Apr 27, 2021
नेपाल उद्योग वाणिज्य महासंघको अपिल (२०७८/१/१४)

पछिल्लो पटक कोभिड १९ संक्रमण तीव्ररुपमा बढेसंगै सरकारबाट आम जनताको स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई उच्च प्राथमिकतामा राखी मुलुकका विभिन्न स्थानमा निषेधाज्ञा जारि भएको छ । कोभिडको दोस्रो लहरले निम्त्याएको यस असहज परिस्थितिप्रति निजी क्षेत्र पनि अत्यन्त चिन्तित र संवेदनशील छ । कोभिड महामारीको पहिलो लहर र त्यसलाई रोक्न लगाइएको लकडाउन र निषेधाज्ञाले अर्थतन्त्रमा पुर्याएको क्षति सर्वविदितै छ । गत आर्थिक बर्षमा १.९९ र चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ४.६ प्रतिशतले अर्थतन्त्र ऋणात्मक रह्यो । 

दोस्रो त्रैमास देखि तंग्रिन थालेको अर्थतन्त्रमा फेरि संक्रमण बढदै जादा असर पर्ने देखिएको छ । सरकार, निजी क्षेत्र सहित आम जनता सवैको अहिलेको प्रमुख दायित्व फेरि पनि संक्रमणलाई फैलिन नदिइ अर्थतन्त्रलाई पनि चलायमान बनाउनु हो । जनताको स्वास्थ्य सुरक्षाका लागि सरकारले चालेका सवै प्रयासमा सदाझै सहयोग गर्ने निजी क्षेत्रको प्रतिवद्धता छ । निशेधाज्ञाका समयमा आम जनताको दैनिकजीवन यापन सहज बनाउन, उनीहरूको दैनिक आवश्यकता पुरा गर्न, अत्यावश्यक खाद्यान्न लगायत स्वास्थ्य सामग्रीहरूको बजारमा सहज आपूर्तिमा निजी क्षेत्र सरकारसंगै छ । 

अतः उच्चतम स्वास्थ्य सतर्कताका साथ स्वास्थ्य सुरक्षाका सबै उपायहरू अलवम्वन गरी निशेधाज्ञाको समयमा पनि रोजगार रोजगारी नगुम्ने र आर्थिक गतिविधि संचालन सहज बनाउने वातावरणका लागि सरकार र निजी क्षेत्रको थप सहकार्य आवश्यक छ । यस्तो अवस्थामा आर्थिक महत्व बोकेका ठूला परियोजनाहरूको निरन्तर संचालनको सुनिश्चितता, उद्योग कलकारखानाहरूको संचालन आवश्यक छ । उत्पादित सामानहरूको सहज आपूर्ति, ढुवानी, बिक्री वितरण, कच्चा पदार्थको आयातमा सहजता सहित उद्योग व्यवसाय संचालनका लागि आवश्यक कामदार कर्मचारीहरूको आवतजावतलाई सहज बनाउन महासंघ सरकारसंग अनुरोध गर्दछ ।

यसैगरि निषेधाज्ञाका कारण रोजगारी गुमाएका अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूलाई राहतको व्यवस्था गर्न पनि महासंघ सरकारसंग आग्रह गर्दछ । रोजगारी गुमेका सर्वसाधारणलाई प्रधानमन्क्री रोजगार कार्यत्रम जस्ता योजनामा संलग्न गराई कामसंगै राहत उपलब्ध गराउन सकिने महासंघको धारणा छ ।

यसैगरि लघु घरेलु एवं साना तथा मझौला उद्योगका लागि गत बर्ष घोषणा भएको राहतको निरन्तरतासंगै नया लहरबाट सिर्जना हुने समस्या समाधानका लागि थप राहतका कार्यक्रम अहिले नै घोषणा गर्न महासंघ सरकारसमक्ष अनुरोध गर्दछ । 

यस संकटको घडिमा आम व्यवसायीले गत बर्षदेखि आपूर्ति व्यवस्था अवरुद्ध हुन नदिइ दिन रात सेवा प्रदान गर्नुभएकोमा महासंघ सम्पूर्ण निजी क्षेत्रप्रति आभार व्यक्त गर्दै यहाहरूको कामको सराहना गर्दछ । 

फ्रन्टलाइनमा बसेर सेवा र वस्तु उपलब्ध गराउने व्यवसायीलाई प्राथमिकतामा राखि खोप उपलब्ध गराउन पनि महासंघ सरकारसंग आग्रह गर्दछ । व्यवसाय संचालन गर्दा सम्पूर्ण स्वस्थ्य सतर्कता अपनाउन आम व्यवसायीहरूसमक्ष महासंघ अपिल गर्दछ । 

विगतमा झै यसपटक पनि संकटको बेलामा अनावश्यक संचिति र मूल्य वृद्धि नगरि आम सर्वसाधारणलाई सेवा प्रदान गर्न पनि महासंघ सम्पूर्ण व्यवसायीहरूलाई आग्रह गर्दछ । 

यसैगरि आवश्यक सामाग्रीहरूको आपूर्ति एवं वितरणका लागि उद्यमी व्यवसायीहरू निरन्तर क्रियाशील रहेको जानकारी गराउदै महासंघ आम उपभोक्ताहरूलाई पनि अनावश्यक संचिति नगरिदिन हुन पनि अपिल गर्दछ । 

सरकार निजी क्षेत्र र आम जनता एकजुट भएमा जोखिम कम गरि फेरि छिट्टै नै सहज अवस्थामा आफ्ना दैनिक काम गर्न सकिने महासंघको विश्वास छ । संक्रमण फैलिन नदिन र विरामीहरूको उपचारका लागि अस्थायी आइसोलेसन, क्वारिन्टीन र अस्पताल समेतको आवश्यकता पर्ने देखिएको छ । यसमा केन्द्र प्रदेशसंग स्थानिय तह पनि उत्तिकै संवेदनशील भई संक्रमण फैलिन नदिन र उपचार सेवा उपलब्ध गराउन तत्पर रहनुपर्ने देखिन्छ ।  

संकटको यस घडिमा नेपाल उद्योग बाणिज्य महासंघ सरकार एवं आम उपभोक्ताको साथमा रहेको प्रतिवद्धता जनाउदै आवश्यक सहयोग र सहकार्यका लागि सदा तत्पर रहेको जानकारी पनि गराउन चाहन्छ ।

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by