Oct 13, 2020
व्यावसायिक आचार संहिताको पालना गरी व्यापार व्यवसाय गर्न सम्पूर्ण उद्यमी व्यवसायीहरूमा नेपाल उद्योग वाणिज्य महासंघको आग्रह (२०७७/०६/२७)
विश्वव्याधी कोभिड–१९ का कारण नेपाल पनि पछिल्लो पटक निकै प्रभावित बन्दै गएको छ । कोरोना संक्रमितहरूको संख्या तिव्रतररूपमा बढ्दै छ । यसले मुलुकवासीको स्वास्थ्य सुरक्षा निकै पेचिलो बन्दै गएको छ भने अर्थतन्त्रमा गम्भीर असर परिरहेको छ । समग्रमा भन्दा मुलुक इतिहासकै सवैभन्दा गम्भीरसंकटतर्फ उन्नमुख छ । महामारीको यो अवस्थामा सबैभन्दा पहिलो प्राथमिकता आमसर्वसाधारणको स्वास्थ्य सुरक्षा र बाँच्न पाउने अधिकारको रक्षानै हो । 

निजी क्षेत्रले महामारीमा नेपाल सरकारलाई दरिलो साथ र सहयोग दिंदै आएको छ भने अत्यावश्यक वस्तुहरूको आपूर्तिमा अहोरात्र खटिरहेको छ । महामारीमा मुलुकको आपूर्ति प्रणालीमा कुनै रोकावट आउन नदिन आफू र आफ्नो परिवारको समेत ज्यान जोखिममा राखेर अहोरात्र खटिरहेका सम्पूर्ण उद्यमी व्यवसायीहरूप्रति महासंघ आभार प्रकट गर्दछ । यस्तो कठिन घडीमा कहिकतै कम गुणस्तरीय सामान विक्री वितरण भएको, उपभोग्य मिति गुज्रेका सामानको विक्रीवितरण, म्याद गुज्रेका वस्तुमा पुन:उपभोग्य मिति राखी बजारमा पठाइएको, निश्चित तौल नपुर्‍याई सामान बजारमा विक्री गरेको लगायतका प्रचलित कानुन विपरितका कार्यहरू भएको भन्ने गुनासाहरू आएकोतर्फ यस महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । 

कहिल्यै र कहिकतैबाट जनताको स्वास्थ्यसंग प्रत्यक्ष जोडिएका विषयमा लापरवाही हुनुहुंदैन । कसैलाई पनि जनताको प्रत्यक्ष स्वास्थ्यसंग खेलवाड हुने र प्रचलित कानून विपरित कार्य गर्ने छुट छैन । यदि कहीकतैबाट भएको रहेछ भने कानून अनुसार कारवाहीको भागीदार हुनुपर्ने हुंदा प्रचलित कानून विपरितका कार्यमा संलग्न नहुन सम्बन्धित सवैमा आग्रह गर्दै महासंघ आफ्ना सबै सदस्य जिल्ला/नगर उद्योग वाणिज्य संघहरू मार्फत मुलुकभरका उद्यमी व्यवसायीहरूमा व्यावसायिक आचार संहिताको पूर्णपालना गरी व्यापार व्यवसाय गर्न आव्हान गर्दछ ।

साथै, चाडवाड लक्षित गरी बजार अनुगमनको कार्यलाई तिव्रता दिनुभन्दा पनि अनुगमनको कार्यलाई वर्षैभरि निरन्तरता दिन र यस्ता कार्यमा महासंघका सदस्य जिल्ला/नगर उद्योग वाणिज्य संघहरूलाई पनि एकसाथ लैजाने संरचना निर्माण गरी अनुगमन प्रणालीलाई विधिवतरूपमा अघि बढाउंदै सवै सरोकारवालाहरूको आत्मसम्मानको सुरक्षा गर्न समेत महासंघ नेपाल सरकारसंग जोडदार माग गर्दछ । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by