Dec 13, 2020
हस्तकला महासंघद्वारा हस्तकला वर्ष घोषणा

काठमाडौं, मंसिर २८

निर्यात व्यापार, रोजगारी सिर्जना र अन्तर्राष्ट्रिय बजारमा नेपालको पहिचान कायम गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको नेपाली हस्तकलाको प्रवर्द्धनका लागि सरकारले नीतिगत सुधार गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले हस्तकलाको प्रवर्द्धनका साथै निर्यातलाई प्रतिस्पर्धी बनाउन सरकार नीतिगत सुधार गर्न तयार रहेको बताउनु भएको हो । हस्तकला समृद्धिका सम्भावना भन्ने नाराका साथ नेपाल हस्तकला महासंघले आफ्नो ४८औं बार्षिकोत्सब नवौं हस्तकला दिवस र हस्तकला बर्षको आइतबार शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निर्यातलाई प्रतिस्पर्धी बनाउन र कोरोनाबीच पनि हस्तकला व्यवसायलाई गति दिन सरकारकातर्फ के कस्तो नीतिगत सुधार गर्नुपर्ने हो, सो बारेमा सुझाव दिन महासंघलाई आग्रह गर्नुभएको छ । साथै मन्त्री गुरुङले हस्तकलाको अनलाइन मार्केटिङका लागि पनि मन्त्रालय सहजीकरण गर्न तयार रहेको बताउनुभएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले निर्यात प्रवर्द्धनका लागि उत्पादन लागत घटाउन मन्त्रालयले सहयोग गर्ने बताउनुभयो । उहाँले हस्तकला निर्यातको धेरै सम्भावना रहे पनि अपेक्षाअनुसार निर्यात बढ्न नसकेकोमा चिन्ता व्यक्त गर्दै उत्पादन लागत घटाउँदै हस्तकलाको विविधिकरण जोड दिनुपर्ने बताउनुभयो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले उत्पादन लागत घटाउँदै र गुणस्तरीय उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । उत्पादन लागत घटाउन सरकारले सहजीकरण गर्नसक्ने भएपनि गुणस्तरीय उत्पादनका लागि व्यवसायी नै लाग्नुपर्ने उहाँको भनाइ छ । सविच अर्यालले अमेरिकाले नेपाललाई ७७ वटा वस्तुमा भन्सार सहुलियत दिएको भएपनि नेपालले उक्त सहुलियतको सदुपयोग गर्न नसकेको पनि उहाँले गुनासो गर्नुभयो । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र कार्यकारी निर्देशक शरद विक्रम राणाले हस्तकलाको प्रवर्द्धनका लागि अनलाइन मार्केटिङमा जोड दिनुभयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष सकुन्तलाल हिराचन, नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले पनि हस्तकलाको प्रवर्द्धनका लागि सहजीकरण गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । नेपाल हस्तकला महासघका अध्यक्ष सुरेन्द्र भाइ शाक्यले हस्तकला व्यवसायमा समस्याबारेमा ध्यानाकर्षण गराउनुभएको थियो भने महासंघका उपाध्यक्ष एवं ४८ औं वार्षिकोत्सव तथा नवौं हस्तकला दिवस समितिका संयोजक रविन्द्र शाक्यले हस्तकला बर्षका कार्यक्रमबारे जानकारी गराउनुभएको थियो । महासंघल हस्तकला वर्षका लागि २५ बुँदे वार्षिक कार्यक्रम घोषणा गरेको छ ।

कोरोनाबाट प्रभावित हस्तकला उद्योग व्यवसायलाई पूर्ववत अवस्थामा पुर्‍याउने उद्देश्यका साथ वार्षिक कार्यक्रम तय गरिएको समितिका संयोजक शाक्यले जानकारी दिनुभएको छ  । वार्षिक कार्यक्रम अन्तर्गत त्रैमासिक बुलेटिन नियमित प्रकाशन गर्ने, जिल्ला तथा बस्तुगत संघलाई सुदृढिकरण गर्ने, समसामयिक बिषयबस्तुमा वेभिनार तथा सेमिनार गोष्ठी आयोजना गर्ने, व्यवसायिक अनलाईन मार्केटमा पहुँच बृद्धि गर्दै जाने, महिला उद्यमी मेला मार्फत महिला उद्यमीलाई ब्यवसायिक रुपमा संगठित गर्दै जाने, आन्तरिक बजार प्रर्बद्धन गर्न त्रैमासिकरुफमा क्रेता बित्रेता भेला आयोजना गर्ने कार्यक्रम रहेको संयोजक शाक्यले बताउनुभएको छ । त्यसैगरी बस्तुगत विधाको लागि सामूहिक ट्रेडमार्कको अवधारणा कार्यान्वयन गर्ने, हस्तकलासंग इन्टेरियर डिजाईनिंङ समायोजन गर्ने,मूर्त तथा अमूर्त कला सस्कृतिको प्रवर्द्धन गर्ने, डिजाइन तथा डिसप्ले कक्ष तयार गर्ने, कलाकारहरुका परिचयपत्र प्रदान गर्ने, अर्धर्वार्षिक कला प्रर्दशनी आयोजना गर्ने, बिधागत हेरिटेज वाक आयोजना गर्ने, बिभिन्न बस्तु बिद्याको प्रवर्द्धनको लागि छोटो डकुमेन्ट्ररी तयार गर्ने, प्याकेजिङ र लेवलिङ योजना तयारी गर्ने, बिशुद्ध हस्तकलाको पहिचान गर्दै जाने, लिभिङ लेजेन्ट इन ह्याण्डिक्राफ्टको पहिचान गरी सम्मान गर्दै जाने, बिधागत हस्तकलाको  विभिन्न मिडियामार्फत प्रकाशमा ल्याउने आदि कार्यक्रम रहेका छन् । 
    
