Dec 08, 2020
महासंघका नवनिर्वाचित पदाधिकारीहरू र श्रममन्त्री बीच भेटवार्ता (२०७७/०८/२३)

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूको सम्मानमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आज श्रम मन्त्रालयमा एक स्वागत कार्यक्रम आयोजना गरियो । माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवको समुपस्थितिमा आयोजित ऊक्त कार्यक्रममा महासंघका नवनिर्वाचित पदाधिकारीहरूका तर्फबाट अध्यक्ष शेखर गोल्छाले समग्र अर्थतन्त्रको सुदृढिकरणका लागि ट्रेड युनियन, रोजगारदाता र नेपाल सरकार बीचको त्रिपक्षीय सहकार्यमा जोड दिनुभयो । 

मन्त्रालयका सहसचिव विनोद प्रकाश सिंह, महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अंजन श्रेष्ठ, रामचन्द्र संघई  र कोषाध्यक्ष सुकुन्तलाल हिराचन सहभागी रहनु भएको सो कार्यक्रममा अध्यक्ष गोल्छाले कोभिड पश्चात उद्योग व्यवसाय सहित समग्र अर्थतन्त्रको पुनरूत्थानका लागि त्रिपक्षीय सहकार्यमा जोड दिनुभयो । नेपालको श्रम उत्पादकत्व दक्षिण एशियामै कमजोर रहेकाले श्रम उत्पादकत्व बढाउने कार्यमा जुझारू भएर लाग्नु पर्ने सुझाव उहाँले राख्नुभयो । 

श्रम तथा सामाजिक सुरक्षा ऐनमा रोजगारदाता परिषदका तर्फबाट महासंघले धेरै सुझावहरू दिएको स्मरण गर्नुहुंदै उहाँले सोही ऐन अन्तरगत आएको सामाजिक सुरक्षा कोषप्रति अझै पनि श्रमिक कामदार कर्मचारीहरूको आकर्षण बढ्न नसकेको बताउनु भयो । श्रमिक कर्मचारी आकर्षित गर्न नसक्नु कोषको सवैभन्दा ठूलो चुनौती रहेको भन्दै अध्यक्ष गोल्छाले कोषप्रति आकर्षण बढाउन पनि सहकार्यको आवश्यकता रहेको बताउनु भयो । साथै उहाँले स्वदेशी श्रमिक कामदारहरूको दक्षता अभिवृद्धि मार्फत नेपालमा कार्यरत वाह्य देशका कामदारहरू विस्थापन गर्ने नीति सरकारको हुनुपर्ने सुझाव दिनु भयो । 

अध्यक्ष गोल्छाले अहिले पनि एकाध उद्योगहरूमा विभिन्न माग राखी उद्योग बन्द गर्ने कार्य भएकाले यसमा सरकारले तत्काल हस्तक्षेप गरी उद्योग संचालन गर्ने वातावरण बनाउनु पर्ने माग गर्नुभयो । आउने दिनमा श्रम सम्बन्धलाई थप मजवुद बनाउँदै औद्योगिक व्यवसायिक विकासमा सरकारलाई हरतरहले सहयोग गर्न महासंघ तयार रहेको पनि उहाँले श्रम मन्त्रीलाई विश्वास दिलाउनु भयो । साथै सो अवसरमा महासंघका पदाधिकारीहरूबाट कोभिडका कारण सामूहिक सौदावाजी (सीबीए) को समयलाई एक वर्ष पछाडी लैजानुपर्ने, विभिन्न संस्थाहरूबाट छरिएर दिइने तालीमहरूलाई एकिकृतरूपमा संचालन गर्नुपर्ने लगायतका सुझावहरू दिइएको थियो । 



भेटवार्तामा श्रम मन्त्री यादवले महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई स्वागत सहित बधाई दिंदै मुलुकको औद्योगिक विकासमा सरकार, रोजगारदाता र ट्रेड युनियन बीच अझ बढी सहकार्यका साथ अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । श्रम मन्त्री यादवले मुलुकभित्र उत्पाकत्व अभिवृद्धिका लागि उचित तालीमको आवश्यकता रहेकाले श्रम मन्त्रालय दक्ष जनशक्ति उत्पादनका लागि सातै प्रदेशमा स्तरीय तालीम प्रतिष्ठानहरू संचालन गर्ने योजनामा रहेकाले महासंघसंग समेत यसमा सहकार्यको अपेक्षा गरेको बताउनु भयो । साथै उहाँले आफू र आफ्नो मन्त्रालयले महासंघले दिएका सुझावहरूलाई वूंदागतरूपमा आगामी दिनमा छलफल गर्दै जाने बताउनु भयो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by