Jun 26, 2022
टेलिकमको सेवा सम्बन्धमा संघमा छलफल

भरतपुर,

नेपाल टेलिकमले प्रदान गर्दै आइरहेको सेवाका सम्बन्धमा आज संघको सचिवालयमा छलफल गरियो । नारायणगढको बिभिन्न बजार क्षेत्र र चेम्बर मार्ग आसपासको क्षेत्रमा मोबाईल नेटवर्कले राम्रो काम नगरेको व्यवसायीक गुनासो आएकोले संघले आज उक्त छलफल कार्यक्रमको आयोजना गरेको हो । 

छलफल कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष सुमन कुमार श्रेष्ठले प्रविधिको बर्तमान समयमा मोवाईल नेटवर्कले काम नगर्नु दुखद भएको बताउंदै यथाशक्य छिटो मर्मत तथा आवश्यक प्रविधि थप गर्नका लागि अनुरोध गर्नुभयो । 

कार्यक्रममा नेपाल टेलिकम भरतपुरका प्रमुख नविनकुमार मिश्रले नेपाल टेलिकमले ग्राहकको सुविधालाई सदैव मध्येनजर राखेको बताउंदै उक्त क्षेत्र भित्रको समस्या प्राविधिक टोली झिकाई एक हप्ता भित्रमा समाधान गर्ने बताउनु भयो । उहांले व्यवसायीका समस्या समाधानका लागि आफु सदैव तयार रहेको बताउनु भयो । 

सोही कार्यक्रममा संघका पूर्व अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य सहन लाल प्रधानले बर्तमान प्रतिष्पर्धात्मक समयमा सेवा प्रदायक संस्थाहरुले आफुलाई सदैव चुस्त राख्नुपर्ने र गुणस्तरमा कहिल्यै सम्झौता गर्न नहुने बताउनु भयो । 

कार्यक्रममा संघका प्रथम उपाध्यक्ष चिरञ्जिवि सुवेदी, कार्यकारी निर्देशक निलबहादुर केसी, नेपाल टेलिकमका गेहेन्द्र सुवेदी, शैलेन्द्र पौडेल लगायत चेम्बर रोडका व्यवसायीहरुको समेत उपस्थिति रहेको थियो । सोहि अवसरमा नेपाल टेलिकमको तर्फबाट संघको सचिवालयको लागि एक थान मल्टिपल चार्जिङ सिस्टम हस्तान्तरण गरिएको थियो । 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by