त्यसैगरी बढिभन्दा बढी बस्तुगत संघ र ७ वटै प्रदेशका जिल्ला संघलाई महासंघमा आवद्ध गरी ७ वटै प्रदेशमा महासंघको पहुच बिस्तार गर्ने, हस्तकला उद्योग व्यवसायको क्षेत्रमा विद्यमान नीतिगत तथा प्रक्रियागत समस्या समाधानका लागि नेपाल सरकारलगायत सम्बन्धित निकायमा पैरवी गर्दै जाने, हस्तकलामैत्री निर्यातमुखी ऐन,कानून नीति नियम तर्जुमा र समयसापेक्ष परिमार्जनका लागि नेपाल सरकारसँग पहल र पैरवी गर्ने, सार्क हस्तकला विकास केन्द्र संचालन र हस्तकलाग्राम स्थापना र हस्तकला बिकास नीति कार्यान्वयनको लागि नेपाल सरकार समक्ष पहल गर्ने, मेड इन नेपाल एण्ड मेक इन नेपालको प्रतिस्पर्धी अवधारणा बिकास गर्ने र प्रचलित विद्युतीय प्रविधि, संचार तथा आर्थिक कारोबार र व्यवसायिक संजालको समयसापेक्ष उपयोग गर्ने जस्ता कार्यक्रम रहेका छन् । महासंघले विगत ४७ वर्षदेखि निरन्तर कृयाशिल भई नेपालभरिका मूर्त र अमूर्त ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको अनुसन्धान, संरक्षण एवं सम्वर्द्धनको साथै हस्तशिल्पीको जनजीवनमा सुधारलगायत हस्तकला निकासी ब्यापारको प्रवर्द्धनको लागि निकासी मैत्री नीति नियम तर्जुमा र समय सापेक्ष सुधारको लागि नेपाल सरकार समक्ष पैरवी गर्ने साथै राष्ट्रिय अर्थतन्त्रको सुद्धिढीकरणमा योगदान पुग्ने खालका कार्यक्रमहरु संचालन गर्दै आएको छ । 

महासंघले २०७७ मंसिर २८ गते महासंघसँग आवद्ध १६ जिल्ला हस्तकला संघ, ११ वस्तुगत संघ सहित उद्यमी, ब्यवसायी, निकासीकर्ता, हस्तकला क्षेक्रका गैरसरकारी संस्था, सहकारी संस्था, कलाकार कालिगढहरु गरी १६०० त्रियाशिल सदस्यहरु बीचमा ४८ औं वार्षिकोत्वस, नवौं हस्तकला दिवस तथा हस्तकला बर्ष घोषणा कार्यक्रम मनाउने भएको छ । कोभिड-१९ को असर पर्यटन उद्योग ब्यवसाय पछि हस्तकला उद्योग ब्यवसाय क्षेत्रमा अत्यधिक रुपमा परेको जनाएको छ । बिशेषगरी पश्चिमी मुलुकमा बढी आश्रित हस्तकला उद्योग ब्यवसायले रोजगारी सिर्जना गरी निर्यात ब्यापार मार्फत बिदेशी मुद्रा आर्जन गरी देशको अर्थतन्त्रमा बिदेश निर्यात र आन्तरिक उपभोग गरी २० अरबको हाराहारीमा राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउँदै आएको हस्तकला उद्योग ब्यवसाय र ११ लाख भन्दा बढि ब्यक्तिहरु प्रत्यक्ष तथा परोक्ष रुपमा संलग्न रहेको छ । कोभिड-१९ को प्रभावबाट धरासायी हुन पुगेको अवस्था छ ।  यस अवस्थाबाट मध्यनजर गरी सरकारी कार्यालयमा नेपाली हस्तकलाका सामग्री प्रयोग गरी खस्किएको हस्तकला उद्योग ब्यवसायलाई संरक्षण र सम्बर्द्धन गर्न केन्द्र सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले सीपमूलक स्वरोजगारमुखि तालिम र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार ब्यवस्थापनका तालिम प्रदान गर्ने एवं स्वरोजगारी सिर्जना गरी आत्मनिर्भर हुने स्पष्ट व्यवस्थालाई प्राथमिकतामा राखी आवश्यक बजेट व्यवस्था गर्नुपर्ने महासंघले जनाएको छ ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by