Feb 03, 2020
मुलुक निर्माणमा यूवाहरूलाई प्रोत्साहन विषयक कार्यक्रम पोखरामा सम्पन्न– नेपालसंग रहेको यूवाउर्जालाई समयमै सदुपयोग गर्न विज्ञहरूको जोड (२०७६/१०/१९)
यूवा जनसंख्याको अधिक बाहुल्यता रहेको नेपालले युवाहरूको प्रभावकारी परिचालन मार्फत मुलुकको आर्थिक–सामाजिक विकास गर्नुपर्नेमा जोड दिइएको छ । यसका लागि सरकारको विशेष नीति हुनुपर्ने र स्वदेशमै काम गर्ने वातावरण बनाई दिनुपर्ने सुझाव यूवाहरूको छ । नेपाल उद्योग वाणिज्य महासंघद्वारा पोखरामा आयोजना गरिएको मुलुक निर्माणमा यूवाहरूलाई प्रोत्साहन ९क्ष्लकउष्चष्लन थ्यगतज ष्लतय ल्बतष्यल द्यगष्मिष्लन० विषयक एक दिने प्रेरणामुलक कार्यक्रमका सहभागी यूवाहरूले सो धारणा राखेका हुन । 

राष्ट्रिय यूवा परिषद् ऐन २०७२ अनुसार १६ देखि ४० वर्ष उमेर समूहको जनसंख्यालाई यूवाको परिभाषा भित्र समेटिएको छ भने कूल जनसंख्यामा यो उमेर समूहको हिस्सा ४० प्रतिशत भन्दा बढी रहेको र यो उमेर समूह भनेको उर्जाशील, काम गर्ने अत्यधिक जांगर भएको वर्ग भएकाले विना कुनै विलम्व यूवा परिचालनमा सरकारको विशेष ध्यान जानुपर्ने सुझाव सो अवसरमा दिइयो । 

सरकारले यूथ भिजन २०२० पारित गरी सकेको र भिजन २०२० मा उल्लेख गरिए अनुसार यूवाहरू प्रतिस्पर्धी, स्वाबलम्वी समेत हुंदा हरेक क्षेत्रमा उनीहरूको अर्थपूर्ण सहभागिता र नेतृत्वदायी भूमिका दिनेतर्फ सरकारको विशेष जोड हुनुपर्ने धारणा व्यक्त गरियो । नेउवामहासंघ गण्डकी प्रदेश, पोखरा उद्योग वाणिज्य संघ र पूर्व मिस नेपालहरूको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो ।  

भर्खर उद्यम व्यवसाय थालेका, व्यवसायिक क्षेत्रमा सफलता हासिल गरेका र पोखरास्थित विभिन्न विश्वविद्यालयहरूमा माथिल्लो तहमा अध्ययन गरिरहेका विद्यार्थीहरू, उद्यमी व्यवसायी, नेपाल सरकारका प्रतिनिधिहरू, विज्ञहरू र संचारकर्मीहरू समेत गरी करिव ५ सय जनाको सहभागिता रहेको सो कार्यक्रममा सहभागी यूवाहरूले सरकारले अगाडी सारेको समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई सफल बनाउन पनि मुलुकभित्र यूवाहरूलाई काम गर्ने वातावरण बनाउनु पर्ने, केहीगर्ने सोंच भएका यूवाहरूलाई आवश्यक तालीम, पूंजीको समेत जोहो गरिदिनु पर्ने, सरकारले ल्याएका यूवा लक्षित कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन हुनुपर्ने, स्वदेशभित्रै काम गरेर मुलुकलाई आत्मनिर्भर बनाउने तर्फ यूवाहरूलाई प्रेरणा दिने नीति राज्यको हुनुपर्नेमा जोड दिइयो । 



