Jul 18, 2022
पर्यटकहरुलाई एकद्वार प्रणालीबाट सेवा दिनु पर्ने संघको माग
 
२०७९ साउन २ गते 

संघ सचिवालयमा संघका अध्यक्ष श्री भीष्मप्रसाद न्यौपानेको अध्यक्षता तथा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेज्यूको प्रमुख आतिथ्यमा  लुम्बिनी क्षेत्रको समग्र पर्यटन प्रबर्द्धन तथा विकास सम्बन्धमा सरोकारवाला सरकारी निकाय, पर्यटन क्षेत्र सम्बन्धित संघ संस्था तथा उद्योगी व्यावसायीहरू बिच अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो , छलफलको क्रममा अध्यक्षज्यूले बेलिहया नाका हुँदै आउने भारतीय तथा विदेशी पर्यटकहरूको सेवा सुविधाको लागि  भन्सार, अध्यागमन, रुट पर्मिट स्वास्थ्य चेक जाँच लगायतका फरक फरक प्रक्रिया गर्न फरक फरक ठाउँमा जानु पर्ने बाध्यताको अन्त्य गर्दै भन्सार विन्दुमै पर्यटकहरुलाई एकद्वार प्रणालीबाट सेवा दिनु पर्ने, अन्तर्राष्ट्रिय विमानस्थलमा थप उडानहरु गर्न सरकारले समन्वय गर्नुपर्ने, बताउनु भएको थियो । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले पर्यटनको विषयमा राज्य उदासिन नभई गम्भीर हुन जरुरी रहेको बताउनु भएको थियो  । 

सीमा प्रवेश गर्ना साथ पार्किङको समस्या देखि लिएर विचौलियाहरुले भन्सार विन्दुमै पर्यटकहरुलाई खिन्न बनाउने कार्यको सबै मिलेर समाधान गर्नु पर्ने, २४ घण्टा सेवा दिनुपर्ने, पर्यटन व्यवसायलाई कार्यान्वयनमा ल्याउनु पर्ने, रुट परमिटलाई सहज बनाउनु पर्नेमा सरकारी निकायको ध्यान पुग्नुपर्ने माग गरिएको थियो  । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले पर्यटन र व्यवसायीहरुले उठाएका समस्याहरुको समाधान गर्ने तर्फ लाग्ने बताए । केही समस्या सानो भएपनि तत्कालै समाधान हुने भएकोले त्यसतर्फ आफू लाग्ने, मापपदण्ड पूरा गरेर र सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै रात्रिकालिन बजारका लागि समन्वय गर्ने  र आफुबाट हुन नसक्ने समस्याको समाधानका लागि माथिल्लो निकायमा जानकारी गराई समाधान गर्ने प्रतिबद्धता जनाए । 

संघका का.स.स तथा पर्यटन ब्यवसाय प्रवर्द्धन उप समितिका संयोजक श्री संजय बजिमयले संचालन गरिएको कार्यक्रमा उपस्थित सबैलाई धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठज्यूले गर्नु भएको थियो । कार्यक्रममा जिल्लाका सुरक्षा निकायका प्रमुख, पर्यटन, भन्सार, श्रम कार्यालय, निजी क्षेत्रका संघसंस्थाका प्रतिनिधि, पर्यटन व्यवसायी पत्रकारहरुको सहभागिता रहेको थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by