Nov 12, 2019
महासंघ सचिवालयमा व्यवसायिक मेलमिलाप केन्द्रको स्थापना-मेलमिलाप पद्धतिलाई व्यवसायिक विवाद समाधानको उपयुक्त र प्रभावकारी माध्यम बनाउन जोड (२०७६/०७/२६)
 
नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा स्थापित व्यवसायिक मेलमिलाप केन्द्रको सर्वोच्च अदालतका माननीय न्यायधिश ईश्वरप्रसाद खतिवडा र महासंघका अध्यक्ष भवानी राणाले संयुक्त रुपमा आज उद्घाटन गर्नुभयो । 



केन्द्र उद्घाटन पश्चात व्यवसायिक मेलमिलाफ सम्बन्धी अन्तरक्रिया कार्यत्रमलाई संवोधन गर्नुहुंदै प्रमुख अतिथि माननीय न्यायधिश खतिवडाले मेलमिलाप केन्द्र व्यवसायिक विवादको समाधानमा प्रभावकारी माध्यम बन्न सकोस भनि शुभकामना दिनु भयो । व्यवसायिक मेलमिलापको बढ्दो आवश्यकता र यसले व्यवसाय क्षेत्रलाई पुग्ने सहयोगका विषयमा छलफल गर्ने ऊद्देश्यले अन्तरक्रिया कार्यत्रम आयोजना गरिएको हो । प्रमुख अतिथि माननीय न्यायधिश खतिवडाले मेलमिलाप पद्धतिलाई व्यवसायिक विवाद समाधानको उपयुक्त र प्रभावकारी माध्यम बनाउन निजी क्षेत्रलाई आग्रह समेत गर्नुभयो । व्यवसायिक विवादको छिटो, छरितो र मितव्ययी ढंगबाट समाधाननै व्यवसायिक मेलमिलाप भएकाले सर्वोच्च अदालतले समेत व्यवसायिक मेलमिलापलाई उच्च प्राथमिकतामा राखेर यस्ता केन्द्र स्थापना गरी सोही केन्द्रका माध्यममार्फत समस्या समाधानमा जोड दिएको उहांले स्पष्ट पार्नुभयो । 

महासंघका अध्यक्ष राणाले कार्यक्रमको प्रारम्भमा स्वागत मन्तव्य राख्नुहुंदै मेलमिलापलाई व्यवसायिक विवाद समाधानको उपयुक्त माध्यमका रूपमा आत्मसाथ गर्नुपर्नेमा जोड दिनुभयो । मेलमिलापबाट छिटो, छरितो र सजिलोसंग विवाद समाधान हुन सक्ने भएतापनि कतिपय व्यवसायिक विवादलाई अनावश्यक रूपमा अदालतसम्म पुरयाउने, विवादलाई इज्जत र प्रतिष्ठाको विषय बनाउने प्रवृत्तिले गर्दा विवादित पक्षले निकै ठुलो नोक्सानी व्यहोर्नु परेकाले व्यवसायिक मेलमिलापलाई विवाद समाधानको महत्वपूर्ण माध्यमको रूपमा निजी क्षेत्रले स्वीकार गर्नुपर्ने सुझाव दिनु भयो । साथै अध्यक्ष राणाले महासंघले संस्थागत व्यवस्था गरी मेलमिलापको सेवा उपलव्ध गराउने, मेलमिलाप पद्धतिलाई भरपर्दो र व्यवस्थित तरिकाले प्रवर्द्धन गर्ने उद्देश्यले केन्द्र स्थापना गरेको पनि स्पष्ट पार्नुभयो । 

कार्यक्रमको अन्त्यमा धन्यवाद मन्तव्य दिनुहुंदै महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले व्यवसायिक एवं आर्थिक कारोवार गर्ने पक्षहरू बीच उत्पन्न हुने विवाद समाधानमा महासंघमा स्थापित केन्द्रलाई प्रभावकारी ढंगमा अगाडी बढाउने प्रतिवद्धता जनाउनु भयो । व्यवसायिक मेलमिलाप निजी क्षेत्रको लागि महत्वपूर्ण सरोकारको विषय भएतापनि यो पद्धतिलाई व्यापक रूपमा प्रयोग गर्न नसकिएको सन्दर्भमा महासंघले यसको महत्वलाई बुझाउन आम रूपमा निजी क्षेत्र माझ लैजाने विश्वास समेत दिलाउनु भयो । 



कार्यक्रममा पूर्व न्यायधिश माननीय केशरीराज पण्डितले वाणिज्य क्षेत्रको विवाद समाधानमा मेलमिलाप फ्रक्रिया र वरिष्ठ अधिवत्ता एवं मेलमिलाप परिषदका सदस्य मात्रिका प्रसाद निरौलाले नेपालमा व्यवसायिक विवादमा मेलमिलापको सम्भाव्यता र कार्यदिशाका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

न्यायधिशहरू माननीय किरण पौडेल र श्रीकान्त पौडेल सहित पाटन उच्च अदालतका चारजना माननीय न्यायधिशहरूले समेत संवोधन गर्नुभएको सो कार्यक्रममा महासंघका उपाध्यक्ष किशोरकुमार प्रधान, महासंघका महानिर्देशक धरणीधर खतिवडा, वरिष्ठ कानून व्यवसायीहरू, उद्यमी व्यवसायीहरूको सहभागिता रहेको थियो । महासंघको मेलमिलाप फोरमका सभापति रामशरण थपलियाले पनि बोल्नु भएको  सो कार्यक्रममा सहभागी वरिष्ठ कानून व्यवसायीहरूले ऐन कानूनको निर्माणले पनि मेलमिलाप पद्धतिलाई प्रवर्द्धन गर्न वल पुग्न जानुको साथै मेलमिलाप पद्धतिको प्रवर्द्धनतर्फ भैरहेका प्रयासको सराहना गर्नुभयो । साथै उहांहरूले वाणिज्य जगतले मेलमिलाप पद्धतिलाई विवाद समाधानको उपयुक्त माध्यमको रूपमा स्वीकार गर्नुपर्नेमा जोड समेत दिनुभयो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by