यूवासंग सम्बन्धित सरकारका नीति तथा कार्यक्रमहरूका वारे जानकारी गराउने, उद्यम व्यवसायका अवसरहरूका विषयमा अनुभव आदान प्रदान गर्ने, यूवाहरूमा सकारात्मक सोंचको विकास गर्ने, नविनतम सोंच तथा कार्यशैलीलाई प्रोत्साहित गर्दै आर्थिक गतिविधिमा लाग्न यूवाहरूलाई प्रेरणा दिने, सफलताका कथाहरू आदान प्रदान गर्ने, मुलुकभित्र उद्योग व्यवसाय संचालनका क्रममा देखा परेका समस्या एवं चुनौतीहरूको पहिचान गर्दै त्यसको समाधानका उपायहरू पहिल्याउने र कार्यक्रमबाट आएका सुझावहरूलाई नेपाल सरकार र प्रदेश सरकारमा समेत पेश गर्दै आगामी रणनीति तय गर्न सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।    

कार्यक्रममा “यूवा र अर्थतन्त्र”, “यूवाहरूमा देखिन सकिने नैराश्यताको निराकरण”, “व्यक्तित्व विकास”,“सामाजिक अपराध र निराकरणमा यूवाहरूको भूमिका”, “नेतृत्व, नविनता र उद्यमशीलता” लगायतका महत्वपूर्ण प्राविधिक सत्रहरूमा सक्रियतापूर्वक भाग लिंदै सहभागीहरूले, यूवाहरूलाई नेपालको विकासको महत्वपूर्ण आधारका रूपमा हेरिएकोले यो अवसरलाई समयमै सदुपयोग गर्न सकिएन भने निकै धेरै अवसरहरू गुम्नेतर्फ सरकारको ध्यानाकर्षण समेत गराए । 

कार्यक्रममा महासंघको सामाजिक सेवा फोरमका सभापति जय सिवाकोटीले यूवाहरूमा रहेको सम्भाव्यताको उजागर गर्दै मुलुकको आर्थिक विकासमा यूवा समुदायलाई अभिप्रेरित गराउन कार्यक्रम आयोजना गरिएको स्पष्ट पार्दै महासंघले यस्ता कार्यक्रम आगामी दिनमा बाँकी प्रदेशहरूमा पनि लैजाने बताउनु भयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको गण्डकी प्रदेशका अध्यक्ष संजिव वहादुर कोइराला र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले पोखरामा यो कार्यक्रम आयोजना गर्ने अवसर पाएकोमा खुशी प्रकट गर्दै यूवाहरूनै मुलुकको समृद्धिको आधार रहेको स्पष्ट पार्नुभयो ।  

कार्यक्रममा नेपाल सुन्दरीहरू प्रिती सिटौला,माल्विका सुव्वा, सदिक्षा श्रेष्ठ, जेनिसा मुक्तान, इभाना मानन्धर, मलिना जोशी, सुविन लिम्वु, नेशनल युथ काउन्सिलका कार्यकारि उपाध्यक्ष माधव ढुंगेल, विज्ञ कंचन राउत, सामाजिक अभियन्ता उज्जवल थापा, पोखरा विश्वविद्यालयका पूर्व डीन डा. दिपक भण्डारी, यूवा तथा खेलकूदल मन्त्रालयका सह–सचिव महेन्द्र पौडेल, नेपाली यूवा उद्यमी मंच पोखरा च्याप्टरका अध्यक्ष वैभव पौडेल, उद्यमी निकिता आचार्य, पर्यटन व्यवसायी लक्की कार्की लगायतले कार्यक्रममा आ–आफ्ना धारणा राख्नु भएको थियो । माघ १७ गते आयोजना गरिएको सो कार्यक्रमलाई ग्लोवल आइएमई बैंक, मुक्तिनाथ विकास बैंक, होटल बराही, त्रिशारा, बेक ल्याण्ड विस्कुट इण्डष्ट्रि र सम्राट मल्टिनेशनले सहयोग गरेका थिए । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by