Nov 29, 2020
महासंघका नवनिर्वाचित पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरुद्वारा पद तथा गोपनियताको सपथ (२०७७/०८/१४)

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिका साधारण सभाबाट निर्वाचित पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरुको पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रम आज काठमाडौंमा एक विशेष समारोहका बीच सम्पन्न भयो ।

सो समारोहमा महासंघका नवनिर्वाचित अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अंजन श्रेष्ठ, रामचन्द्र संघाई र कार्यकारिणी समितिका सदस्यहरुले आआफ्नो पद तथा गोपनियताको सपथ लिनु भयो । सो अवसरमा अध्यक्ष शेखर गोल्छाले निवर्तमान अध्यक्ष भवानी राणाबाट र नवनिर्वाचित पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरुले अध्यक्ष गोल्छाबाट पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभयो । 



अध्यक्षको पदभार ग्रहण पश्चात समारोहलाई संवोधन (पूर्णपाठ यसैसाथ संलग्न छ) गर्नुहुंदै अग्रजहरुको सपना पुरा गर्ने कार्यमा आफूले दीलो ज्यानले लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

अध्यक्ष गोल्छाले भन्नुभयो– निर्वाचनमा प्यानल, गुट उपयुट भएपनि आजदेखि हामी एक हौ भनेर मैले भनिरहन पर्दैन । एकताको महत्व हामी सवैले बुझेका छौं । निर्वाचनका क्रममा घोचपेच केही थिए भने सवैलाई विसाएर अव समग्र निजी क्षेत्र र महासंघको हकहितका लागि समर्पित गर्नु हुने विश्वास लिएको छु । 



उहांले अगाडी भन्रु भयो–मैले महासंघ र निजी क्षेत्रको सम्मान बढाउन र मुलुकको अर्थतन्त्रमा योगदान पुर्‍याउन तत्कालिन, मध्यकालिन र दीर्घकालिन योजना बनाएको छु । तत्कालका लागि कोरोना महामारीबाट प्रभावित उद्यमी व्यवसायीलाई राहत प्रदान गर्न मैले थप प्रयास गर्नेछु । संगसंगै दिगो र दरिलो अर्थात रेजिलेन्ट अर्थतन्त्र निर्माणका लागि अर्थतन्त्रका विभिन्न क्षेत्रमा सुधारका योजना तयार भएको छ । आर्थिक रणनीतिपत्र पहिलो कार्यकारिणी समितिमा प्रस्तुत गरी तत्काल कार्यान्वयनमा लाने मेरो योजना छ । 



त्यसअघि निवर्तमान अध्यक्ष भवानी राणाले अध्यक्ष गोल्छालाई अध्यक्षको पीन र अध्यक्ष गोल्छाले निवर्तमान अध्यक्ष राणालाई निवर्तमान पदको पीन लगाई दिनु भयो । 

कार्यक्रमलाई संवोधनका क्रममा निवर्तमान अध्यक्ष राणाले महासंघमा अध्यक्षको रुपमा रहेर तीन वर्ष र केही महिना सेवा गर्ने अवसर पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि निवर्तमान अध्यक्षको रुपमा रहेर आफूले सकेको सहयोग गर्ने विश्वास दिलाउनु भयो । निवर्तमान अध्यक्ष राणाले अर्थतन्त्रको विकास र निजी क्षेत्रको प्रभावकारी भूमिका बढाउन नयाँ टिम सफल हुने विश्वास समेत व्यक्त गर्नुभयो । 

कार्यक्रममा प्रमुख निर्वाचन अधिकृतले अध्यक्ष, पदाधिकारी र कार्यकारिणी समितिलाई प्रमाणपत्र पनि वितरण गर्नुभयो । 

नवनिर्वाचित पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरूको नामावली (https://www.fncci.org/ckfinder/userfiles/files/54agm_election_result.pdf) बाट हेर्न सकिने छ ।  

कार्यक्रमको फेसबुक मार्फत भएको प्रत्यक्ष प्रसारण https://fb.watch/23Qd_RzYrt/ मा हेर्न सकिने छ ।

For photos : https://photos.app.goo.gl/Eys5MciuFqsKJz1x9
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by