Mar 29, 2020
कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” लाई महासंघको सहयोग (२०७६/१२/१६)


नेपाल उद्योग वाणिज्य महासंघले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (COVID-19) रोगको संक्रमणलाई फैलन नदिन तथा सोको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले स्थापना गरेको “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” मा सहयोग गरेको छ । महासंघका अध्यक्ष भवानी राणाले उपप्रधान तथा रक्षमन्त्री ईश्वर पोखेरललाई आज सिंहदरवारमा गई ५९ लाखको चेक हस्तान्तरण गर्नुभयो भने बांकी ९१ लाख बराबरको स्वास्थ्य तथा खाद्यान्न लगायतको सामग्रीहरू महासंघले सहयोग दिने छ । सो अवसरमा महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरू किशोर प्रधान, उमेशलाल श्रेष्ठ, चन्द्र प्रसाद ढकाल सहितको उपस्थिति थियो ।  

महासंघले लकडाउनका समयमा काम विहीन भई बसेका श्रमिकहरूलाई खाद्यान्न सामग्रीहरू उपलव्ध गराउने छ । आफ्नो देशैभर रहेको संजाल मार्फत महासंघले उद्योग व्यवसायमा काम गर्ने श्रमिक कामदारहरूको तथ्यांक संकलन गरीरहेको छ । महासंघले यसअघि सरकारलाई दशहजार थान मास्क र २ सय पचास सेट व्यक्तिगत सुरक्षा उपकरण (Personal Protective Equipments-PPE) हस्तान्तरण गरिसकेको छ भने थप स्वास्थ्य सामग्री संकलनमा पनि महासंघ लागिरहेको छ । महासंघले संस्थागत सामाजिक उत्तरदायित्व समेतलाई मनन गर्दै मुलुकलाई परेको अप्ठेरो समयमा सरकारलाई हरतरहले सहयोग गर्दै आएको छ ।

महासंघले कोभिड–१९ नेपाल भर फैलन सक्ने सम्भावना देखी सोको रोकथाम, नियन्त्रण तथा निर्मुलन गर्न नेपाल सरकार मन्त्रिपरिषद्बाट यसअघि भएको लकडाउन सम्बन्धी निर्णयलाई मनन गरी लकडाउनको अवधिभर अत्यावश्यक उद्योग व्यवसायहरू १) औषधि एवं जनस्वास्थ्यसंग सम्बन्धित आवश्यक सामग्रीहरू उत्पादन गर्ने उद्योग तथा स्वास्थ्य जीवन (Personal Hygiene) संग सम्बन्धित आवश्यक सामग्री, २) खाद्य पदाथर्, दुग्धजन्य पदार्थ, ३) पिउने पानीसंग सम्बन्धित उद्योग, ४) अस्पताल तथा चिकित्सा सेवासंग सम्बन्धित उद्योग, ५) इन्टरनेट, ६) सुरक्षा तथा सरसफाइसंग सम्बन्धित उद्योग, ७) पेट्रोलियम पदार्थ तथा ग्यांससंग सम्बन्धित उद्योगहरु सुरक्षाका सबै उपायहरू अवलम्वन गरी यथावत रूपमा संचालन गर्न र बाँकी सबै उद्योग प्रतिष्ठानहरू चैत्र १८ गते विहान ६ बजेसम्मका लागि बन्द गरी त्यहाँ कार्यरत कामदार कर्मचारीहरूलाई विदा दिई सरकारले गरेको निर्णयलाई सफल पार्न महासंघले आफ्ना मातहतका सबै सदस्य संघ/संस्था/उद्योग प्रतिष्ठानहरूलाई आग्रह गरेको थियो । अत्यावश्यक उद्योग व्यवसाय संचालनका क्रममा कुनै समस्या उत्पन्न भएमा स्थानीय प्रशासनसंग सम्पर्क एवं समन्वय गर्न समेत महासंघ अनुरोध गर्यो । 

कठिन अवस्थामा मानव स्वास्थ्यको संवेदनशीलता समेतलाई ख्याल गरी व्यक्तिगत स्वास्थ्यप्रति अधिकतम सजगता अपनाउदै सुरक्षित रहन सवै उद्योगी व्यवसायी, कामदार कर्मचारीहरुलाई अपिल गर्दै कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा निर्मुलन गर्न नेपाल सरकारले जारी गरेका सवै नीति, कार्यक्रम, स्वास्थ्य योजना तथा निर्णयहरूमा आफ्नो ऐक्यवद्धता प्रकट गर्दै आ–आफ्ना स्थानंबाट सहयोग गरी सफल पार्न महासंघ आफ्ना सबै सदस्य संघ/संस्था/उद्योग प्रतिष्ठानहरू सहित सबैमा आग्रह समेत गर्यो । 

त्यसैगरी महासंघले कोरोनाको सम्भावित जोखिम नियन्त्रण गर्न नेपाल सरकारले ल्याएका सबै कार्यक्रम, नीति तथा स्वास्थ्य योजनाहरूको प्रभावकारी कार्यान्वयनमा महासंघले आफ्ना सबै संयन्त्रको प्रभावकारी परिचालन मार्फत सहयोग पुरयाउदै आएको छ । महासंघका सवै सदस्य संघ संस्था उद्योग प्रतिष्ठानहरूलाई अत्यावश्यक सामग्रीहरूको पारदर्शी र निश्पक्ष रूपमा विक्रि वितरण गर्न तथा आम जनमानसमा अनावश्यक रूपमा अत्यावश्यक सामग्रीहरूको भण्डारण नगर्न आग्रह गर्ने र सरकारलाई पनि अत्यावश्यक सामग्रीहरूको विक्री वितरणलाई प्रभावकारी बनाई जनमानसमा निर्धक्क हुने वातावरण बनाउन आग्रह समेत गरेको छ । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by