Dec 12, 2021

नेपाल उद्योग वाणिज्य महासंघले आगामी वुधबार काठमाडौंमा कोभिड पश्चातको नव उत्थान सम्मेलन (Post Covid Revival Conference) को आयोजना गर्दैछ । विश्वव्यापीरूपमा देखापरेको कोभिड १९ को महामारी प्रकोपबाट अर्थतन्त्रमा परेको प्रभावका साथै अर्थतन्त्रलाई अझबढी गतिशिल तथा चलायमान बनाउन हुनुपर्ने व्यवस्थाहरू सहित छलफल गर्ने उद्देश्यले महासंघले उक्त सम्मेलनको आयोजना गर्न लागेको हो । 

कोभिड–१९ बाट बढी प्रभावित क्षेत्रहरू पर्यटन तथा मनोरञ्जन, साना, घरेलु तथा मझौला उद्यम व्यवसाय, निर्यातका साथै बैंकिङ क्षेत्रमा केन्द्रित रहेर उक्त सम्मेलन आयोजना गरिने छ । सम्मेलनको मुख्य थिम बदलिंदो परिस्थितिमा तिव्र र दिगो आर्थिक बृद्धिको वहस रहेको छ ।  

सम्मेलन, अर्थतन्त्रलाई पुन: चलायमान कसरी बनाउने, समस्या समाधानका उपायहरू के–के हुन सक्छन, कसरी थलिएको व्यवसाय क्षेत्रलाई पुनरूत्थान मात्र नभई व्यवसायमा थप उर्जा  भर्न सकिन्छ भन्ने विषयमा केन्द्रीत हुनेछ । 

सम्मेलनको प्रमुख अतिथि नेपाल सरकारका अर्थमन्त्री माननीय जनार्दन शर्मा हुनुहुने छ । महासंघको सचिवालय टेकूमा मंसिर २९ गते बुधबार, विहान ९:३० बजेदेखि शुरु हुने सम्मेलन सांझ ६ बजेसम्म चल्ने छ । सम्मेलनको उद्घाटन शत्रलाई माननीय अर्थमन्त्री शर्मा, महासंघका अध्यक्ष शेखर गोल्छा, आइएलओ नेपालका निर्देशक डा. रिचर्ड हवार्ड र महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले संवोधन गर्नु हुनेछ ।

उदघाटन पछिको पहिलो शत्रको अध्यक्षता नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गर्नुहुनेछ । महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले निर्यात र बैकिङ क्षेत्रमा कार्यपत्र प्रस्तुत गर्नुहुने उक्त शत्रमा नेपाल बैकर्स संघका अध्यक्ष अनिल उपाध्यायले आफनो धारणा राख्नु हुनेछ ।
 
अर्को प्राविधिक शत्र निर्यात प्रवद्र्धनका विषयमा हुनेछ भने सो शत्रको अध्यक्षता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले गर्नुहुनेछ । महासंघका उपाध्यक्ष रामचन्द्र संघाईले कार्यपत्र प्रस्तुुत गर्नुहुने उक्त शत्रमा निर्यातकर्ता सुनिता शेर्पाले आफनो धारणा राख्नु हुनेछ । 

त्यस्तै अर्कोशत्र लघुु, घरेलु तथा साना उद्योग प्रवद्र्धनका विषयमा हुने छ । उक्त शत्रको अध्यक्षता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले गर्नुुहुनेछ । महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले सम्बन्धित विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुनेछ भने उद्यमी श्याम वदन श्रेष्ठ र आइएलओ जेनेभाबाट एसएमइज बीज्ञले आफनो धारणा राख्नु हुनेछ ।

चौथो शत्र पर्यटन तथा मनोरन्जन क्षेत्रको हुने छ । उक्त शत्रको अध्यक्षता संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले गर्नुहुनेछ । महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले कार्यपत्र प्रस्तुती गर्नुहुने छ । वरिष्ठ कलाकार निर्देशक निर विक्रम शाहले मन्तव्य राख्नु हुनेछ । 

समापन कार्यक्रममा महासंघका अध्यक्ष गोल्छाले सम्मेलनको निश्कर्ष प्रस्तुत गर्नुहुने छ भने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल र अर्थमन्त्रालयका सचिव मधु मरासिनीले संवोधन गर्नुहुनेछ ।  

सम्मेलन पूर्व महासंघका सम्बन्धित समितिले यी विषयमा गहन छलफल गरी प्रतिवेदन तयार पारेका थिए । उक्त प्रतिवेदनमा सम्मेलनका क्रममा आएका सुझाव समेत समावेश गरी समापन शत्रमा योजना आयोग र अर्थमन्त्रालयलाई बुझाइने छ । साथै सम्बन्धित मन्त्रालय र निकायहरूमा पनि सम्मेलनबाट आएका सुझावहरू बुझाइने कार्यक्रम छ ।  

सम्मेलनमा पेश गरिने दस्तावेज महासंघका समिति सभापतिहरू क्रमश ज्योत्सना श्रेष्ठ (पर्यटन समिति), डीवी बस्नेत (घरेलु तथा साना उद्योग समिति), मनिषलाल प्रधान (निर्यात प्रवर्द्धन समिति), शाहिल अग्रवाल (बैकिङ समिति) र आकाश अधिकारी (चलचित्र तथा मनोरन्जन फोरम) को अग्रसरतामा यस अघिनै तयार गरीसकेको छ ।  

सम्मेलनबाट क्षेत्रगत रूपमा आएका सुझावहरूलाई समेटी तत्काल कार्यान्वयनमा लैजान सरकारका सम्बन्धित अधिकारीहरू समक्ष पेश गरिने कार्यक्रम छ । कार्यक्रममा सरकारी अधिकारीहरू, वित्तिय क्षेत्रका पदाधिकारीहरू, महासंघका पदाधिकारीहरू, पूर्व अध्यक्षहरू, कार्यकारिणी समितिका सदस्यहरू, परिषद्का पदाधिकारीहरू, समिति तथा फोरमका सभापतिहरू, समिति फोरमका पदाधिकारी, सदस्य एवं सल्लाहकारहरू, उद्यमी व्यवसायीहरू, संचारमाध्यमको सहभागिता रहने छ । 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by