Jul 13, 2022
महासंघ सचिवालयमा भारतीय राजदूतको स्वागत–भारतको गहुं चिनि लगायतका वस्तुको निर्यात प्रतिवन्ध नेपालका लागि होइन, भारतीय राजदूुत श्रीवास्तव (२०७९/०३/२९)

भारत सरकारले गहु, चिनि लगायत केही वस्तुहरूमा लगाएको निर्यात प्रतिबन्ध नेपालको हकमा लागू नहुने कुरा नेपालमा लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले स्पष्ट पार्नुभएको छ । 

नवनियुक्त भारतीय राजदूत श्रीवास्तवले नेपाल उद्योग वाणिज्य महासंघद्वारा आज उहांको सम्मानमा महासंघ सचिवालयमा आयोजना गरिएको औपचारिक भेटवार्तामा सो कुरा बताउनु भएको हो । 



राजदूत श्रीवास्तवको महासंघ सचिवालयमा अध्यक्ष शेखर गोल्छाले स्वागत गर्नुभएको थियो । स्वागत मन्तव्यका क्रममा अध्यक्ष गोल्छाले भारत सरकारकातर्फबाट केही अत्यावश्यक वस्तुहरूको निर्यातमा प्रतिवन्ध लगाउने निर्णय भएपछि नेपाली उद्योगहरूलाई समस्या उत्पन्न हुन थालेको बताउनु भएको थियो । 

भारत सरकार, भारतसंगै नेपालको पनि आर्थिक विकास हुनुपर्छ भन्ने पक्षमा छ । तपाईहरूको प्रगतिको हरेक प्रयासमा सहयोग गर्न भारत सदैव तयार छ, राजदूत श्रीवास्तवले भन्नुभयो– हामी दुवै देश ज्वाइन्ट भेन्चर जसरी नै काम गर्न चाहान्छौं । 

महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालमा लगानी विस्तार, व्यापारिक नाकाहरूको पूर्वधार विकास, प्रयोगशालाहरूको स्तरीकरण तथा थप ल्यावहरूको विस्तार, गैर भंसार अवरोधहरूका विषयलाई बैठकमा मुख्य रूपमा उठाउनु भएको । अध्यक्ष गोल्छाले नेपालको भारतसंगको व्यापार घाटा नेपालका लागि चिन्ताको विषय भएकाले व्यापार घाटालाई कम गर्ने कार्यमा भारतीय सहयोग अपरिहार्य रहेको पनि बताउनु भयो । लामो समयदेखि मीरगंज पुल बन्न नसकेकोतर्फ ध्यानाकर्षण गराउदै अध्यक्ष गोल्छाले निर्माणका लागि आग्रह गर्नुभयो ।  

त्यसका लागि नेपालमा भारतीय संयुक्त लगानी विस्तार, मुख्य नाकासम्म रेलमार्गको विस्तार, प्रयोगशालाको अभावमा कृषिजन्य उत्पादनहरूको निर्यातमा हुने गरेको ढिलाईलाई भारत सरकारले सम्बोधन गर्नुपर्ने बताउनुभएको थियो । गैर भन्सार अवरोधका कारण मुख्यतया कृषिजन्य उत्पादन र जडिवुटि निर्यातमा समस्या देखिएको छ ।  यसैगरि तेस्रो मुलुकसंगको व्यापारका लागि थप दुई बन्दरगाहको प्रयोग गर्ने सुविधाका लागि पनि उहाले आग्रह गर्नुभएको थियो । 



सडक, रेल, हवाई र साथै डिजिटल कनेन्टीभीटीमा देखापरेका समस्याहरूको समाधान गर्दै नेपालको अर्थतन्त्रलाई मजवूद बनाउन भारत सरकार तयार छ उहांले भन्नुभयो ल्याव टेष्टका सम्बन्धमा भारत सरकारले रक्सौलमा अन्तराष्ट्रियस्तको ल्याव स्थापना भएको, काठमाडौंमा रहेको ल्यावलाई भारतमा एक महिनाभित्रै मान्यता दिने गरि काम भैरहेको बताउनुभयो । अर्को ल्याव उपयुक्त स्थानमा बनाउन आफूले नेपालका वाणिज्य मन्त्री समक्ष अनुरोध गरेको पनि उहांले बताउनु भयो । यसमा महासंघकातर्फबाट पनि नेपाल सरकारमा प्रयास हुन सुझाव दिनु भयो । 

गैर भंसार अवरोधका सम्बन्धमा महासंघले राखेका गुनासाहरूतर्फ आफ्नो ध्यानाकर्षण भएको र त्यस प्रकारको अवरोध भएको आफूलाई थाहा नभएकाले त्यस्ता समस्या छन् भने आफुले समाधान गर्ने प्रतिवद्धता जनाउनु भयो । 

अध्यक्ष गोल्छाले महासंघले नेपाल सरकार, भारत सरकार, लगानी बोर्ड नेपाल, भारतीय उद्योग परिसंघको सहकार्यमा काठमाडौंमा नेपाल भारत लगानी सम्मेलन आयोजना गर्ने कार्यलाई अगाडि बढाएकाले सहयोग गर्न अनुरोध गर्नु भएपश्चात राजदूतले यस कार्यमा पूर्ण सहयोग रहने प्रतिवद्धता जनाउनु भयो । 

महासंघका उपाध्यक्षहरू दिनेश श्रेष्ठ, रामचन्द्र संघई, कार्यकारिणी समितिका सदस्यहरू, विभिन्न संघका अध्यक्षहरू, महासंघका महानिर्देशक समेतको उपस्थिति रहेको उक्त भेटवार्तामा उपाध्यक्ष दिनेश श्रेष्ठले धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको थियो ।

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by