Jan 25, 2021

लेखनाथ, १२ माघ ।

ईलाका प्रहरी कार्यालय डाँडाकोनाकमा सरुवा भई आउनु भएका प्रहरी नायव उपरीक्षक महेन्द्र मरासैनीले शान्ति सूरक्षा बिना कुनै पनि किसिमका आर्थिक क्रियाकलाप अगाडी बढ्न नसक्ने बताउनु भएको छ ।

लेखनाथ उद्योग बाणिज्य संघले सोमबार राखेको स्वागत तथा छलफल कार्यक्रममा बोल्दै प्रहरी नायब उपरीक्षक मरासैनीले जहाँ अशान्ति हुन्छ त्यहाँ कुनै प्रकारका उद्योग कलकारखाना संचालनमा बाधा ब्यवधानहरु सृजना हुने भएकाले ब्यवसायीमा शान्ति सुरक्षाको प्रत्याभूति गराउन आफु तयार रहेको प्रतिवद्धता जनाउनु भएको हो ।

लेखनाथ क्षेत्रको शान्ति सुरक्षामा कुनै किसिमको कमी आउन नदिने विश्वास व्यक्त गर्दै डिएपी मरासैनीले वर्दी लगाएका सुरक्षा निकाय र वर्दी विनाका जनताका बीच हातेमालो गर्दै नियम र कानूनको परिधिभित्र रहेर स्थानीयहरूलाई बिना झन्झट सेवा प्रदान गर्ने प्रयास गर्ने र सम्पूर्ण स्थानीय संघ संस्था र नागरिकहरूको साथको अपेक्षा गर्नु भएको थियो ।

सोही अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा लेखनाथ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष बाबुराम गिरीले आर्थिक लगानीको क्षेत्रमा शान्ति सुरक्षाको महत्वपूर्ण भूमिका रहने भएकाले शान्ति सुरक्षामा खलल पुर्‍याउने शक्तिबाट होसियारी रहन आग्रह गर्नु भएको थियो भने संघका पूर्व अध्यक्ष बाबुराम जमरकटेलले शान्ति सुरक्षाका सवालमा जनताको मन जितेर अगाडी बढ्नु पर्ने सुझाव राख्नु भएको थियो ।

संघका अध्यक्ष बलराम ढकालले यस क्षेत्रको शान्ति सुरक्षाको अवस्था र संघले समय समयमा सरकारी निकाय ल्याउनका लागि गरेको लविङका बारेमा जानकारी गराएको उक्त कार्यक्रमको संचालन महासचिव गोपिचन्द्र बास्तोलालले गरेका थिए भने धन्यवाद ज्ञापन बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयले गर्नु भएको थियो ।


 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by