Feb 23, 2021
नयाँ प्रतिलिपि अधिकार ऐन ल्याउन माग, विद्यमान ऐनले समयको मागलाई संवोधन गर्न सक्दैन–सरोकारवाला (२०७७/११/११)
 
सरोकारवालाहरूले विद्यमान प्रतिलिपि अधिकार ऐन २०५९ र नियमावली २०६१ परिमार्जन गरी नयाँ ऐन ल्याउनु पर्नेमा जोड दिएका छन् । हालको कानूनी संरचना काम चलाउ मात्र भएको, यो अपर्याप्त समेत भएकोले नयाँ ऐन आवश्यक रहेको सुझाव उनीहरूको छ । मुलुक पूर्णत डिजिटलाइजेशनमा जाने तरखरमा रहेको अवस्थामा म्यानुअलको जमानामा ल्याइएको ऐनले अहिलेको आवश्यकतालाई संवोधन गर्न नसक्ने भनाई सरोकारवालाहरूको छ । 

यससंगै आवश्यक नियमावली र कार्यविधिहरू पनि तर्जुमा गर्नुपर्ने र रजिष्ट्रारको कार्यालयले नयाँ कानूनहरू तर्जुमा गर्न अग्रसरता लिनु पर्ने सुझाव सरोकारवालाहरूको छ । नेपाल उद्योग वाणिज्य महासंघद्वारा सरकार तथा सरोकारवाला निकायहरूको सहभागितामा महासंघ सचिवालयमा आयोजना गरिएको प्रतिलिपि अधिकारः कानूनी व्यवस्था र चुनौती विषयक छलफल कार्यक्रममा सहभागीहरुबाट सो सुझाव आएको हो । 

नयाँ ऐनमा रजिष्ट्रार तथा कार्यालयको भूमिका, अधिकार र जिम्मेवारी बढाएर प्रभावकारी बनाउन आवश्यक रहेको, प्रवर्द्धनात्मक कार्यक्रमहरू गर्न कन्जुस्याई गर्न नहुने र रजिष्ट्रार कार्यालयलाई आवश्यक साधन, स्रोत र प्रविधियुक्त बनाउनु पर्ने सुझाव कार्यक्रममा आएको थियो । 

कार्यक्रममा प्रतिलिपि अधिकार र रोयल्टी व्यवस्थापनमा नेपाल उद्योग वाणिज्य महासंघको अग्रसरतामा समस्या समाधान हुनुपर्ने, सरोकारवालाहरूलाई राखेर रोयल्टी संकलन तथा वितरण लगायतका विषयमा वार्ता, छलफल गराई सम्झौता गराउन महासंघले अग्रसरता लिनु पर्ने, यस कार्यको पहल सर्वप्रथम महासंघ अन्तरगतका संघहरूबाट आयोजना हुने मेला महोत्सवमा बजाईने रचनाहरूको रोयल्टी उठाउने कार्यबाट थालनी गर्नुपर्ने, मुलुकको गीत, संगित, चलचित्र सहित समग्र कला क्षेत्रको विकासका लागि सरकारले सर्भर सेन्टर (Server Center) स्थापनामा सहयोग गर्नुपर्ने लगायतको सुझाव समेत आएको थियो । 

त्यसैगरी कानूनी व्यवस्थामा सुधार गरेर रोयल्टी संकलन समाजको भुमिका सबल बनाउनु पर्ने, हालका रोयल्टी संकलन समाजहरू एकिकृत गरेर वा एकद्वार प्रणाली बनाई वा एउटै छत मुनी ल्याई छरितो, प्रभावकारी र कम खर्चिलो बनाउनु पर्ने, रोयल्टी संकलन समाज सक्षम नहुन्जेल सरकारबाट आर्थिक सहयोग समेत उपलब्ध गराउनु पर्ने सुझाव पनि सो अवसरमा दिइएको थियो ।  

त्यसैगरी प्रतिलिपि अधिकार धनी र प्रयोगकर्ताहरू दुवै पक्षलाई मर्का नपर्ने (वार्ता छलफल) गरी रोयल्टी दर रेट कायम गर्ने र प्रकाशन गर्ने गर्नुपर्ने, रोयल्टी वितरण मापदण्ड पनि न्यायोचित, व्यवहारिक र पारदर्शी बनाई नियमित रोयल्टी वितरण तालिका नै तयार गरी वितरण गरिनुपर्ने, पारदर्शिता, निर्णयमा सदस्यहरूको सहभागिता र नियमितता नै रोयल्टी संकलन समाजहरूको सामर्थ्यको आधार भएकाले यसलाई प्राथमिकतामा राखेर संस्थाहरू अघि बढनु पर्ने सुझाव समेत दिइएको थियो । 

