Mar 30, 2020
नेपाल उद्योग वाणिज्य महासंघको अपिल (२०७६/१२/१७)    


लगभग चार महिना अगाडीबाट शुरु भई महामारीको रूपमा फैलिएको कोरोना भाइरस (COVID-19) रोगका कारण नेपाल सहित विश्वनै क्रासदीको अवस्थामा यतिखेर छ । यो संत्रमणलाई फैलन नदिन तथा सोको रोकथाम तथा नियन्त्रणका लागि अन्य राष्ट्रहरू जस्तै नेपाल पनि पछिल्लो एक सातादेखिनै लकडाउनको अवस्थामा छ । यतिखेर संघीय सहित सवै तहका सरकारहरू, निजी क्षेत्र र आम सर्वसाधारण जनताहरू कोरोना भाइरस नियन्त्रणका लागि आ–आफ्ना तहबाट सवै तागतका साथ लागीरहेको परिस्थिति छ । विपतको यस अवस्थामा हामी सवैले आ–आफ्ना जिम्मेवारीहरूलाई निर्वाह गर्न सक्यौ भने यो महामारीलाई समयमै नियन्त्रण गरी देशलाई जतिसक्दो छिटो लकडाउनको अवस्थाबाट मुक्त गर्न सकिने हाम्रो वलियो विश्वास छ । 

यतिखेर मुलुकभित्र आर्थिक गतिविधि ठप्प छ । तथापी पनि हामीले अत्यावश्यक वस्तुहरूको आपूर्तिमा विशेष ध्यान दिनै पर्छ । संकटको यस घडिमा अत्यावश्यक वस्तुहरू जस्तो खाद्यान्न, औषधि लगायतका वस्तुहरू उत्पादन गरी उत्पादित वस्तुहरू आम सर्वसाधारणसम्म पुरयाउन नसकेमा मुलुक अझै ठूलो समस्यामा पर्न जानेमा कसैको दुईमत हुंदैन । यस अवस्थामा उद्योग व्यवसाय संचालन गरी उत्पादित वस्तुहरू आम सर्वसाधारणसम्म पुरयाउने काममा तपाई  श्रमिक कामदारहरूको भूमिका अझ बढी महत्वपूर्ण हुने र मुलुकलाई कठिन पर्दाका बखत सदैव अग्रभागमा रहेर तपाईहरूले विगतमा निर्वाह गर्नुभएको भूमिकाको महासंघ मुक्त कण्ठले प्रशंसा गर्दछ ।  

अतः यस अवस्थामा अत्यावश्यक वस्तु तथा सेवासंग सम्बन्धित उद्योग व्यवसायले अझ बढी उत्पादनहरू बढाई उत्पादित वस्तु निर्वाध रूपमा मुलुकभर पुरयाउने कार्यमा सबै श्रमिक कामदार दाजुभाई तथा दिदी वहिनीहरूबाट सदाझै महत्वपूर्ण सहयोग प्राप्त हुने विश्वास सहित सुरक्षाका सबै उपायहरू अवलम्वन गर्दै उत्पादन प्रक्रिया र आपूर्ति व्यवस्थापनमा सहभागी भई आजको कठिन अवस्थामा मुलुकलाई सहयोग गर्न महासंघ सम्पूर्ण श्रमिक कामदार दाजुभाई तथा दिदी बहिनीहरूमा हार्दिक अपिल गर्दछ । साथै अत्यन्त जोखिम मोलेर उद्योग संचालन गरीरहेका उद्योगीहरूले उत्पादन गरेका वस्तुहरू एक जिल्लाबाट अर्को जिल्लामा लैजादा अनेकन समस्या व्यहोर्नु परेकाले आपूर्तिमा संलग्न उद्यमी व्यवसायीहरूलाई आ–आफ्नो स्थानबाट सहयोग पुरयाउन महासंघ स्थानीय प्रशासन र प्रहरी समक्ष अनुरोध समेत गर्दछ ।  
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by