Mar 18, 2022
उवासंघ–चितवनका पदाधिकारीको कार्य विभाजन एवम् सचिवालयको स्वागत कार्यक्रम


चैत ४, भरतपुर । 

उद्योग वाणिज्य संघ–चितवनको नवनिर्वाचित पदाधिकारीको कार्य बिभाजन भएको छ । संघको हालै सम्पन्न ५५ औं वार्षिक साधारण सभा एवम् अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको आज पद एवम् कार्य विभाजन भएको हो । संघको सचिवालयमा आज बसेको कार्य समितिको पहिलो वैठकले कार्य विभाजन गरेको हो । जस अनुसार संघका निवर्तमान अध्यक्ष राजु श्रेष्ठ स्थानिय निकाय समन्वय एवम् वैदेशिक लगानी प्रबद्र्धन समिति, वरिष्ठ उपाध्यक्ष सुमन कुमार श्रेष्ठ, कर तथा राजश्व परामर्श समिति हेर्ने हुनुभएको छ । 

यसै गरी संघमा हालै निर्वाचित उपाध्यक्षहरुमा प्रथम उपाध्यक्ष चिरञ्जिवि सुवेदी, द्वितीय उपाध्यक्षमा राजेन्द्र ओली र तृतीय उपाध्यक्षमा सिरिष पन्तलाई आजको कार्य समितिले पद विभाजन गरेको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले बताउनुभयो । संघको विधान अनुरुप प्रथम उपाध्यक्षले लेखा तथा आर्थिक प्रशासन, द्वितीय उपाध्यक्षले सचिवालय र तृतीय उपाध्यक्षले वस्तुगत संघ, क्षेत्रिय संघ एवम् कर्पोरेट विभाग सम्हाल्ने सचिवालयले जनाएको छ । 

संघको पहिलो बैठकलाई सम्बोधन गर्दै संघका नवनिर्वाचित अध्यक्ष चुननारायण श्रेष्ठले चुनावी माहोलमा जो–जसरी निर्वाचित भएतापनि संघमा सबैको आवाज एउटै हुनुपर्ने र नितान्त व्यवसायिक समस्या सम्बोधनमा लाग्नु पर्ने बताउनु भयो । पहिलो वैठकलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले संघको गुणस्तर नीति, र उद्देश्य अनुरुपमा कार्य आयोजना गर्ने बताउंदै कार्यकाललाई सफलताका साथ सम्पन्न गर्नका लागि कार्यसमितिबाट रचनात्मक सहयोगको अपेक्षा गरेको बताउनु भयो । 

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले सहमति र सहकार्य नै सफताको कडि भएको बताउंदै बर्तमान कार्यसमिति सोहि अनुरुप रहने बताउनु भयो । 

सोहि वैठकलाई सम्बोधन गर्दै संघका पूर्व अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य सहन लाल प्रधानले विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गरेका व्यवसायीको संलग्नता सहितको समिति भएकोले आ–आफ्नो दक्षता, क्षमता र अनुभवलाई संघको हितमा लगाउन अपिल गर्नुभयो । कार्यक्रममा उपस्थित सदस्यहरुले कार्यकाललाई सफलताका साथ सम्पन्न गराउनमा आफुहरु प्रतिवद्ध रहेको बताउनु भएको थियो । संघले लगत्तै बृहत कार्ययोजना तर्जुमा गोष्ठिको आयोजना गरी आगामी २ बर्षको लागि कार्यक्रम तय गरी कार्यान्वयन गरिने संघका अध्यक्ष चुननारायण श्रेष्ठले जानकारी दिनुभयो ।  
 
सचिवालयको स्वागत कार्यक्रम



संघको हालै सम्पन्न अधिवेशनबाट निर्वाचित अध्यक्ष, पदाधिकारी एवम् कार्य समितिलाई संघको सचिवालयले स्वागत गरेको छ । संघको सचिवालयमा एक कार्यक्रमको आयोजना गरि स्वागत गरिएको हो । 

संघका कार्यकारी निर्देशक निलबहादुर केसीले स्वागत गर्दै सचिवालय र कार्य समिति विचको सम्बन्ध विगतका दिनहरुमा झैं अझ बढि परिस्कृत र सुमधुर रहने बताउनु भयो । स्वागत ग्रहण गर्दै संघका अध्यक्ष चुननारायण श्रेष्ठले सचिवालय व्यवस्थापन र सुदृढिकरणमा आफु लागि रहने बताउनु भयो । संघका कार्यकारी निर्देशकको नेतृत्वमा सचिवालयका सम्पूर्ण कर्मचारीले समितिलाई स्वागत गरेका थिए । 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by