कलाकार, स्रष्टा सर्जक, उद्यमी व्यवसायीहरू र सरकारी क्षेत्रका प्रतिनिधिहरू समेत गरि ७० जनाको सहभागिता रहेको सो कार्यक्रममा प्रतिलिपि अधिकार र यससंग सम्बन्धित कानूनी विषयमा व्यापक जनचेतना अभिवृद्धि गर्नुपर्ने र त्यसका लागि प्रतिलिपि अधिकार कार्यालयले नेतृत्व लिनुपर्ने सुझाव समेत आएको थियो । नेपाल उद्योग वाणिज्य महासंघले चलचित्र तथा मनोरञ्जन फोरम मार्फत मुलुकभित्र चलचित्र, गीत, संगीत क्षेत्रको प्रवर्द्धनको कार्य अगाडी बढाएको छ र यो कार्यक्रम पनि सोही अनुरुप आयोजना गरिएको हो ।  
कार्यक्रममा प्रमुख अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले कार्यक्रमबाट आएका सुझावहरूलाई एकत्रित गरी मन्त्रालयमा पेश गर्न आग्रह गर्दै त्यसलाई कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाउनु भयो । प्रतिलिपि अधिकार ऐनलाई समय अनुरुप संशोधन वा नयाँ ऐन ल्याउने कार्यमा पनि आफ्नो पूर्ण सहयोग रहने विश्वास दिलाउनु भयो । 

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले प्रतिलिपि अधिकार संरक्षणका क्षेत्रमा प्रभावकारी रुपमा काम गर्न सकियो भने गीत, संगित र चलचित्रको प्रवर्द्धनका साथै मुलुकभित्र वाह्य लगानी आकर्षणमा समेत सहयोग पुग्ने बताउनु भयो । पर्यटन उद्योगलाई माथि उठाउन अव सरकारले विशेष नीति तथा कार्यक्रम ल्याउनै पर्ने कुरामा जोड दिनुहुंदै वरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो–स साना सहयोगबाट अव यो क्षेत्र तङग्रने अवस्था देखिदैन यसका लागि ठूलै सहयोगको प्याकेज आवश्यक छ । 

प्रतिलिपि अधिकार रजिष्टार विष्णु कुमारी भट्टराईले विद्यमान कानून र नियमावलीमा संशोधन आवश्यक रहेको र संशोधनका लागि प्रतिलिपि अधिकार कार्यालयले आवश्यक पहल गरिरहेको जानकारी गराउनु भयो । साथै उहाँले सरकार, निजी क्षेत्र र सरोकारवाला सवैको सामूहिक प्रयासबाट मात्र यो क्षेत्रमा गुणात्मक सुधार गर्न सकिने हुंदा सबै एकसाथ जानुपर्ने धारणा राख्नुभयो ।  

महासंघका कोषाध्यक्ष सुकुन्तलाल हिराचनले गीत, संगित, चलचित्र विनाको समाजको कल्पना पनि गर्न नसकिने भन्दै मुलुकभित्र कला साहित्यको विकास विस्तारसंगै यस क्षेत्रमा आवद्ध स्रष्टाहरूको उन्नती र वौद्धिक सम्पत्तिको रक्षा गर्न सरकार सदैव चनाखो हुनुपर्ने सुझाव राख्नु भयो । 

महासंघको चलचित्र तथा मनोरञ्जन फोरमका सभापति आकाश अधिकारीले कार्यक्रमबाट आएका सवै सुझावहरूमाथि विज्ञहरूको समेत सहयोगमा ठोस सुझाव तयार गरी सरकारमा पेश गर्ने अवको कार्ययोजना रहेको जानकारी गराउनु भयो । 

कार्यक्रममा वौद्धिक सम्पत्ति संरक्षण समाज नेपालका महासचिव एवं पूर्व रजिष्ट्रार विसुकुमार केसीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने सो कार्यपत्र माथि महासंघको चलचित्र तथा मनोरञ्जन फोरमका सल्लाहकार राजेन्द्र सलभले सुझाव दिनु भएको थियो । कार्यक्रममा महासंघको चलचित्र तथा मनोरञ्जन फोरमका सहसभापतिहरू, सदस्यहरु, सल्लाहकारहरू, नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र संघ, संगीतकार संघ, नृत्य संघ, संगीत उद्योग संघ, गीतकार संघ, संगीत रोयल्टी संकलन समाज, प्रस्तोता समाज लगायतका यस क्षेत्रका क्रियाशिल संघ संस्थाको सहभागिता रहेको थियो ।  
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by