Oct 04, 2020
दोस्रो नेपाल–भारत फ्रेन्चाइज सम्मेलन यही असोज ३० देखि प्रारम्भ हुंदै (२०७७/०६/१८)

नेपाली र भारतीय ब्राण्ड र आगन्तुकहरूलाई एकै मंचमा जुटाई एकअर्का देश बीच लगानी, प्रविधि एवं व्यवसायिक मोडलहरू आकर्षित गर्ने उद्देश्यले यही असोज ३० देखि आगामी कार्तिक २ गतेसम्म पहिलो पटक भर्चुअलका माध्यमबाट NEPAL INDIA FRANCHISE EXPO, AWARDS & SUMMIT आयोजना हुन लागेको छ ।

सम्मेलन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल फ्रान्चाइज.कम (Nepalfranchise.com) को साझेदारीमा नेपालस्थित भारतीय राजदूतावास (Indian Embassy to Nepal) ले आयोजना गर्न लागेको हो । कार्यक्रममार्फत नेपाल तथा भारतका प्रशिद्ध व्राण्डहरू र अवलोकनकर्ताहरूलाई एउटै छानामुनी ल्याई दुवै देशका एक सयभन्दा बढी प्रतिष्ठित ब्राण्डहरूले आफ्ना अवसरहरूको प्रदर्शनी गर्ने छन् भने सम्मेलनलाई दुई हजार भन्दा बढी योग्यलगानीकर्ताहरूले फ्रेन्चाइज, डिलरशीप तथा अनुमतीपत्र लगायतमा व्यवसायिक अवसरहरू खोज्ने महत्वपूर्ण माध्यमको रूपमा उपयोग गरी लाभ उठाउने छन् ।

गएको वर्ष काठमाडौंमा सम्पन्न पहिलो नेपाल भारत फ्रान्चाइज एक्सपो तथा सम्मेलनको अभुतपूर्व सफलता पश्चात कार्यक्रमलाई एक स्थापित कार्यक्रमकोरूपमा विकास गर्ने लक्ष्य अनुसार दोस्रो संस्करणको रूपमा यो सम्मेलन आयोजना गर्न लागिएको हो । कोभिड–१९ को विश्वमहामारीका कारण यस वर्षको नेपाल भारत फ्रान्चाइज एक्सपो तथा सम्मेलन भर्चुअलका माध्यमबाट आयोजना हुन लागेको हो । यो सम्मेलनलाई नेपाल भारत बीच लगानी प्रवद्र्धन, स्थापित स्टार्टअपहरू तथा फ्रेन्चाइज आदान प्रदानको महत्वपूर्ण मंचको रूपमा हेरिएको छ । पहिलो एक्सपोमा नेपालका स्थापित १० र भारतका ५० गरी जम्मा ६० वटा स्थापित ब्राण्डहरूको सफल सहभागिता रहेको थियो । उक्त एक्स्पोले २ हजारभन्दा बढी ख्याती प्राप्त उद्यमी व्यवसायीहरूलाई प्रत्यक्ष अवसर प्रदान गर्नुको साथै कार्यक्रम मार्फत व्यवसायिक अवसर विस्तार गर्न, सम्बन्ध सुधार गर्न, नयां अवसर तथा नविनतम सोंचको आदान प्रदानमा महत्वपूर्ण उपलव्धी हासिल गरेको थियो । 

नेपाल युवाहरूको वाहुल्यता रहेको देश हो । कूल जनसंख्याको करिव ६० प्रतिशत ३० वर्ष मुनीको जनसंख्या रहेको छ । कोभिड १९ को महामारी भन्दा पहिले धेरै जसो प्रतिभाशाली युवाहरु विश्वव्यापी प्रसिद्ध ब्रान्डमा काम गर्ने इच्छा सहित विदेशीने गर्दथे । अव विश्वको ध्यान नेपालतर्फ आकर्षित गरी नेपाली यूवाहरूलाई स्वदेशमै पर्याप्त अवसर सृजना गर्न प्रतिष्ठित अन्तराष्ट्रिय ब्रान्डहरू आकर्षित गर्नुपर्ने समय आएको छ । फ्लीपकार्ट (Flipkart), ओयो (OYO), कोक (Coke), युनिलिभर (Unilever), लेन्सकार्ट (Lenscart) जस्ता प्रतिष्ठित ब्राण्डहरु सहित १ सयभन्दाबढी भारतीय सहित अन्तराष्ट्रिय ब्रान्डहरूले नेपाली बजारमा प्रवेश गरिसकेका छन् भने नेपालमै आफ्नो पहिचान बनाई सकेका स्वदेशी ब्राण्डहरू पनि विस्तार भैरहेका छन् । NEPAL INDIA FRANCHISE EXPO, AWARDS & SUMMIT जस्ता कार्यक्रमहरूले नेपालमा फ्रेन्चाइजको आकर्षण सहित उद्यमशीलतालाई बढावा दिनुका साथै हरेक वर्ष द्विपक्षीय सफलताहरू आदान प्रदानमा समेत महत्वपूर्ण सहयोग पुर्‍याउंदै आएको छ ।  

कोविडको महामारीका बावजुद, उद्यमी व्यवसायीहरूले ई–कमर्स तथा अन्य प्रविधिहरूको अधिकतम उपयोगमार्फत व्यवसाय मोडल परिवर्तन गरी आफूलाई समयको माग अनुसार अगाडी बढाउन मद्दत गरिरहेका छन् । यस थ्रीडी भर्चुअल एक्सपोले पनि उद्यमशीलताको सोंच राखि अगाडी बढ्न लागेको यूवा जमातलाई समय अनुसार अगाडी बढ्न र व्यवसायिक अवसरहरूको खोजी गर्न सघाउने विश्वास गरिएको छ । NEPAL INDIA FRANCHISE EXPO, AWARDS & SUMMIT ले अहिलेको समयमा सम्भावित लगानीकर्ता र साझेदारहरुलाई प्रविधिका माध्यमबाट सुरक्षित रूपमा आ–आफनै घरमा रही एकै ठाउंमा जुटाउन सहयोग गर्ने छ । भर्चुअल एक्सपोले व्यवसायी र विज्ञहरू बीच आपसी सम्वाद, श्रव्य दृश्यका माध्यमबाट सवै तहका उद्यमीहरू, लगानीकताहरूलाई भेट गराई व्यवसायिक अवसरहरूको उत्खनन, विश्वमा पछिल्लो व्यवसायिक अवस्थाका वारेमा जान्ने बुझ्ने अवसर समेत जुटाउने छ । अन्तमा, नेपाल र भारतमा रहेका सबै अग्रणी ब्रान्डहरूलाई यस भर्चुअल प्लेटफर्ममा भागलिन आमन्त्रण गरिन्छ । कार्यक्रमका तीन दिन दुबै राष्ट्रका ब्रान्ड र लगानीकर्ताहरू निजी क्षेत्रकातर्फबाट व्यवसायीहरूको उद्देश्य, इच्छा र लक्ष्य अनुरूपका व्यवसायिक सम्भावनाहरूको नयाँढोका खोल्न सफल हुने विश्वास गरिएको छ ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by