Nov 11, 2019
कृषि तथा व्यापार क्षेत्रमा लगानीको सम्भाव्यता अध्ययन गर्न नेपाल आएको जापानी टोली महासंघ सचिवालयमा (२०७६/०७/२५)

नेपाल र जापान बीच कृषि तथा व्यापारका क्षेत्रमा हुन सक्ने सहयोग एवं सहकार्य र यी क्षेत्रमा जापानी लगानीको सम्भाव्यता अध्ययन गर्न नेपाल भ्रमणमा आएको जापानी अध्ययन टोली र कृषि क्षेत्रमा लगानी गरिरहेका नेपाली ऊद्यमी व्यवसायीहरू बीच आज महासंघ सचिवालयमा अन्तरक्रिया कार्यत्रम सम्पन्न भयो । कार्यक्रममा नेपाली उद्यमी व्यवसायीहरूको नेतृत्व नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधान र जापानी टोलीको नेतृत्व मिकियो टबाटा (Mikio Tabata, Senior Consultant, ICNet Co Ltd) ले गर्नुभएको थियो । 

कृषि तथा व्यापारका क्षेत्रमा नेपालमा लगानीका सम्भाव्यता अध्ययन गर्ने, कसरी जापानी लगानीकर्ताहरूलाई नेपालमा लगानीका लागि आकर्षित गर्न सकिन्छ र वाह्य लगानी आकर्षणमा देखापरेका व्यवहारिक कठिनाईहरूका विषयमा कृषि क्षेत्रमा काम गरीरहेका नेपाली उद्यमी व्यवसायीहरू बीच छलफल गर्न जापानी प्रतिनिधिमण्डल महासंघ सचिवालयमा आएको हो । जापानी टोलीमा लगानीकर्ता, सरकारका प्रतिनिधिहरू, विज्ञहरू समेतको सहभागिता रहेको छ । यसै विषयमा कृषि क्षेत्रका विज्ञहरूको सहभागितामा कार्तिक २७ गते काठमाडौंमा वृहद कार्यक्रम समेत आयोजना गरिएको छ ।  

नेपाल बसाईका क्रममा प्रतिनिधिमण्डलले सरकार, निजी क्षेत्र र कृषि क्षेत्रका सरोकारवाला निकायका प्रतिनिधिहरू तथा नेपालबाट जापानमा व्यापार व्यवसाय गरिरहेका उद्यमी व्यवसायीहरूसंग छलफल गरी आफ्ना सुझावहरू पेश गर्नेछ ।  

कार्यक्रममा जापानी टोलीको स्वागत गर्नुहुंदै महासंघका महानिर्देशक धरणीधर खतिवडाले नेपालको विकास प्रयासमा जापानी सरकारबाट भएको सहयोगको सराहना गर्नुहुंदै नेपालमा कृषि क्षेत्रको विकासमा जापानी प्रविधि तथा लगानी आकर्षण गर्न सकिएमा कृषि क्षेत्रले ठूलो फड्को मार्ने र यसबाट दुवै देश लाभान्वित हुन सक्ने बताउनु भयो । 

महासंघका उपाध्यक्ष प्रधानले कृषि क्षेत्रमा अपार सम्भाव्यता रहेकाले नेपालमा लगानीको राम्रो वातावरण रहेको संदेश जापानी लगानीकर्ताहरूसम्म पुरयाउन टोलीलाई आग्रह गर्नुभयो । पर्याप्त उर्वर भूमि, सस्तो श्रम शक्ति समेत रहेकाले कृषि क्षेत्रमा लगानीगर्दा छोटो समयमै निकै धेरै फाइदा उठाउन सकिने हुंदा निर्धक्क भएर लगानी गर्न सकिने अवस्था रहेको समेत उहांले जानकारी गराउनु भयो । कार्यक्रममा महासंघको प्रदेश नम्वर १ का अध्यक्ष नरेन्द्र कुमार खड्काको पनि उपस्थिति थियो । 



प्रतिनिधिमण्डलका टोली प्रमुख  मिकियो टबाटाले अध्ययन भ्रमणको उद्देश्य वारे जानकारी गराउंदै कृषि, वन तथा मत्स्यपालन क्षेत्रमा फिल्ड तहमानै सहयोग र सहकार्यका सम्भाव्यता खोजी गर्न आफूहरू नेपाल भ्रमणमा आएको स्पष्ट पार्नुभयो । कसरी नेपालमा जापानी लगानीकर्ताहरूलाई आकर्षित गर्न सकिन्छ र लगानी आकर्षणमा रहेका व्यवहारिक कठिनाईहरू पहिचान गरी त्यसलाई सहज बनाउन सकिन्छ त्यस सम्बन्धमा महत्वपूर्ण सुझाव नेपाली निजी क्षेत्रबाट आफूहरूले खोजेको पनि उहांले स्पष्ट पार्नुभयो । कार्यक्रममा महासंघको कृषि उद्यम केन्द्रका कार्यक्रम विकास विशेषज्ञ ज्ञानेश्वरसिंह महतोले नेपालमा कृषि क्षेत्रको सम्भाव्यता तथा चुनौतीका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by