Aug 14, 2022
एफएनसीसीआई र साउतीको संयुक्त पहलमा आर्थिक पत्रकारलाई तालीम (२०७९/०४/२९)

आर्थिक पत्रकारहरुका लागि एशिया फाउण्डेशनको सहयोगमा काठमाडौंमा आर्थिक रिपोर्टिङः बाह्य क्षेत्र (Economic Reporting: External Sector) विषयक आधा दिने तालीम कार्यक्रम आयोजना गरियो ।
 
नेपाल उद्योग वाणिज्य महासंघ र साउथ एशिया वाच वन ट्रेड, इकोनोमिक्स एण्ड इन्भारोमेन्ट (South Asia Watch on Trade, Economics and Environment-Sawtee) साउतीले संयुक्त रुपमा आयोजना गरेको तालीममा विभिन्न समाचार संस्थाहरूमा कार्यरत करिव ४५ जना आर्थिक पत्रकारहरूको सहभागिता थियो । 

कार्यक्रममा साउतीका अध्यक्ष डा. पोषराज पाण्डे र कारोवार राष्ट्रिय आर्थिक दैनिकका प्रधान सम्पादक कुवेर चालिसले पत्रकारहरूलाई आर्थिक पत्रकारिताका सैद्धान्तिक र व्यवहारिक पक्षका विषयमा तालीम दिनु भएको थियो ।

तालीम कार्यक्रमको शुभारम्भ गर्नुहुंदै महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले  पत्रकारितामा पनि पछिल्लो समय अन्य विषय जस्तै विशेषज्ञता बढेको बताउनु भयो । देशको समृद्धिको लागि, आर्थिक समाचारको भूमिका महत्वपूर्ण हुने बताउंदै आर्थिक पत्रकारिता र निजी क्षेत्र एक अर्काको परिपुरक भएको धारणा राख्नु भयो । 

गलत तथ्य र समाचारले सामाजिक आर्थिक व्यवस्थामै खलल पार्ने हुंदा आर्थिक पत्रकारहरुले समाचार दिंदा सदैव संवेदनशील हुनुपर्नेमा जोड दिनु भयो । समाचार तयार गर्दा स्रोत र तथ्यहरुको परिक्षण पुन परिक्षणमा विशेष जोड दिनुपर्नेमा जोड दिंदै यस्ता तालीम कार्यक्रमले पत्रकारको पेशागत निखारता ल्याउन सहयोग पुग्ने विश्वास प्रकट गर्नुभयो ।    

तालीम कार्यक्रममा आर्थिक रिपोर्टिङ: बाह्य क्षेत्र (Economic Reporting: External Sector) विषयमा प्रस्तुती दिनुहुंदै साउतीका अध्यक्ष डा. पाण्डेले बाहय क्षेत्र रिपोर्टिङ र सूचनाको उचित सम्प्रेषण गर्ने कार्यमा आर्थिक विषय वस्तुमा कलम चलाई रहेका पत्रकारहरूलाई व्यवहारिक ज्ञान दिने उद्देश्यले तालीमको आयोजना गरिएको बताउनु भयो । 

आर्थिक पत्रकारको हैसियतमा उपलब्ध आर्थिक तथ्यांकहरुको सही विश्लेषण गरी ती तथ्यहरूलाई नीतिनिर्माता र आम जनतासम्म पुर्याउने कार्यमा आर्थिक पत्रकारहरूको महत्वपूर्ण भूमिका हुने पनि उहांले बताउनु भयो । पत्रकारिताको आचार संहिताका विषयमा पनि पत्रकार सचेत हुनुपर्नेमा उहाँको जोड थियो । 

साउतीका अध्यक्ष पाण्डले भन्नुभयो–अर्थतन्त्र गतिशील छ, तसर्थ, आर्थिक र वित्तीय क्षेत्रसंग सम्बन्धित समाचारहरू रिपोर्टिङ गर्दा अर्थतन्त्रलाई असर गर्ने विभिन्न चर र अवरोधहरूलाई समेत विशेष ध्यान दिन आर्थिक पत्रकारहरुले सुझाउनु भयो । 

समाचार तथ्यमा आधारित र निष्पक्ष हुनुपर्छ । समाचार तयार गर्दा प्रेस स्वतन्त्रताको प्रवर्द्धन र संरक्षणमा पनि त्यत्तिकै सचेत हुनुपर्छ । यदि कुनै पनि मामलामा, कुनै पनि संयोगले कुनै रिपोर्टिङ अलिकति पनि गलत भयो भने, यसको प्रभाव ठूलो हुन सक्ने भएकाले आफना समाचार स्रोतहरु विशेष चनाखो हुनुपर्नेमा उहांको सुझाव थियो । 

कारोवार दैनिकका प्रधानसम्पादक चालिसेले यो कार्यक्रम युवा पत्रकारहरूलाई अर्थशास्त्र र व्यापारमा आधारित प्राविधिक विषयहरूमा परिचित गराउन, व्यापार र अर्थशास्त्रमा आधारित सामग्रीहरूका वारे अध्ययन गर्ने महत्वपूर्ण अवसर भएको बताउनु भयो । 

पत्रकार चालिसेले भन्नु भयो–अर्थशास्त्र भनेको मानिसको जीवनसंग सम्बन्धित विषय हो । आर्थिक पत्रकारिता संवेदनशील विषय भएकाले राम्ररी बुझेर रिपोर्टिङ गर्न अनुरोध गर्नुभयो । 

महासंघका महानिर्देशक गोकर्ण राज अवस्थीले अर्थतन्त्रमा निजी क्षेत्रको महत्वका वारेमा प्रकाश पार्नु भएको थियो । महानिर्देशक अवस्थीले सामाचारका स्रोतहरुको सही विश्लेणमा जोड दिनु भएको थियो भने तथ्य तथ्यांकमा पत्रकारहरु सधै चनाखो हुनुपर्ने सुझाव दिनु भयो । तालीम कार्यक्रम साउन २५ गते आयोजना सम्पन्न गरिएको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by