Feb 14, 2022
दक्षिण एसियाली महिला विकास मञ्च प्रतिनिधीद्वारा सम्माननीय प्रधानमन्त्रीसंग भेटवार्ता

दक्षिण एसियाली महिला विकास मञ्चकी अध्यक्ष- श्रीमती प्रमिला आचार्य रिजाल, नेपाल महिला उद्यमी महासंघकी वरिष्ठ उपाध्यक्ष-श्रीमती शोभा ज्ञवाली, महिला उद्यमी विकास समितिकी सभापति - श्रीमती रीता सिम्हा, महिला उद्यमी मञ्चकी संयोजक श्रीमती  छाया शर्मा र महिला उद्यमी हरित औद्योगिक पार्क समितिकी सभापति श्रीमती शारदा रिजाल सम्मिलित प्रतिनिधिमण्डलले सम्माननीय प्रधानमन्त्री तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री कार्यालय बालुवाटारमा २०७८ माघ २९ गते भेटवार्ता गरेको छ ।

SAWDF अध्यक्ष प्रमिला आचार्य रिजालले नेपालमा महिला औद्योगिक पार्क स्थापना गरी महिला उद्यमशीलतालाई बढावा दिने साझा लक्ष्यसहितको संयुक्त ज्ञापनपत्र प्रधानमन्त्रीलाई हस्तान्तरण गरेकी छिन् । नेपाल सरकारले ७७ वटै जिल्लामा औद्योगिक ग्राम स्थापना  गर्ने व्यवस्था गरेको छ । औद्योगिक ग्राम घोषणा तथा सन्चालन सम्बन्धी  कार्यविधि, २०७५ दफा ८.१ मा महिला उद्यमी बिशेष  औद्योगिक ग्रामको प्रावधान अनुसार,  “महिला उद्यमीलाइ उद्योगतर्फ़ आकर्षित र प्रोत्साहन गर्न महिला उद्यमीले मात्र उद्योग स्थापना गर्न पाउने गरी नेपाल सरकारले यस कार्यविधिको प्रावधान अनुरुप महिला उद्यमी बिशेष औद्योगिक ग्राम घोषणा गर्न सक्नेछ” भने पनि अहिलेसम्म घोषणा गरिएको छैन ।

दक्षिण एसियाली महिला विकास मञ्च, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र पाँचखाल नगरपालिकासँगको (PPP model),  सहकार्यमा नेपालमा हरित औद्योगिक अवधारणालाई एकीकृत रूपमा जलवायु परिवर्तन अनुकूलन उपायहरू प्रवर्द्धन गर्न प्रथम महिला उद्यमी हरित औद्योगिक पार्क (Women Entrepreneurs Green Industrial Park) स्थापना भइरहेको छ जसलाई "कृषि पर्यटन पार्क" को रूपमा प्रवर्द्धन गरिनेछ। सेवा क्षेत्रलाई पर्यटनमा केन्द्रित गरी कृषि खाद्य क्षेत्रसँग सम्बन्धित ५०–६० साना उद्योग स्थापना गरिनेछ । आयोजनाको गुरुयोजना र विस्तृत परियोजना प्रतिवेदन सम्पन्न भइसकेको छ ।यस कृषि पर्यटन पार्कले लैङ्गिक समानता र महिला आर्थिक समावेशीकरणलाई समर्थन गर्ने नेपालको संविधान २०७२ को दायरा भित्र छ । परियोजनाले स्थानीय रूपमा दिगो विकास लक्ष्य (SDGs) र नेपालको राष्ट्रिय निर्धारित योगदान (NDC) मा योगदान पुर्‍याउँछ ।

महिला उद्यमी संघ/परिषद र समितिका प्रतिनिधिहरुले नेपाल सरकारलाई यो प्रथम महिला उद्यमी हरित औद्योगिक पार्कको घोषणा गर्न र  यस आयोजनाको सफल कार्यान्वयनक लागि बजेट विनियोजन गर्न अनुरोध गरेका छन् । यसका साथै  प्रतिनिधिमण्डलले बाँकी ६ वटै प्रदेशमा हरित महिला उद्यमशील औद्योगिक पार्क घोषणा गर्न अनुरोध गरेको छ । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by