Feb 01, 2022
महासंघ अध्यक्ष र राजदूत आचार्य बीच भेटवार्ता – बेलायतसंग व्यापार सम्झौता प्राथमिकता (२०७८/१०/१८)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बेलायतसंग लगानी र व्यापार विस्तार प्राथमिकतामा रहनुपर्ने बताउनु भएको छ । बेलायतका लागि नेपाली नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यसंगको भेटमा अध्यक्ष गोल्छाले पुरानो सम्बन्ध भएपनि बेलायतबाट न्युन लगानी भएको हुंदा सम्भावना पहिल्याउन सकिने बताउनु भयो । भेटवार्तामा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको पनि सहभागिता थियो । 

पछिल्लो समय व्यापार पुर्वाधारमा भइरहेको प्रगति, विद्युतको सहज आपुर्ति र श्रम सम्बन्धमा भइरहेको सुधारले नेपालमा लगानीको अवसर बढेको अध्यक्ष गोल्छाले बताउनुभयो । पुर्वाधार, श्रम सम्बन्ध, विद्युत आपुर्ति आदिमा उल्लेख सुधार भइरहेको छ, उहाँले भन्नुभयो, हामीले बेलायतमा यी बिषय प्रस्तुत गर्न सक्नुपर्छ ।

नवनियुक्त राजदूत आचार्यले आफ्नो कार्यकालमा नेपाल बेलायत व्यापार सम्झौता प्राथमिकतामा रहने बताउनुभयो । बेलायत अब इयुबाट हटिसकेपछि हामीले छुट्टै सम्झौताको कुरा उठाइरहेका छौ, उहाँले भन्नुभयो, यो मेरो प्राथमिकतामा रहेको बिषय हो । 

राजदूत आचार्यले महासंघले तयार पारेको राष्ट्रिय आर्थिक रुपान्तरण (भिजन पेपर) र अतिकम बिकसित मुलुकबाट स्तरोन्नति हुंदा निजी क्षेत्रमा पर्ने प्रभावबारे गरेको अध्ययनले आफूलाई निजी क्षेत्रको धारणा बुझ्न र यी बिषयमा काम गर्न सहज हुने बताउनुभयो । 

महासंघका बरिष्ठ उपाध्यक्ष ढकालले गैर आवासिय नेपालीहरूलाई नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्न अनुमति दिइएकोले यसको सदुपयोग गर्नुपर्ने बताउनु भयो । यसले तरलता अभावको अहिलेको अवस्था केहि सहज हुनेछ, उहाँले भन्नुभयो, दुतावासबाट यसबारे जानकारी दिएर बेलायतमा प्रचार प्रसार गर्न सकिन्छ ।  


 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by