Mar 23, 2022
उवासंघ चितवनको अभिमुखिकरण कार्यक्रम

९ चैत, भरतपुर। 

उद्योग वाणिज्य संघ–चितवनले संघको सचिवालयमा एक दिवसिय अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । चितवन जिल्लाबाट भारत र तेश्र्रो मूलुकमा वस्तु तथा उत्पादन निर्यात गर्ने कम्पनीका प्रमुख एवम् सचिवालयका कर्मचारीहरुलाई लक्षित गरी अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको हो । 

कार्यक्रमको औपचारिक उद्घाटन गर्दै संघका प्रथम उपाध्यक्ष चिरञ्जिवि सुवेदीले नेपालको उत्पादन वाह्य बजारमा निर्यात गर्दा उक्त वस्तु नेपालमा उत्पादन भएको हो भन्ने प्रमाणको रुपमा उत्पत्तिको प्रमाणपत्र आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा उपाध्यक्ष सुवेदीले उद्योग वाणिज्य संघ–चितवनले निर्यात प्रबर्द्धनका लागि चितवन जिल्लाका उद्योग र उद्योगबाट उत्पादन भएका वस्तुहरुलाई वाह्य बजारमा विक्रि वितरण गर्नका लागि अध्ययन गरी छिट्टै नै उत्पादक, आयातकर्ता र निर्यातकर्ता विचको अन्तरक्रियात्मक भेला आयोजना गर्न लागिएको बताउनु भयो । उहाँले उत्पादकत्वमा जोड दिई आयातलाई निरुत्साहित गर्नुपर्ने बताउनु भयो । 

कार्यक्रममा संघका तृतीय उपाध्यक्ष सिरिस पन्तले हाल चितवनबाट तेल, वियर, कोक, चाउचाउ, मह लगायतका उत्पादन अन्तर्राष्ट्रिय बजारमा निर्यात हुने गरेको बताउंदै यसमा बृद्धि हुन पर्नेमा जोड दिनु भयो । 

सोही कार्यक्रममा संघका कार्यकारी निर्देशक निलबहादुर केसीले नेपाल सरकारले नेपाल उद्योग वाणिज्य महासंघ मार्फत विगत केहि बर्ष देखि उत्पत्तिको प्रमाणपत्र निस्कासन गर्नका लागि उद्योग वाणिज्य संघ–चितवनलाई अनुमति दिएको बताउंदै उक्त कार्य सूचना प्रविधिको सदुपयोग गर्दै छिटो, छरितो र समयानुकुल बनाउनका लागि अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । कार्यक्रममा कार्यकारी निर्देशक केसीले उक्त अभिमुखिकरण तालीम पश्चात सचिवालयबाट प्रवाह गर्ने सुविधा चुस्त र छरितो हुने बताउनु भयो । 

सोही कार्यक्रममा बोल्दै कार्यक्रमका सहजकर्ता नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ अधिकृत मिलभ श्रेष्ठले हालका दिनहरुमा कागजी प्रक्रियालाई निरुत्साहित गर्दै विद्युतिय माध्यमबाट उत्पत्तिको प्रमाणपत्र निस्कासन गर्न लागिएको बताउंदै यस किसिमको कार्यक्रम महत्वपूर्ण र उपलव्धीमूलक हुने कुरामा जोड दिनु भयो ।

कार्यक्रममा विभिन्न कम्पनीका प्रमुख एवम् प्रतिनिधि, संघका सम्बन्धित कर्मचारी लगायत २० जनाको सहभागिता रहेको संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी दिनुभयो । अभिमुखिकरण कार्यक्रममा संघका उपाध्यक्ष सिरिष पन्त, कार्यसमिति सदस्य रजनी मास्के, रबिन्द्र कुमार श्रेष्ठ,डा. जीवन कुमार श्रेष्ठ, सन्तोषजनक भुषाल, पूर्णिमा श्रेष्ठको उपस्थिति रहेको थियो । 


 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by