Aug 14, 2020

रूपन्देही जिल्ला, बुटवल उपमहानगरपालिका वडा नं. ९ कालिकापथ बसोबास गर्दै आएका बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमालको नाममा रहेको घर स्थानीय प्रशासनले बल प्रयोग गरी मिति २०७७ साउन २१ गते अमानवीय तरिकाबाट भत्काइएकोप्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघ यस प्रकारको कार्यको निन्दा एवं भत्सर्ना गर्दछ । 

मिति २०३५ सालदेखि स्थायी रूपमा बसोबास गरी वि.सं. २०४६ सालमा तत्कालिन नगरपञ्चायतको नियमानुसार नक्सापास गराई घर निर्माण गरी नियम अनुसार हालसम्म कर तिर्दै आएको र उक्त घर निर्माण तत्कालिन मापदण्ड अनुसार भई कुनैपनि नियम विपरित नभएको विषयमा स्थानीय सरकारसंग पटक पटक वार्ता, छलफल तथा अनुरोध गर्दा पनि उप महानगरपालिकाबाट कुनै ठोस कदम चाल्नेतर्फ अग्रसर नभएकोले अन्तिम विकल्पकोरूपमा मुआव्जाको लागि गत असार ३० गते सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको सो मुद्दा हालसम्मपनि विचाराधिन रहेको अवस्थामा व्यक्तिको निजी सम्पत्तिमाथि हस्तक्षेप गरी भत्काइनु विधिसम्मत नहुनेतर्फ महासंघ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ । 

यसरी विधि विपरित घर भत्काइएको बारे छानविन हुनुका साथै पिडीतलाई उचित व्यवस्था मिलाउन पनि महासंघ सरकार समक्ष गम्भीर आग्रह गर्दछ । साथै सोही विषयमा महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको नेतृत्वमा, उपाध्यक्ष किशोर प्रधान र नेउवामहासंको प्रदेश नम्वर १ का अध्यक्ष नरेन्द्र कुमार खड्का सहितको महासंघ प्रतिनिधिमण्डलले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी समक्ष भेटगरी यस विषयमा गम्भीर ध्यानाकर्षण गराउंदै छानविनको माग समेत गरेको छ ।  सो अवसरमा मन्त्री त्रिपाठीले घटनाको वारेमा गम्भीररूपमा लिई त्यस सम्बन्धमा उचित छानविन गर्ने विश्वास समेत दिलाउनु भएको छ ।  

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by