Oct 15, 2022
                        
                        
                                                 
 
                        
                                                
२९ असोज, भरतपुर
उद्योग वाणिज्य संघ चितवनको साभाहलमा आज एक दिवसिय स्वच्छ सन्तुलित आहार, स्वस्थ्य जिवनको आधार भन्ने मूल नारा सहित खाद्य प्रविधि गुण नियन्त्रण डिभिजन कार्यलय चितवन, उद्योग वाणिज्य संघ–चितवन र किराना व्यवसायी संघ चितवनको सयुक्त आयोजनामा खाद्य स्वच्छता अभिवृद्वि सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । खाद्य तथा किराना व्यवसायीलाई खाद्य गुणस्तर तथा खाद्य प्रविधि गुण नियन्त्रण कार्यलयका नीति नियमहरुका बारेमा जानकारी गराउने उद्देश्यले यस कार्यक्रम आयोजना गरिएको हो । 
कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले वेला वेलामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलयबाट अनुगमन भईरहने र व्यवसायीहरुलाई खाद्य गुणस्तर सम्बन्धी हुनपर्ने आवश्यक कुराहरु खाद्य लेवल, गुणस्तर, ब्राण्ड, मिश्रण आदिका साथै खाद्य प्रविधि गुण नियन्त्रण कार्यलयका नीति नियमहरुका बारेमा जानकारी हुन आवश्य रहेको बताउनु भयो । उहांले खाद्य प्रविधि गुण नियन्त्रण कार्यलयका नीति नियमहरुका बारेमा व्यवसायीहरुलाई जानकारी भएमा बेला बेलामा भैरहने अनुगमनका क्रममा दण्डित हुन नपर्ने समेत बताउनु भयो ।
कार्यक्रममा बोल्दै किराना व्यवसायी संघ चितवनका निवर्तमान अध्यक्ष एवं उद्योग वाणिज्य संघ चितवनका कार्यसमिति सदस्य रविन्द्रकुमार श्रेष्ठले व्यवसायीहरुलाई विभिन्न समयमा अनुगमन गरि  जरिवाना लगईदै आएको र के गर्दा जरीवाना लाग्छ र के गर्दा जरीवाना लाग्दैन भन्ने कुराकोे जानकारी गराउन कार्यक्रम आयोजना गरेको बताउनु भयो । कार्यक्रममा प्रमुख प्रस्तोता एवं खाद्य प्रविधि गुण नियन्त्रण डिभिजन कार्यलय चितवन कार्यालय प्रमुख घननाथ अधिकारीले खाद्य स्वच्छता र गुणस्तर तथा खाद्य ऐन नियममाका बारेमा व्यवसायीलाई जानकारी गरउनु भयो । उहांले खाद्य स्वच्छतामा असर पार्ने तत्वहरु, खाद्य पदार्थमा हुने मिसावटले मानव स्वास्थ्यमा पर्ने असर, खाद्य स्वच्छता कायम गर्न खाद्य तथा किराना व्यवसायीहरुले ध्यान दिनुपर्ने कुराहरुका बारेमा जानकारी सहित सहभागिहरुका गुनासाहरु सम्बोधन गर्नु भयो । 
कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका उपाध्यक्षत्रय चिरञ्जीवी सुवेदी र राजेन्द्र ओली, सिरिष पन्त, कार्यसमिति सदस्य राजन पिया, वस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधि, किराना व्यवसायी संघका कार्यसमिति एवं पुर्व अध्यक्ष र व्यवसायी सहित ७० जना उपस्थित रहेको थियो । किराना व्यवसायी संघ चितवनका अध्यक्ष हरिराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रम उद्योग वाणिज्य संघ चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले  सञ्चालन गर्नुभएको थियो ।