Nov 21, 2019
महासंघका अध्यक्ष राणा र संयुक्त अरव इमिरेट्सका राजदूत बीच भेटवार्ता - आगामी वर्ष दुवईमा हुने वार्षिक लगानी सम्मेलनमा भागलिन महासंघलाई निम्तो (२०७६/०८/०५)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र नेपालका लागि संयुक्त अरव इमिरेट्सका राजदूत सइद हमदान अल नाकवी (H.E. Mr. Saeed Hamdan AL naqbi, Ambassador  of United Arab Emerates to Nepal) बीच आज महासंघ सचिवालयमा भेटवार्ता भएको छ । भेटवार्तामा महासंघका महानिर्देशक धरणीधर खतिवडाको पनि सहभागिता थियो ।

उक्त भेटवार्तामा नेपाल र संयुक्त अरव इमिरेट्स बीच सहयोग एवं सहकार्य, नेपालमा संयुक्त अरव इमिरेट्सको लगानी आकर्षण, निजी क्षेत्र–निजी क्षेत्र बीचको सहयोग, सहकार्य र सम्बन्ध विस्तारका विषयमा छलफल भयो । साथै सो अवसरमा आगामी सन् २०२० को मार्च २४ देखि २६ सम्म संयुक्त अरव इमिरेट्सको दुवईमा आयोजना हुने वार्षिक लगानी सम्मेलन (The Tenth Edition of the Annual Investment Meeting) को दशौ संकरणमा नेपालको निजी क्षेत्रको सहभागिताका विषयमा पनि वृहद छलफल भयो । 



सो अवसरमा महासंघका अध्यक्ष राणाले दुवै देशको निजी क्षेत्र बीचको सम्बन्ध विस्तार मार्फत नेपालमा कृषि, पर्यटन, नेपाली उद्योग व्यवसायको क्षमता अभिवृद्धि, उत्पादनमुलक क्षेक्रमा संयुत्त अरव इमिरेट्सको लगानी, प्रविधि तथा अनुभव आकर्षणका लागि कुटनीतिक माध्यमबाट सहयोग गर्न राजदुत समक्ष आग्रह गर्नुभयो । अध्यक्ष राणाले दुवईमा हुने लगानी सम्मेलनमा महासंघको नेतृत्वमा अर्थपूर्ण सहभागिता हुने र मेलालाई दुवै देशको आर्थिक व्यवसायिक सम्बन्ध विस्तारका लागि भरपुर उपयोग गर्ने विश्वास दिलाउनु भयो । 

सो अवसरमा राजदूत हमदान अल नाकवीले नेपाल र संयुक्त अरव इमिरेट्स बीचको आर्थिक सम्बन्ध विस्तारमा जोड दिंदै दुवई सम्मेलनमा नेपाली निजी क्षेत्रको सहभागिताका लागि महासंघका अध्यक्षलाई निम्तो दिनु भयो । नेपालको विकास प्रयासमा सहयोग गर्न आफ्नो देश सदैव तयार रहेको विश्वास दिलाउनु हुंदै राजदूतले खासगरी संयुक्त अरव इमिरेट्समा नेपाललाई एक प्रमुख लगानी गन्तव्यको रूपमा प्रवर्द्धन गर्न जोड दिनु भयो । साथै उहांले आपसी आर्थिक व्यवसायिक सम्बन्ध विस्तारमा महासंघले थाल्ने प्रयासमा राजदूतावासले सदैव सहयोग गर्ने विश्वास समेत दिलाउनु झयो ।  

कार्यक्रममा संयुक्त अरव इमिरेट्सको नेपालस्थित दूतावासका अधिकारी, महासंघका वरिष्ठ अधिकृतहरूको पनि उपस्थिति रहेको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by