छौं, अर्थमन्त्रीले भन्नुभयो - समस्या छ तर समाधान गर्न सकिन्छ । 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by