Feb 02, 2022
उद्योग वाणिज्य संघ–चितवनको ६२ औं स्थापना दिवस बिभिन्न कार्यक्रम सहित मनाईयो

१९ माघ, भरतपुर । 

उद्योग वाणिज्य संघ–चितवनले विविध कार्यक्रमको आयोजना गरि ६२ औं स्थापना दिवस मनायो । स्थापना दिवसको अवसरमा संघको सचिवालयमा औपचारिक कार्यक्रम सहित नि:शुल्क स्वास्थ्य परिक्षण तथा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । 

स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष राजु श्रेष्ठले २०१६ सालमा स्थापित उद्योग वाणिज्य संघ चितवनलाई आजको अवस्थामा ल्याइपुर्‍याउनको लागि अग्रजहरुले खेल्नु भएको भूमिकाको प्रशंसा गर्दै संघ अग्रजहरुको मार्ग निर्देशन र सरसल्लाह बमोजिम अगाडि बढ्ने बताउनु भयो । कार्यक्रममा अध्यक्ष श्रेष्ठले यस क्षेत्रको कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनको विकासमा संघले निरन्तर कार्यक्रम आयोजना गरेको बताउंदै आगामी दिनहरुमा पनि अझ सशक्त रुपमा यस क्षेत्रका कार्यक्रमहरु आयोजना गरिने बताउनु भयो । उहाँले सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गत संघले गरेका व्यवसायिक हित लगायत पूर्वाधार विकासका कार्यक्रमहरु अनुकरणिय रहेको बताउनु भयो । शुभकामना मन्तब्य व्यक्त गर्दै अध्यक्ष श्रेष्ठले स्थापना दिवसको अवसरमा संघमा आवद्ध सम्पूर्ण सदस्यहरुको व्यवसायिक सफलताको शुभकामना व्यक्त गर्नु भयो । 

कार्यक्रममा प्रमुख अतिथि एवम् संघका पूर्व अध्यक्ष के.एल. भुषणले विगतका दिनहरुलाई स्मरण गर्दै नेपाल उद्योग वाणिज्य महासंघको स्थापना हुनुभन्दा पहिला नै परिकल्पना गरिएको यस संघले लामो यात्रापार गर्न सफल भएको बताउनु भयो । उहाँले व्यवसायीको हक, हितको संरक्षण, संबर्द्धन र प्रबर्द्धन गर्दै व्यवसायिक ऐक्यवद्धता जाहेर गर्ने उद्देश्यले स्थापित उद्योग वाणिज्य संघ चितवन आज यस क्षेत्रको सामाजिक, आर्थिक एवम् सांस्कृतिक विकासको संवाहकको रुपमा स्थापित भएको बताउंदै अग्रज लगायत पूर्व कार्यसमिति र बर्तमान कार्य समिति प्रति हार्दिक आभार ब्यक्त गर्नु भयो । सोहि कार्यक्रममा बोल्दै संघका निबर्तमान अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य सहन लाल प्रधानले निजी क्षेत्रको प्रतिनिधिमूलक यस संस्थाले वर्गीय हितका साथसाथै सामाजिक उत्तरदायित्वका थप कार्यहरु सम्पन्न गरेको बताउंदै आगामी दिनहरुमा पनि समय सापेक्ष अरू कार्यहरु सञ्चालन गर्नका लागि अनुरोध गर्नुभयो । 

उहाँले निजी क्षेत्रका समस्या समाधानका लागि उवासंघ चितवन र नेपाल उद्योग वाणिज्य महासंघ सदैव क्रियासिल रहने बताउनु भयो । स्थापना दिवसको कार्यक्रममा संघले ६२ वटा दिप प्रज्वलन गरेको थियो । स्थापना दिवसको अवसरमा आयोजित नि:शुल्क स्वास्थ्य परिक्षण कार्यक्रममा ७० जना व्यवसायीहरुले आफ्नो स्वास्थ्य परिक्षण गरेका छन् । कार्यक्रममा संघका पूर्व अध्यक्ष प्रचण्ड लाल प्रधान, उत्तम लाल चुके ,डा. तिलचन्द्र भट्टराई, कल्याण जोशी लगायत कार्यसमिति सदस्य, वस्तुगत संघका अध्यक्ष, संघका साधारण सदस्य लगायतको उपस्थिति रहेको थियो । संघमा आयोजित स्वास्थ्य परिक्षण एवम् रक्तदान कार्यक्रमको लागि नेसनल सिटि हस्पिटल भरतपुर तथा रक्त सञ्चार केन्द्र भरतपुरले सहयोग गरेको सचिवालयले जनाएको छ । उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रम संघका कार्यकारी निर्देशक निलबहादुर केसीले सञ्चाल नगर्नु भएको थियो । 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by